Comments Add Comment
मन्थन :

किन कम्युनिष्टहरू कांग्रेस बन्छन् ?

भारतीय कांग्रेसमा प्रवेश गरेका कन्हैया कुमार राहुल गान्धीको साथमा

केही दिनअघि भारतका चर्चित कम्युनिष्ट युवा नेता कन्हैया कुमार, भारतीय कंग्रेसमा प्रवेश गर्ने हल्ला चल्यो । त्यो खबर केही दिनमै सत्य सावित भयो । उदीयमान कम्युनिष्ट नेता भनी चर्चा कमाएको व्यक्ति एकाएक कंग्रेस प्रवेश गर्दा मानिसहरूले आश्चर्य माने ।

केही वर्षअघि एमालेसँग माओवादीले पार्टी एकता गर्ने हल्ला आयो । त्यो हल्ला पनि केही समयपछि सत्य सावित भयो । ‘अर्को कांग्रेस’ भनी आफैंले उपमा दिएको एमालेसँग माओवादीको पार्टी एकता हुँदा मानिसहरूले उस्तै आश्चर्य माने ।

केही समयअघि अदालतको आदेशबाट एमाले-माओवादी एकता टुटाइयो । पार्टी विभाजन हुँदा बादल नामका ‘ब्राण्डेड’ माओवादी नेता आफ्नो ‘ब्राण्ड’ छोडेर एमाले प्रवेश गरे । आज उनी एमालेका नेता भएका छन् । यो परिघटनालाई पनि मानिसहरूले अनौठो मानेका छन् ।

*** ***

किन कम्युनिष्टहरू कांग्रेस बन्छन् ? यो प्रश्न त्यति महत्वको त होइन । किनकि कम्युनिष्ट र कांग्रेस बीचको भेद केवल उल्टो-सुल्टोको भेद हो । कुनै कांग्रेस (पूँजीवादी) जब टाउकाले टेकेर उभिन्छ, तब त्यही कम्युनिष्ट हो । कुनै कम्युनिष्ट जब खुट्टाको बलमा उभिन्छ, तब त्यही कांग्रेस हो । त्यसैले कम्युनिष्ट, कांग्रेसमा लागेको वा कांग्रेस, कम्युनिष्टमा लागेको विषय त्यति अनौठो र महत्वको विषय होइन ।

तर नेपालमा कम्युनिष्टहरूलाई ‘खास प्राणी’ मान्नेहरूको ठूलो जमात छ । धेरै नेपालीलाई कम्युनिष्ट भनेको गरीबको भलो गर्ने पार्टी हो भन्ने भ्रम छ । कम्युनिष्ट नेता भनेका अडान र आदर्शमा पक्का हुन्छन् भन्ने बुझाइ छ । त्यसैले कुनै कम्युनिष्ट नेता कांग्रेस प्रवेश गरेको विषय यहाँ सार्वजनिक सरोकारको विषय भइदिन्छ । यस्ता विषयमा गरिएको टीकाटिप्पणी पनि रुचि र चासोको विषय बन्दछ ।

अहंकारको खेल

काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता गुणहरूको कुल जोड नै मानिस हो । बुद्ध पुरुष -व्यक्ति) बाहेक यो जगतमा सबै मानिस स्वार्थी र अहंकारी हुन्छन् । यही कारण मानव समाजलाई नियम चाहिन्छ । हरेक मानिस साझा नियमको मातहत रहन जरूरी हुन्छ ।

तर त्यो नियमका सम्बन्धमा कम्युनिष्ट र कांग्रेसले जे भन्छन् त्यो मानव जाति तथा सिंगो प्रकृतिलाई हानि गर्ने खालको छ । त्यसैले कोही कांग्रेस वा कम्युनिष्ट भएर केही फरक पर्दैन । उदारवादी वा साम्यवादी दुवैको जमात उस्तै स्वार्थी र अहंकारी मानिसहरूको जमात हो । यी दुवै अहंकार प्रेरित विचारधारा हुन् । त्यसैले, कांग्रेस हुनु जति गलत हो, कम्युनिष्ट हुनु त्यति नै गलत ।

