+
+

सामुदायिक वन एक, हैसियत अनेक

रासस रासस
२०७८ असोज ३० गते १८:४९
फाइल तस्वीर

३० असोज, कास्की। नेपाललाई विश्वसामु परिचित गराउन सामूदायिक वनको अवधारणा महत्वपूर्ण भएपनि देशका सामूदायिक वनको हैसियत फरकफरक छन् ।

सरकारले वनको संरक्षण, प्रवर्द्धन र उपयोग गर्ने गरी आसपासका उपभोक्तालाई वन हस्तान्तरण गर्दै आएको भएपनि सामूदायिक वनबाट प्राप्त हुने आर्थिक हैसियतमा एकरुपता देखिएको छैन ।

सँगै जोडिएको एउटा सामूदायिक वनले मनग्य आम्दानी गर्ने हैसियत राख्छन् भने अर्को सामूदायिक वनका उपभोक्ताले संरक्षण गरेको वनबाट फाइदा लिने भन्दा निरन्तर योगदान दिने गरेका छन् ।

वनलाई प्रक्रिया पुरा गरेर सरकारले हस्तान्तरण गरेका समूहका उपभोक्ताले आवश्यकता अनुसारको वन पैदावारको उपयोग गर्दै आएको पाइन्छ । तर नाङ्गा पाखा वृक्षरोपण गरेर हराभरा बनाउने उपभोक्ताले खासै सुविधा लिन सकेका छैनन् ।

सामुदायिक वनको अधिकार एउटै हो । कुनैमा प्रशस्त जडिवुटी, काठ, दाउरा, घाँस, सोत्तर लगायत प्राकृतिक स्रोतकोे भरपुर उपयोग गर्दै काठ बिक्रीबाट राम्रो आम्दानी गर्ने सामूदायिक वन छन् । कतिपयको बैठक बस्दा चिया खाने हैसियत छैन ।

सामूदायिक वन उपभोक्ता महासंघले प्रत्येक वन समूह भित्र् उपभोक्ता बीच सम्पन्नता स्तरीकरण गरिने व्यवस्थाले समाजका सिमान्तकृत एवम् विपन्न वर्गको जिविकोपार्जनमा सहयोग पुग्दै आएको छ ।

आर्थिक रुपमा सम्पन्न सामुदायिक वन समूहले आम्दानी नभएका समूहको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने आवश्यकता छ । आवश्यकता भन्दा बढी उत्पादित वनपैदावार बिक्री वितरण गरी आर्थिक उपार्जन गरेका छन् । त्यस्ता समूहले आम्दानीको केही प्रतिशत रकम समूदायको शिक्षा, सडक, खानेपानी लगायतका सामाजिक विकासमा खर्चेको पाइन्छ ।

कोरोना महामारी न्यूनिकरणमा सामुदायिक वन समूहको महत्वपूर्ण भूमिका रहेको छ । वन समूहले क्वारेन्टिनका लागि भवन उपलव्ध गराउनुका साथै सक्दो राहत सहयोग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीका अनुसार प्राकृतिक रुपमा सम्पन्न र विपन्न सामुदायिक वन समूह बीच न्यायोचित वितरण प्रणाली अपनाउनु आवश्यक छ ।

‘सम्पन्न समूहले गरेको प्रगतिका आधारमा सरकार, वन महासंघ र सरोकारवाला निकायले गरिने मूल्याङ्कनमा कहिल्यै नर्सरी वन परेका छैनन्’, उनले भने, ‘आगामी दिनमा सम्पन्नता स्तरीकरण गरी उजाड भिर पाँखा तथा खाली ठाउँमा वृक्षरोपण गरी जग्गाको अतिक्रमण रोक्दै हराभरा बनाउने समूहको उचित मूल्याङ्कन गर्नुपर्छ।’

सामूदायिक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले तीनै तहका सरकार तथा वन पैदावार बिक्री गरेर मनग्य आय आर्जन गर्ने समूहले नर्सरी वनको प्रवद्र्धनमा सहयोग पुर्‍याउने समूहलाई अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विगत २०५१ सालदेखि शुरु भएको सामूदायिक वनको अवधारणा अनुरुप हालसम्म सरकारले सातवटै प्रदेशमा २२ हजार २२२ वन समूहलाई हस्तान्तरण गरिसकेको छ । कास्कीमा पाँच सय बढी वन समूहलाई संरक्षण, सम्बद्र्धन सहित उपयोगको जिम्मा दिइएको छ । मुलुकका कूल सामुदायिक वन समूह मध्ये लगभग ३० प्रतिशत आर्थिक रुपमा कमजोर छन् ।

कूल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तराष्ट्रिय अभ्यास रहे पनि नेपालमा करीव ४० प्रतिशत वन संरक्षण क्षेत्रको रुपमा छ । त्यसले वनमा आधारित गरिब, आदिवासी, सिमान्तकृत समुदायलाई जीविकोपार्जनमा असहज भएको महासंघ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिए।

महासंघ बारम्बार अधिकारको लडाई लाग्नु पर्ने बाध्यताले गर्दा कतिपय समुह भित्रका असमानतातर्फ ध्यान पुग्न नसकेको उहाँको भनाइ छ । नर्सरी वन मध्येको पोखरा महानगरपालिका वडा नं. १७ मा अवस्थित रातोपैह्रो सामुदायिक वन समूह पनि एक हो ।

सेतीनदीको किनारास्थित भिरालो पाखोमा तत्कालिन जिल्ला वन कार्यालयद्वारा २०४२ सालमा वृक्षरोपण गरी २०५१ सालमा हस्तान्तरण गरिएको सो सामूदायिक वनका उपभोक्ताले करिब तीन दशकको अवधिमा वनको संरक्षण र विकासमा योगदान गरेका छन् ।

सो अवधिमा रोपिएका सिसौका हुर्केका रुख काठको रुपमा उपयोग गर्ने अवस्थामा आइपुग्दा क्रमिकरुपमा सुक्न थालेपछि उपभोक्ता चिन्तित छन् । नदीको कटान र पहिरोको उच्च जोखिममा रहेको १२.३५ हेक्टर क्षेत्रफलको एक सय १३ घर उपभोक्ता रहेको सो समूह र डिभिजन वन कार्यालय कास्कीको सामूहिक पहलमा प्रत्येक वर्ष गरिदै आएको वृक्षरोपणले यतिखेर हराभरा बनेको समूहका उपाध्यक्ष टिकाबहादुर द्वारेले जानकारी दिए ।

‘गाईवस्तु समेत चरणका लागि कठिनाई हुने भिरोलो पाखोमा रोपिएका विभिन्न प्रजातिका विरुवा हुर्केका छन्’, उनले भने, ‘वनमा चाँप, लप्सी, उत्तिस, रुद्राक्ष, बाँस, अम्रिसो लगायत उपभोक्ताले वृक्षरोपण गरेका बिरुवा हुर्केर उपयोग गर्ने अवस्थामा आएका छन्।’ परीक्षणका लागि लगाइएका मेकाडिमिया नट, टिमुर, एभोकाडो जस्ता फलफुलका विरुवाले फल दिन थालेका छन् भने पाउलोनिया हुर्केका छन् ।

जोखिममा उपभोक्ताले घाँस, दाउरा गर्दै आएका छन्। कतिपय उपभोक्ताले घाँस काट्दा ज्यान गुमाउन पुगेको समूहका सचिव विष्णुमाया थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment