+
+

कर्णालीमा चाडपर्व सुरक्षा योजना : ४३०० प्रहरी परिचालन, नाकामा कुकुरसहित चेकजाँच

यज्ञ खत्री यज्ञ खत्री
२०७८ असोज २० गते १२:५८

२० असोज, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ ल्याएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो ।

सुरक्षा योजनामा सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका छन् ।

चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक -एसपी) माधव श्रेष्ठले जानकारी दिए ।

‘अवैध चोरी निकासी रोक्ने, धार्मिक सद्भाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्यूनीकरण गर्ने र जुतावास खेल्न रोक्नेलगायत चाडबाडको समयमा हुन सक्ने कुनै पनि आपराधिक कि्रयाकलाप रोक्ने प्रहरीको योजना छ,’ एसपी श्रेष्ठले भने ।

उनका अनुसार प्रदेशका १० जिल्लामा चार हजार ३५१ जना सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’ एसपी श्रेष्ठले भने, ‘प्रदेशका १४४ स्थानमा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने छ ।’

चार्डपर्वको अवधिभर प्रदेशका ३८७ स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती र पैदल गस्ती गरिने छ । १२९ स्थानमा नियमित चेक प्वाइन्ट ड्युटी, ४६ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ, ७० स्थानमा झै-झगडा, चोरी लुटपाट, मापसे.नियन्त्रण टिम परिचालन र १८ स्थानमा विशेष चेकिङ (लामो दुरिको सवारी चेकिङ) गरिने प्रदेश प्रहरीलेे जनाएको छ ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गरिने बताइएको छ । त्यस्का लागि प्रदेशका ९७ स्थानमा बजार अनुगमन गरिने छ ।

क्वारेन्टाइन तथा आइसोलेसन र आकस्मिक सभा जुलुस, धर्नालगायतको कार्यक्रमको सुरक्षा १३/१३ स्थानमा गरिने छ । चाडपर्व अवधिभर अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित प्रत्येक जिल्लामा एक/एक वटा ‘कमाण्ड सेन्टर’को पनि स्थापना गरिने छ ।

प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष

राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि प्रदेशका ३८ स्थानमा सहायता कक्ष राखिएको छ । प्रदेश प्रहरीका अनुसार १० जिल्लाका जिल्ला सदरमुकाम र प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका क्षेत्रमा हेल्प डेस्क राखिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका मुख्य बजार क्षेत्रमा चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि भइरहेको प्रहरीले जनाएको छ ।

अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामराबाट निगरानी भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनलगायतमा प्रहरी खटिने छन् । ‘बढी भीड हुने ३८ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गछौं ।’

सडक सुशासन/सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्युनीकरण गर्न लाइडर स्पीड राडर गनलगायतका प्रविधिहरुको प्रयोग गर्ने प्रहरीले जनाएको छ ।

सीमा नाकामा कुकुर परिचालन

चाडपर्वका बेला सीमा नाकालाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ । सीमा नाका तथा अपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरुमा कुकुरसहितको चेकिङको व्यवस्था मिलाइएको छ ।

सीमा नाकामा यात्रु ठगिने तथा लागूऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर परिचालन गर्ने योजना बनाइएको एसपी श्रेष्ठले बताए । ‘यो बेला सीमा नाकामा लागूऔषध र विस्फोटक पदार्थ ओसारपसार गर्ने सम्भावना अन्य समयको भन्दा बढी हुन्छ, त्यसलाई मध्यनजर गरेर हामीले कुकुरसहितको चेकिङको व्यवस्था गरेका हौं,’ उनले भने ।

प्रदेशका तीन मुख्य नाका सल्यानको कपुरकोट, सुर्खेतको बबई र कुइनेको ९ वटा स्थानमा हेल्प डेस्क सहित चेकजाँच गरिने छ । ‘प्रतिबन्ध वस्तु आउनसक्ने भएकाले कुकुरसहितको टोली राखिएको हो’ उनले भने, ‘राजमार्गभित्र र बाहिर छुट्टाछुट्टै तरिकाले सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा टाइम कार्ड लागू गरिने प्रहरीले जनाएको छ । चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिडको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ ।

अपराध तथा सवारी दुर्घटना नियन्त्रणको लागि नियमित र आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल र मोटर साइकल गस्ति गरिने सुरक्षा योजनामा उल्लेख छ ।

यस्तो छ सुरक्षा जोखिम

प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।

चाडपर्वको समयमा सड्क दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, विष्फोटन, तस्करी, ठगी र ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेष प्रहरीले गरेको छ ।

‘बैंक वित्तिय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ पनि हामी सचेत छौं’ एसपी श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् । ‘त्यस्तै नाकादेखि लिएर होटल, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामीण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रलाई पनि हामीले विशेष प्रायोरिटी दिएर प्रहरी परिचालन गरेका छौं,’ उनले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?