मानिसभित्रको अहंकारले नै उसलाई टाउकोले टेकेर उभिने बनाउँछ । अहंकार मध्यमार्गी हुनै सक्दैन । यसले जहिल्यै ‘वार कि पार’ को भाषामा सोच्दछ । दुई अतिमध्ये एक चुन्छ । जस्तो कि, भोग वा त्याग, निन्दा वा प्रशंसा, स्वपीडा वा परपीडा, संघर्ष वा सम्झौता, मोह वा घृणा, आत्मसंघर्ष वा आत्महत्या आदि ।

हिजो हजारौं युवालाई संघर्षका लागि उक्साउने प्रचण्ड, आज आत्महत्या गर्ने कुरा गर्दैछन् । हिजो सिद्धान्तनिष्ठ नेताको उपमा पाएका मोहन वैद्य आज राजासँग मिल्न सकिने कुरा गर्दैछन् । हिजो जनयुद्धका ‘शिल्पकार’ मानिएका बादल आज ‘जबज’ को प्रवक्ता भएका छन् । हिजो प्रचण्ड भन्दा गतिलो क्रान्तिकारी बन्छु भन्ने विप्लव आज ओलीसँग सम्झौता गर्दैछन् । यो सब अहंकारको खेल हो ।

जब कुनै व्यक्ति निजी धनको विरोध गर्छ, त्याग र बलिदानको कुरा गर्छ, संघर्ष र क्रान्तिको कुरा गर्छ, वर्ग दुश्मन र वर्ग मित्रको कुरा गर्छ, तब यो बुझ्नुपर्दछ कि ऊ टाउकोले टेकेर उभिने प्रयत्न गरिरहेको छ । अर्थात् व्यक्तिको कम्युनिष्टकरण भइरहेको छ ।

जब सोही व्यक्ति सम्झौता, सत्ता, पद र वैयक्तिक योगदानको कुरा गर्न थाल्छ, चुनावमुखी हुन्छ, निजी धनको जोहोमा लाग्छ, तब यो बुझ्नुपर्दछ कि त्यो व्यक्ति सुल्टो उभिने प्रयत्न गरिरहेको छ । अर्थात्, व्यक्तिको कांग्रेसीकरण भइरहेको छ ।

यो प्रचण्डभित्रको भोगवृत्तिले टाउकाको बलमा खडा हुने प्रयत्न गरेको हो । सारमा यो प्रचण्डभित्रको अहंकारले जसरी भए पनि आफूलाई केन्द्रमा राख्न प्रयत्न गरेको हो । भोलि तिनै प्रचण्डलाई अलिकति भोगको अवसर पैदा हुने बित्तिकै उनी आत्महत्या होइन, आत्मसंघर्ष भन्न थाल्ने छन्

यो प्रक्रिया दोहोरो नै हुन्छ । जब अमूक कम्युनिष्टको अहंकार पूरा हुँदैन, तब ऊ सुल्टो उभिन तयार हुन्छ, अर्थात् कांग्रेस बन्छ । जब अमूक कांग्रेसीको अहंकार पूरा हुँदैन, तब ऊ टाउकाले टेकेर उभिन तयार हुन्छ, अर्थात् कम्युनिष्ट पार्टीमा लाग्छ ।

कम्युनिष्ट हुनु भनेको अहंकारका दुई अतिमध्ये एउटा अतिमा जिउने प्रयत्न हो । कांग्रेस हुनु भनेको अर्को अतिमा जिउने प्रयत्न हो । जसरी भए पनि अहंकारले आफ्नो तुष्टीकरण खोज्छ । त्यो पूरा हुन्जेल एउटा अति चुन्छ । असफल बन्दै गएपछि त्यसको ठीक विपरीत अति चुन्दछ । हाम्रा नेताहरू प्रचण्ड, वैद्य, विप्लव, बादल, ओली, माधव लगायत सबैको नियति यही हो ।

अहंकारले परपीडा मात्र सोच्दैन । यो आत्मघातका लागि पनि राजी हुन्छ । त्यसैले प्रचण्ड जस्ता व्यक्तिले आत्महत्याको कुरा गर्नु अनौठो होइन । प्रचण्डको जीवन दृष्टिकोणका दुई वटै नियति हुन्छन्- आत्मसंघर्ष वा आत्महत्या । यो तथ्य अहिले उनकै मुखबाट सुन्न पाइएको छ ।

