+
+
कथा :

सपना हो कि विपना !

रिमा केसी रिमा केसी
२०७८ असोज २७ गते १७:१९

रात चुक पोखिएझैं कालो छ । त्यसैले ताराहरूको साम्राज्य स्पष्ट देखिरहेको छ । मन्दमन्द चिसो बतास चलिरहेको छ । आइरहेको छ एक तमासले कुकुर भुकेको आवाज पनि ।

बाल्कोनीमा छौं हामी । ठीक तिम्रो अगाडि टेबलमा बलिरहेको छ एक दुब्लो मैनबत्ति । फालिरहेछ मधुरो प्रकाश ।

सोफाको एकछेउमा तिमी बसेकी छौ, अर्को छेउमा म बसिरहेको छु । तिम्रो हातमा कवितासंग्रह छ । तिमी कविताका हरफमा निमग्न डुबेकी छौ । तिमीमा कुनै हलचल छैन । तिमी एक तस्वीरझैं लागेकी छौ यतिबेला । अर्को छेउमा म छु । तिमीलाई अपलक हेरिरहेको ।

कसैले खिचिदिएको भए फोटो आह !

तिमी पढिरहेकी छौ कविता । मानौं कि कविता तिम्रैबारे लेखिएको छ । तिम्रा खुल्ला केश हावासँग जिस्किरहेका हुन्छन् । मुस्कुराउँदै, लजाउँदै बताससँग लहसिँदै नाचिरहेका हुन्छ्न् । म भनें हेरिरहन्छु हावामा उडिरहेका तिम्रा केशराशिहरू । बतासले बोकिहिँडेको छ, मलाई मनपर्ने गन्ध । तिम्रो गन्ध । एक त्यही तिम्रै गन्ध त हो मेरो हृदयको भित्री कुनासम्म काउकुती जगाउने ।

तिमी भने आफ्नै धुनमा मस्तसँग मलाई कविता सुनाइरहेकी छेउ । मेरो ध्यान कविता फिटिक्कै छैन । तिमी अगाडि हुन्छौ भने को सुनिबस्ला र कविता ? बस म त तिम्रो आवाज र तिमीलाई सुनिरहेको छु ।

खै किन तिम्रा केशले हावासँग खेलिरहेको मन परेन मलाई । मिलाएर बाँधिदिऊँजस्तो लाग्छ । समेटेर बाँध्न खोज्छु । तर तिमीलाई छुन मन लाग्दैन । तिमी बसेको दृश्य पनि त कम छैन । लाग्छ नबिग्रियोस् प्रेमको मूर्ति । बस् सुनिबस्छु तिमीले एकोहोरो सुनाइरहेका प्रेमिल कविताका हरफहरू ।

किनकिन तिम्रो मौनतामात्र सुन्न मन लाग्छ । तिम्रा ओठमा मेरा औंला राखेर बन्द गर्न खोज्छु । तिमी हात हटाइदिन्छ्यौ । छुन पाउदिनँ तिम्रा गुलाबी ओठ ।
बारबाट रातो वाइन निकाल्छु । दुईवटा गिलासमा खन्याउँछु । चुरोट सल्काउँछु अनि ओठमा चेप्छु । धुवाँ तिमीतिरै फ्याँकिदिन्छु ।

अहँ डगमगाउँदिनौ तिमी । चुरोट अघि बढाउँछु । तिमी नकार्छौ मात्र, हातको इसाराले । वाइनको गिलास हातमा थमाउन खोज्छु, रोक्छ्यौ मात्र ! किताबसँग प्रेमको तिम्रो गहिरा देखेर मलाई तिम्रो हातको किताब बन्न मन लाग्छ । ता कि तिमी यसरी नै पढ मलाई, मभित्र डुब । अनायासै किताबमा हात राखिदिन्छु । तिमी झनक्क रिसाउँदै जुरूक्क उठेर बालकोनिको छेउमा उभिएर आकाश हेर्न थाल्छेउ ।

म भनें तान्छु, एक लामो सर्को चुरोटको । त्यही सर्कोले चुरोटको सकिन्छ आयु । तिमी कविताझैं डुबिसकेकी हुन्छेउ ताराहरूमाझ । मुस्कुराइरहेको हुन्छौ, मानौं कि तिमीले पढ्यौ कुनै सुन्दर हरफ ।

तिम्रो मुस्कानले म तानिन्छु तिमीतिर । म तिमीलाई नै नियालिरहेको हुन्छु । नजिकैको समुद्रमा ताराको टल्किरहेका हुन्छन् । तिमी बेपर्वाहसित दौडिन थाल्छौ समुन्द्रतिर ।

मतिर एकपल्ट पनि नहेरी दौडिन्छौ । मेरो कुनै वास्ता हुँदैन तिमीलाई ! मेरो कुनै अस्तित्व नै छैन तिम्रो लागि । तर म तिमीलाई पछ्याउँदै, तिम्रो छाया बनेर दौडिन थाल्छु तिम्रो पछिपछि । मलाई थाहा छ मेरो अस्तित्व तिमी नै हौ ।
०००
समुद्रका लहरहरको आवाजबाहेक अरू कुनै आवाज हुँदैन । चिसो बतासले मुटु छेड्छ । समुन्द्री किनारमा बेफिक्रीसँग हामी हिँडिरहन्छौं । पानीमा ताराहरू चम्किरहेका हुन्छ्न । खाली खुट्टामा चिसो बालुवाको छुवाइले तिमी आनन्द मानिरहेकी हुन्छेउ । हिँड्दाहिँड्दै टक्क रोकिन्छेउ । हावाले चिसो बनाएको हुन्छ हाम्रो शरीर । तिम्रा केशसँगै वस्त्रहरू पनि उडिरहेका हुन्छन् बतासमा । तिम्रो मुखबाट एकाएक कविताका अंशहरू निस्किन थाल्छन् :

समुद्रको गहिराइमा डुबेका
ए ताराहरू हो !
के देख्छौ तिमी पनि
मेरा आँखाको गहिराई ?
के महसुस गर्न सक्छौ
मेरो मनको आत्मिक प्रेम ?
अनि के आकाशको कालोपाटीमा
लेख्न सक्छौ मेरो नाम
सुनौला अक्षरमा ।

म नजिक जान्छु । तिमी समुद्रतिर हेर्दै गहिराइमा डुबिरहेकी हुन्छेउ । तिम्रो हातमा स्पर्श गर्न मन लाग्छ । बिस्तारै छुन्छु, यतिखेर मलाई कुनै कविताको मनपर्ने शब्द छोएजस्तो लाग्छ । तिमी भने झस्किन्छौ सायद मैले छोएर भङ्ग भएको हुनुपर्छ तिम्रो एकाग्रता ।

र हत्या गरिएको हुन सक्छ एक हरफ कविताको !
तिमी पानीका छालसँग खेल्न थाल्छेउ । चलाउन थाल्छ्यौ खुट्टाले अनि पानीका बुँदबुँदको स्पर्श गर्दै रूमि, गुलजार, पाब्लो नेरूदा अनि तिमीलाई मनपर्ने थुप्रै कविका कविताका हरफहरू गुनगुनाइरहन्छौ । मलाई लाग्छ, मलाई कसैले लेखिदिएको भए कवितामा । आज म पनि निस्किन्थेँ तिम्रा ओठबाट ।
यी ताराहरू र समुद्रले पनि सुन्ने थिए मेरो कविता !

यिनै जुन, तारा, हावा अनि समुद्री छालहरूसँग तिमी रमाएको मात्र हेर्न मन लाग्छ । नसमाऊँ नसमाऊँ भन्दाभन्दै तिम्रो हातमा च्याप्प समाउन पुग्छु । अलिकति झड्का दिएझैं गरी नजिक तान्छु । तिमी हावाको झोंका जस्तै हुत्तिएर मेरो अँगालोमा आइपुग्छौ । हाम्रा मुटुहरू एक आपसमा ठोक्किन पुग्छन् ।

तातो सासले मलाई न्यानो दिन्छ । चिसिएका शरीरभित्र तातो बिजुली पैदा गर्छ । मुटुमा चट्याङ परेको जो हुन्छ । मेरा ओठ जब तिम्रा ओठ नजिक पुगिसकेका हुन्छ्न् तिमी घबराउँछौ । तर आवाज अस्पष्ट हुन्छ । मलाई जोरसँग धकेल्छेउ । म बालुवा पल्टिन्छु ।

तिमी उडेझैं गरी पुग्छौ अघिकै कोठामा । म पच्छ्याउँछु । म कोठाभित्र पस्नै लाग्दा, तिमी बाथरूमभित्र पस्छेउ ।
यता अधीर भई म सुन्न थाल्छु जगजित सिंहको पुरानो गजल : अपनी हाथ कि लकिरोंमे बसाले मुझक ।

०००

अघिकै पातलो मैनबत्तीले जसोतसो उज्यालो दिइरहेको थियो । अर्को मैनबत्ति सल्काउँछु । अघि मैले छोडिहिँडेको वाइनको गिलासले मलाई टुलुटुलु हेरेर मुस्कुराइरहेको हुन्छ । मुस्कानकै प्रतिउत्तर दिन्छु । अनि समाउँछु रातो वाइनको गिलास र लगाउँछु ओठमा । चुसेझैं गरी तिम्रा ओठ रित्ताइदिन्छु सिङ्गो गिलास रातो वाइन ।

बेहोशीमा त छैन तैपनि नजानेर किन हो बाथरूमभित्रै पस्छु म पनि । कपडाहरू यत्रतत्र छरिएका हुन्छ्न् । क्यान्डिलको मधुरो प्रकाश, मधुरो गजल धुन अनि पग्लिँदै गरेको बरफको मूर्तिजस्तो तिम्रो श्वेत शरीर बाथटबको पानीमा ।

बाथटबमा भएका गुलाफका पत्रहरू जिस्किरहेका थिए तिम्रा अङ्गअङ्गसँग । स्याम्पुको फिँजले कुहिरोमा हराएजस्तो देखिन्थ्यो तिम्रो घना कालो कपाल । आँखाभरि लत्पतिएको गाजल अनि लिपिस्टिकविहीन गुलाफी ओठ । जस्लाई सम्झेर म बाथरूमभित्र छिरेको थिएँ ।

 बाथटबमा भएका गुलाफका पत्रहरू जिस्किरहेका थिए तिम्रा अङ्गअङ्गसँग । स्याम्पुको फिँजले कुहिरोमा हराएजस्तो देखिन्थ्यो घना कालो कपाल ।

तिनै गुलाबी पत्रमा पानीका थोपाहरूले स्पर्श गरिरहेका हुन्छ्न् । मलाई रूमाल बनेर पुछिदिन मन लाग्छ । तर तिम्रा हात बाथटब बाहिर लत्रिरहेका थिए । तिमी आँखा चिम्लिरहेकी थियौ ।

त्यसरी लत्रिएका हातहरू मलाई मन पर्दैन । मैले तिम्रो हातमात्र छुँदा अनौठो अनुभव हुन्छ । मेरा दुई औलाहरू तिम्रा हात भएर बिस्तारै तिम्रा घाँटीतिर जान थाल्छन् । घाँटीमा टाँसिबसेको गुलाफको पत्रलाई खै किन किन औंलाले टिप्न मन लाग्दैन । नजिकबाट तिमीलाई भरपुर चिहाउन मात्र मन लाग्छ ।

मन भरिने गरी हेरिरहन्छु ! यतिबेला तिमी फक्रिएको गुलाफ जस्तै रातो देखिन्छेउ, यो मधुरो प्रकाशमा । आँखा चिम्लेर मन्द मुस्कानमा हुन्छन् तिम्रा ओठहरू । रहस्यमयी तरिकाले हाँसिरहेका । मलाई तिम्रो मदहोसिताले तानिदिन्छ । सासको गतिसँगै पानीभित्र बाहिर गरिरहेका हुन्छन् तिम्रा छातिका दुई टाकुरा । ती दुई टाकुराले कताकता काउकुती लगाइदिन्छन मभित्र । म तातिन थाल्छु ।

टिसर्ट खोलेर भुइँको ब्रामाथि फाल्छु । हाफपाइन्ट अन्तरवस्त्रमाथि फालिदिन्छु । अनि बिस्तारै बाथटबभित्र प्रवेश गर्छु । टाउकोबाहेक सबै डुबाउँछु । बाथटबको पानी बिस्तारै तात्न थाल्छ । तिमीलाई स्पर्श गर्न मन लाग्छ । बिस्तारै तिम्रो केशको फिँज पुछिदिन्छु । तिम्रा ओठमा टल्किरहेका पानीका बुँदहरू पुछिदिन्छु र तिम्रो घाँटीमा भएको गुलाफको पत्रलाई आफ्ना ओठले उठाउने मनसायले तिमीमाथि के झुकेको मात्र थिएँ…

तिमी मेरो कपाल समाउन पुग्छेउ । तिम्रो अनुहारको सिधा मेरो अनुहार बनाउछेउ । यस्तो लाग्छ तिमीले हातमा कुनै नयाँ पुस्तक समातेकी छौं जसलाई अब तिमी पढ्न सुरु गर्नेछौ । म भनें त्यही पुस्तकका एकएक पाना पल्टाइरहेको हुन्छु । एकएक शब्द पढ्छु । एकएक हरफ छुन्छु । शब्द र भावको प्रेममा कविता कति सुन्दर हुँदा रहेछन् । तिमी कविताको आनन्द लिइरहेकी हुन्छेउ । मलाई पढ्न दिएकी हुन्छेउ । मौन, शान्त अनि स्थिर देखिन्छेउ ।

बिस्तारै पानी चिसिन थाल्छ । तिमी जुरूक्क उठ्छेउ । अनि सर्वाङ्ग भिजेको शरीरमा टाँसिएका पानीका बुँद अनि गुलाफका पत्रहरू बोकेर । तप्पतप्प पानी चुहाउँदै, झरीले रूझेको गुलाफजस्तै भएर अघिकै सोफामा गएर बस्छेउ । चुरोट सल्काउछेउ अनि बेतमाससँग उडाउन थाल्छेउ । म अपलक हेरिरहन्छु ।

तिमी टोलाउन थाल्छेउ । मलाई तिमी टोलाएको मनपर्दैन उठेर आउँछु नजिकै । वाइन गिलासमै बसेर टुलुटुलु हेरिरहेको हुन्छ । तिमी सिधै बोतल उठाउछेउ अनि पिउन थाल्छौ घटघट । अलिकति रातो वाइन तिम्रो ओठबाट फुत्केर दौडिरहेको हुन्छ तिम्रो घाँटीतिर । बिस्तारै बग्छ त्यो वाइन दुई टाकुराबीच नदी बनेर ।

म हेरिरहन्छु । त्यस तस्वीरले म रन्थनिन्छु । स्वाँट्ट पार्छु गिलासको वाइन । तिमीले त्यही बेलाधुवाँको मुस्लो तानेर मेरो मुखमा फाल्दिन्छेउ । म प्रेमले ग्रहण गर्छु । तिम्रो सर्वाङ्ग अस्तिस्व देखेर एकछिन हेरिरहन मन लाग्छ । बगेको वाइनले तिम्रो नाभी काटिसकेको हुन्छ । चुहिन्छ वाइन तप्पतप्प जमिनतिर दुई खुट्टाको भेदबाट ।

रगत कि वाइन । म रनभुल्लमा पर्छु। तिमीलाई कुनै लाज संकोच लाग्दैन । तिमी त्यही स्वरूपमा किताब उठाएर पढ्न थाल्छेउ । तिम्रो हातबाट चुरोट तान्छु अनि लामो सर्को लिन्छु । अहँ वास्तै गर्दिनौं । वाइनको बोतल रित्तिन लागेको हुन्छ ।

मलाई झन् अपमानबोध हुन्छ । म तिम्रो नजिक जान्छु, किताब र बोतल खोसेर भुइँमा फाल्दिन्छु । तिमी एकतमासले हेरिरहन्छेउ । वाइनका थोपाहरूले किताबका पाना भिजाउँछन् । अनि कविताका शब्दहरूमा दाग बनेर बसिदिन्छन् ।

मेरा अधरले तिम्रा अधरमा निसाना लगाइसकेका हुन्छन् । तिमी मलाई धकेलिदिन्छौ । ऐनाअगाडि जान्छेउ अनि हेरिरहन्छौ आफैँलाई ।एक्कासी अट्टाहास निस्कन्छ । आफैंलाई ऐनाअगाडि हेर्छु म पनि । तर अहँ मलाई भने पटक्कै हाँसो लाग्दैन ।

मलाई हेरिरहन्छौ तिमी । मानौं कि पहिलोचोटि देख्दैछौ । मुसुक्क मुस्कुराउँछेउ । मलाई आफैँ अँगाल्न आउँछेउ । चलाउन थाल्छेउ मेरा गोप्यअंग र भन्छेउ- प्रेमको नाममा मलाई बन्धन स्वीकार्य छैन ।

म धकेलिन्छु ।

म आफूलाई मरूभूमिको उष्ण गर्मीमा छट्पटिरहेको पाउँछु । मध्यदिनको प्रचण्ड गर्मीमा । घाँटी सुकेर प्याकप्याक परेको हुन्छ । प्यासले छटपटाउँछु । वरिपरि नजर डुलाउँछु, मरूभूमिबाहेक केही देख्दिनँ कतै । तिमीलाई खोज्छन मेरा आँखाहरू । यताउता दौडिन्छु । सारा मरूभूमि चहार्छु ।