तर हामी त सोच्दछौं- अहंकार भनेको नकारात्मक मात्र हुन्छ । परपीडक मात्र हुन्छ । सकारात्मक अहंकार त राम्रो कुरा हो । कोही त्यागी बन्छ भने त राम्रो कुरा हो । तर यो सोच गलत हो । सकारको अहंकार पनि अति नै हो । त्यागको अहंकार पनि अति नै हो ।

भोग र त्याग परिपूरक छन् । एकआपसमा रूपान्तरण हुन्छन् । त्यागी अरू कतैबाट पैदा हुने होइन, त्यो भोगीकै उल्टो रूप हो । भोगवाला नकारको अहंकारबाटै त्यागवाला सकारको अहंकार पैदा हुने हो । भोग होस् कि त्याग, अहंकारको आधारभूत गुण नै यो हो कि, यसले जहिल्यै र जसरी भए पनि आफूलाई केन्द्रमा र अरूलाई परिधिमा राख्ने प्रयत्न गर्दछ । यो पूरा भएन भने भोगी त्यागीमा फेरिन्छ, त्यागी भोगीमा ।

प्रचण्ड, जसले पार्टीमा एकछत्र भोग गरेका थिए । विश्व क्रान्तिको नायक बन्छु भन्थे । तर आफैंले तथानाम गाली गरेका ओली जस्ता मामुली पात्रका वरिपरि नाँच्नुपर्ने अवस्था आयो । यस्ता पात्रको अपमान र तिरस्कार भोग्नुपर्ने अवस्था आयो । यो उनका लागि असहनीय भयो ।

अहंकारबाट प्राप्त हुने फल दुःख र तनाव मात्र हो । हाम्रा नेताहरू, जो आफैं दुःख र तनावको जीवन बाँचिरहेका छन्, त्यस्ताबाट समाजमा खुशी पैदा हुन्छ भन्नु केवल भ्रम हो

यही असहनीय अवस्थाले नै उनलाई आत्महत्यासम्मको सोचमा पुर्‍याएको हो । तर आत्महत्या गर्छु भन्ने उनको त्यागी अभिव्यक्ति निष्कण्टक भोग गर्न नपाउँदाको कुण्ठा र छट्पटी नै हो । यो प्रचण्डभित्रको भोगवृत्तिले टाउकाको बलमा खडा हुने प्रयत्न गरेको हो । सारमा यो प्रचण्डभित्रको अहंकारले जसरी भए पनि आफूलाई केन्द्रमा राख्न प्रयत्न गरेको हो । भोलि तिनै प्रचण्डलाई अलिकति भोगको अवसर पैदा हुने बित्तिकै उनी आत्महत्या होइन, आत्मसंघर्ष भन्न थाल्नेछन् ।

त्यसैले, अहंकार सकारात्मक होस् कि नकारात्मक, त्यो एउटै कुरा हो । जुन गलतै हुन्छ । तर सकारको अहंकारले हामीलाई झुक्याइदिन्छ । तब हामी त्यस्ता मान्छेलाई सिद्धान्तनिष्ठ, इमानदार आदि भनेर सम्मान गर्दछौं । वास्तविकतामा ती इमानदार हुँदैनन् । मात्र उनीहरूको भोगवृत्तिले शीर्षासन गरिरहेको हुन्छ । तब तिनीहरू त्यागी जस्ता देखिन्छन् । कुनै दिन यस्तो पनि आउँछ, त्याग वृत्ति सुल्टो खुट्टामा उभिन्छ, तब तिनीहरू भोगी भएर देखा पर्दछन् ।

प्रचण्ड मात्र होइन, कम्युनिष्ट/कांग्रेस सबैखाले नेताहरूको दैनिकी यसरी नै चलिरहेको छ । यिनीहरूको बोली र व्यवहारभित्र केही छ भने केवल पद (शक्ति) को लालसा छ । वास्तविकतामा यिनीहरू अहंकारका दास हुन् । अहंकारले नै यिनीहरूलाई घडीको पेण्डुलम जस्तै एउटा अतिबाट अर्को अतिमा हल्लाइरहेको छ । यिनीहरू जे-जे ‘लीला’ गर्छन्, त्यो केवल अहंकारको खेल हो ।

अहंकारबाट प्राप्त हुने फल दुःख र तनाव मात्र हो । हाम्रा नेताहरू, जो आफैं दुःख र तनावको जीवन बाँचिरहेका छन्, त्यस्ताबाट समाजमा खुशी पैदा हुन्छ भन्नु केवल भ्रम हो ।

भारतीय सन्दर्भ

माथिको नियम कन्हैया कुमारका सन्दर्भमा पनि लागू हुन्छ । यद्यपि माथि उल्लिखित नेपाली नेता र कन्हैया कुमारमा केही फरक छ । नेपाली नेताहरू वर्षौंदेखि आ-आफ्ना पार्टीमा सम्राट भई खाएका पात्र हुन् । तर कन्हैया कुमार उनको पार्टी भाकपामा त्यही हैसियतका नेता होइनन् ।

कन्हैया कुमार आफ्नो पार्टीका केन्द्रीय सदस्यसम्म थिएनन् । उनको पार्टी भारतका दर्जनौं कम्युनिष्ट घटकमध्येको एक हो । जो उदीयमान होइन, अस्ताउँदो अवस्थामा छ । जो खिइँदै अस्तित्व संकटको चरणमा पुगिसकेको छ । तर त्यहाँभित्र ‘संसार मेरै बुद्धिको वरिपरि घुम्छ’ भन्ने खालका वयोवृद्ध नेताहरूले वर्षौंदेखि राज गरिरहेका छन् । जसले उनलाई केन्द्रीय सदस्यसम्मको हैसियत दिन तयार थिएनन् ।

यो पनि पढ्नुहोस कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ? बिर्सन नसकिने ६ विषय 

संसारमा के कस्ता परिवर्तन आए ? विज्ञानमा कस्तो परिवर्तन आयो ? यो कुरासँग बेखबर ती वयोवृद्ध नेताहरू आफू बाहेक अरूका कुरा सुन्न पनि चाहँदैनन् । यस्तो जडवत् संगठनभित्र उनी जस्तो प्रतिभावान युवा टिक्न मुश्किलै थियो ।

तर यसको अर्थ यो होइन कि उनी विशिष्ट प्रतिभा थिए । भारतका सबै कम्युनिष्ट घटकभित्र उनी जस्तै तर्क र भाषण गर्न जान्ने पात्रहरू एक से एक छन् । यसका बाबजूद केही संयोगजन्य घटनाले उनको व्यक्तित्वलाई चर्चित बनाइदियो ।

उनी जेएनयू विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष भएकाले सत्ताविरोधी संघर्षमा उनको नाम र छवि चर्चित बन्यो । बीजेपीले उनीमाथि पटक-पटक गरेको दमनका कारण पनि बीजेपी विरोधीहरूले उनलाई चर्चित र लोकप्रिय बनाइदिए ।

जसले लोकप्रियता कमाउँछ, त्यसलाई जो-कोहीले उपयोग गर्ने प्रयत्न गर्दछ । भारतको राजनीतिमा ‘सेलिब्रेटी’ लाई प्रयोग गर्ने चलन पुरानै हो । कांग्रेसले उनमा केही ‘दम’ देख्यो, जसलाई प्रयोग गरेर आफ्नो गुमेको शक्ति फिर्ता लिन सकिन्छ कि भनेर प्रयत्न गर्‍यो ।

भन्न त कन्हैयाले मुलुकको लोकतन्त्र जोगाउन आफू कांग्रेस बनेको भनेका छन् । तर वास्तविकतामा उनी कांग्रेसी पद र शक्तिको लोभमा फसेकै हुन् । उनी जस्तो युवाका लागि यतिबेलाको अभिभारा अर्कै हुन्थ्यो । पहिलो, राजनीतिको शास्त्रीय तरिकासँग सम्बन्धविच्छेद गर्नुपर्थ्यो । दोस्रो, आजको युग सुहाउँदो र आधुनिक विज्ञानको मार्गदर्शन अनुरूपको राजनीतिको ढाँचा तयार गर्न अनुसन्धानको बाटोमा लाग्नुपर्थ्यो।