दूरदूरसम्म कोही देखिँदैन । थाकिसकेको हुन्छु । देख्छु टाढाबाट क्षितिजमा एक समुद्र देखिन्छ । समुद्र मतिरै बढिरहेको हुन्छ । मेरा आँखामा एक आशा दौडिन्छ । यतिकैमा खस्य्राङखुस्रुङ आवाज मेरा कानमा पर्छ । आवाज मेरो पछाडिबाट आइरहेको थियो ।

फेर्केर हेर्छु एक क्याक्टसको सिङ्गो जङ्गल मतिर आइरहेको देख्छु । प्यास बढेर आउँछ । खाली पैताला दौडिन्छु समुन्द्रतिर । तातो बालुवाले पैताला भतभत पोल्छन्‍ । खुट्टा गल्छन् । थाकेर घोप्टो पर्छु । एकछिनपछि आवाज बन्द हुन्छ । बिस्तारै टाउको उठाउँछु । अनि बिस्तारै आँखा खोल्छु । मेरा आँखा क्याक्टसका काँडाबीच मुस्कुराइरहेका फुलहरूमा पर्छन् । एउटा क्याक्टसले भन्छ, ‘तिमी मदेखि डराएको हो ? म त मेरो प्रेमी समुन्द्रलाई भेट्न दौडिरहेको छु । कस्तो तिमीलाई अप्ठ्यारो परेछ । सरी ।’

उसले कुरा सुनेर मलाई तिम्रो याद आउँछ । म उसको नजिक जान्छु । उसलाई सुम्सुमाउन हात अगाडि बढाउन खोजेको मात्र के हुन्छु । उसले भन्छ, ‘मलाई नसुम्सुमाउ म काँडा हुँ । मलाई सुम्सुमायौ भने पाप लाग्छ । एक त मेरा जिउभरि फूल छन् । मान्छे यिनैलाई काँडा भन्छन् ।’

म उसका कुरामा ध्यान नै दिन्न । बस उसलाई बिस्तारै सुम्सुम्याउँछु । घोंच्छ्न, चिथोरिन्छ । चिरचिर रगत निस्किन्छ पाखुरा भरि, दाग बस्छ !
यसो हेर्छु । शरीरभरि तिम्रा चुम्बन र नङ्गका निशानहरू हुन्छन् । अनौंठो लाग्छ । गर्मीले प्याकप्याक पर्छु । घाँटी सुक्छ, खोकी लाग्छ ।

जसोतसो प्राण धानी रहेको हुन्छु । समुद्र म नजिक आइपुग्छु । सङ्लो अनि निलो पानी देख्छु म । पिउनभन्दा पनि नियाल्दैमा आनन्द आउँछ । त्यसैत्यसै तृप्त हुन्छु । सिधै हाम फाल्न मन लाग्छ । एकचोटि झ्याम्म हाम फाल्छु । शीतल महसुस गर्छु । तिमीले छोडेका दागहरूमा क्याकटसका फूलहरू आएर बसिदिन्छन् । पूरै शरीरभरि क्याकटसका फूलले ढाक्दिन्छन् । डराउँछु, आत्तिन्छु अनि फेरि पूरै डुबुल्की मार्छु । बाहिर निस्किन्छु ।

यति बेला बाथटबमा पाउँछु आफूलाई । यसो हेर्छु यताउता । तिमी भने सोफामा बसेर किताब पढिरहेकी हुन्छेउ । गुलाफी लिपिस्टिक, आँखामा गाजल । सेतो टिसर्ट, छोटो स्कर्ट, स्टर्किङ अनि अग्ला राता हिलहरू । चुरोट पिउँदै किताबमा डुबिरहेकी हुन्छेउ ।

म नजिक जान्छु । तिमीलाई छुन मन लाग्छ । साँच्चिकै तिमी नै हो कि ? मेरो भ्रम मात्र हो ? छुन खोज्छु आँट आउँदैन । डर लाग्छ त्यसैत्यसै । नेपथ्यमा नारायणगोपालको गीत गुन्जिरहेको हुन्छ ।

चुमेर पानाभरि यति म लेखिदिन्छु ।

मन थाम्न सक्दिनँ अङ्गालो हाल्नमात्र के खोजेको हुन्छु ढोका बेस्सरी ढक्ढकाएको आवाज आउँछ । बिउझिन्छु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?