तर उनीभित्र त्यति फराकिलो चेत थिएन । उनी पनि जडवत् कम्युनिष्टहरूका शास्त्रीय स्कुलिङ्ग भित्रै सोच्दथे । त्यसैले उनको सक्रियता पनि अहंकार प्रेरित सक्रियता थियो । यसको परिणाम यही भयो कि उनी एउटा अतिबाट अर्को अतिमा फसे ।

विश्व सन्दर्भ

दलबदलु प्रवृत्ति राजनीतिक संकटकै अभिव्यक्ति हो । यस्तो संकट नेपाल र भारतमा मात्र सीमित छैन । पूरै विश्व अहिले वैचारिक/राजनीतिक संकट भोगिरहेको छ । शास्त्रीय विचारधाराहरूले जुन बाटोबाट मानव मुक्ति हुन्छ भनेका थिए, त्यो बाटोले उल्टो परिणाम दिएको छ ।

आज संकट राजनीतिक वृत्तमा मात्र सीमित छैन । आर्थिक, सामाजिक, पर्यावरणीय र प्राविधिक क्षेत्र पनि संकटग्रस्त छ । यसको जिम्मेवार यिनै कांग्रेस/कम्युनिष्ट जस्ता शास्त्रीय विचारधारा नै हुन् । तर आजका संकट समाधान गर्ने वैचारिक ल्याकत शास्त्रीय विचारधारासँग छैन । जसको परिणाम शास्त्रीय धाराका राजनीतिकर्मीहरू पेण्डुलम जस्तो दायाँ-बायाँ गरिरहेका छन् ।

आजको वैश्विक संकटको समाधान सम्भव छ । तर यो एउटै शर्तमा मात्र । यसका लागि ‘शास्त्रीय विज्ञान’ होइन, ‘आधुनिक विज्ञान’ पक्रिन जरूरी हुन्छ । विज्ञानको क्रान्ति बुझ्न जरूरी हुन्छ । ‘क्रान्तिकारी विज्ञान’ अनुसार राजनीतिको नयाँ ढाँचा कोर्न जरूरी हुन्छ ।

तर हाम्रा दल त सम्प्रदाय जस्ता भइसकेका छन् । कुनै नयाँ कुरा सुन्न चाहँदैनन् । पुरानै ढर्रामा रमाउन चाहन्छन् । आफूले जुन ‘शास्त्र’ मान्दै आएको हो, त्यसैको ‘पूजा’ गर्दछन् । जुन चिन्तकलाई मानी आएको हो, उसैलाई ‘देवता’ बनाएका छन् । त्यसमा यताउता गर्न तयार छैनन् ।
प्रायः सबै दलका प्रमुख नेता मठाधीश जस्ता भइसकेका छन् । तिनीहरूका दोस्रो र मध्यम दर्जाका नेता पण्डित जस्ता भएका छन् । स्थानीय नेता पुरोहित जस्ता भएका छन् । सदस्यहरू जजमान जस्ता भएका छन् । मठाधीशले जे भन्छ, त्यो पण्डित पुरोहित र जजमान, सबैलाई मान्य छ ।

यो बाहेक कहिलेकाहीं केही पण्डितहरू सम्प्रदाय परिवर्तन गर्दछन् । त्यो अरू कारणले होइन, ठूलो भाग खाने लोभले । तब केही पुरोहित र जजमानहरू यिनीहरूको पछि लाग्छन् ।

कम्युनिष्टहरूको टुटफुट वा कम्युनिष्ट पात्रहरू कांग्रेस प्रवेश गरेको घटनाको अर्थ योभन्दा गहिरो छैन । यिनीहरूको चरित्र अनुसार यो एकदमै स्वाभाविक पनि हो । किनकि चिन्तन नै अन्धविश्वासी भएपछि हुने नै यही हो ।

विश्व राजनीति यतिबेला पूरै अन्धविश्वासमा फसेको छ । यसलाई वैज्ञानिकीकरण गर्न धेरै ढिला भइसक्यो । यो काममा आजका सचेत युवाहरूको चासो जाग्नु जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment