+
+

कस्तो शिक्षा ? कस्तो विद्यार्थी संगठन ?

डा. प्रशान्त ध्वज अधिकारी डा. प्रशान्त ध्वज अधिकारी
२०७८ कात्तिक २ गते १३:५९
फाइल तस्वीर

हामीले अवलम्बन गरेको शिक्षाले हाम्रो देशको प्रतिबिम्ब झल्काउँछ । त्यसैले शिक्षालाई परिवार, समाज हुँदै देशको नै ऐना भन्ने गरिन्छ । उच्च शिक्षालाई पिरामिडसँग पनि दाँज्ने गरिन्छ । घर बनाउँदा पिरामिड शैलीमा बनाएजस्तै गरी शिक्षा नीति बनाउने देशको शिक्षा मजबुत हुने मानिन्छ । पिरामिड पनि वास्तविक रूपमा त्यो बेलामा बलियो हुन्छ, जहाँ नियमअनुसार मजबुत सामग्रीहरू प्रयोग गरिएको हुन्छ ।

हुन पनि हो, जति धेरै जगको स्थान ओगटेर घर बनायो, त्यत्ति नै घरको भार थाम्न सहज हुन्छ । तर हाम्रोमा पिरामिड शैलीमा योजना निर्माण हुन सकेन वा यही शैलीमा निर्माण भए पनि सही आकार पो दिन सकेनौं कि ? किनकि हाम्रो शिक्षा नीतिमा कहीँ न कहीँ खोट अवश्य नै छ । होइन भने समाज यतिधेरै पछाडि वा नकारात्मक किन छ ?

चिया पसलदेखि जहाँ गएपनि अन्यौलता-नकारात्मक टिप्पणी सुन्ने बानी हामीलाई लगभग परिसकेको छ । जुन हामीलाई अहिले हाललाई सहज भए पनि अब आउने नयाँ पिँढीका निम्ति यो गतिलो सन्देश होइन । १२ पास गर्ने बित्तिकै धेरैजसो अभिभावकले आफ्नो सन्तानलाई विदेश पठाउनबाट रोक्न नसक्ने स्थिति छ ।
शिक्षाको सही नीति (गुणस्तर) वा भविष्यको सुनिश्चता यहीँ भएको भए निश्चय नै यो अवस्था आउने थिएन । उच्च शिक्षा पढ्न वा सिप सिक्न विदेश जानु राम्रो हुँदाहुँदै पनि विदेशमै भविष्य देख्नु देशको निम्ति चिन्ताको बिषय हो ।

देश विकासमा सकारात्मक सोच भएका युवा पिँढीहरूको नै मुख्य भूमिका हुने भएकोले, यी पुस्ताहरू विकसित देशको ग्रीनकार्ड लिन उत्प्रेरित हुनु वा देशमा यो किसिमको माहोल बन्नु हाम्रो देशको आगामी दिनको लागी शुभ संकेत हैन । हामीले जस्तो शिक्षा लियौं, समाजमा त्यसरी नै प्रतिफल पाउन थालिन्छ । अथवा, हाम्रो शिक्षा प्रणालीको प्रतिबिम्ब हाम्रै समाजमा भेटिन्छ ।

शिक्षाअनुसार नै समाजले नागरिक अगुवा वा नेता पाउने हो । वा, जस्तो समाज त्यस्तै नेता । तर हामी नेताहरूलाई मात्र औंलो देखाउँछौं । नेता राम्रो लाग्दैन भने चुनावमा हराउन सक्ने लोकतन्त्र हाम्रो छ । तर हामी यो गर्न सक्दैनौं । किनकी हाम्रो शिक्षा कहिले पनि आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने हुनै सकेन । हुन नै पाएन ।

इतिहास हेर्ने हो भने शक्तिकेन्द्र दाहिना भए जे पनि गर्न, पाउन सकिन्छ भन्ने धारणा आम रूपमा विकसित बनिसकेको छ । यसले सीमित मानिसका लागि यो जस्तो फल्ने फुल्ने मौका अरु नहुन सक्छ । तर बहुसंख्यकको जीवन पीडादायी छ । त्यसैले जुन सुकै व्यवस्था आए पनि हाम्रो यात्रा अझै उल्टो दिशातिर नै छ वा प्रवृत्ति उही नै छ ।

शिक्षा क्षेत्रमा प्रशस्तै चुनौती छन् । स्वयम् यो पङ्क्तिकार पनि केही वर्ष स्कूलको शिक्षक हुँदै त्रिभुवन विश्वविद्यालयमा एक दशक अध्यापन गराउँदै आइरहेको छ । साथै, लामो समयदेखि विदेशका विभिन्न विश्वविद्यालयहरूमा अटुट रूपमा अध्ययन, अनुसन्धानमा काम गर्दै आएको छ । मैले लामो समयदेखि हाम्रो शिक्षा क्षेत्रलाई नजिकबाट बुझ्ने, नियाल्ने र दाँज्ने मौका पाइरहेको छु ।

हुन त हाम्रो र बाहिरकोबाट नियाल्दा शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई हेर्ने नजर धेरै नै फरक छ । पहिला त आम मानिसले महसुस गर्न सक्नेगरी हाम्रो शिक्षा क्षेत्रलाई यति नराम्रोसँग राजनीतिले गिजोलेको छ । जगबाट नै राजनीतिले जरा गाडिसकेको हुनाले पिरामिड शैलीबाट शिक्षाको विकास गर्न मुस्किल छ । किनकी यो क्षेत्रलाई राजनीतिको हाँगाबिँगाले ढपक्कै ढाकिसकेको छ ।

हिजोका विद्यार्थी नेताको योगदान खुला समाज निर्माणमा भयो भने अबका विद्यार्थी नेताले समाजलाई नीतिगत बहसमा न्याय दिन सक्ने बनाउनुपर्छ ।

अझ अर्को शब्दमा भन्नुपर्दा पिरामिडको वास्तविक आकार नै निर्माण हुन पाए जस्तो लाग्दैन । दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्व आए शिक्षा क्षेत्रलाई राजनैतिक गन्धबाट टाढा राख्न अझै पनि त्यति गाह्रो भने छैन । किनकी देश हाँक्ने, बनाउने भनेको उहाँहरूले नै हो ।

हाम्रो राजनीतिक नेतृत्वबाट चुनिएका प्रधानमन्त्री वा मन्त्रीलाई विश्वविद्यालयको प्रमुख वा अन्य निकायमा नियुक्त गर्ने चलनबाट उहिले नै हटाइसक्नुपर्ने थियो । यसको अलावा विशिष्ट प्राध्यापक मध्येबाट विश्वविद्यालयको प्रमुख हुने प्रणालीमा गएर कुलपति, सहकुलपति र उपकुलपति हटाउन अब ढिलो गर्नु हुन्न । यसबाट शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपलाई बिस्तारै न्यूनीकरण गर्न सकिन्छ ।

कुनै पनि पेशागत हकहितको लागि संघ-संगठनको कल्पना गरिएको हुन्छ । हो, कहिलेकाँही राज्यले खुला समाजमा सानोको आवाज सुन्दैन । तर हाम्रोमा यसको पनि गलत परम्परा बस्दै आएको छ । विश्वविद्यालयहरूमा आफ्नो पार्टी अनुसारका प्राध्यापक, कर्मचारी र विद्यार्थीका संघ-संगठन छन् ।

विश्वविद्यालयबाट उत्पादित यिनै जनशक्तिहरू नै राज्यको अन्य निकायहरूमा खपत हुने भएकोले यो रोग फौजी संगठन बाहेक अन्यमा पनि व्याप्त छ । किनकी यसको मुहान भनेको नै शिक्षा क्षेत्र हो । जस्तो सिकाई त्यस्तै प्रतिक्रिया निर्माण हुने हो ।

विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियनमार्फत् आफ्नो राजनैतिक यात्रा सुरु गरेका अहिलेको राजनैतिक नेतृत्वमा हुनेहरूले खुला समाज निर्माण गर्न ठुलो भूमिका खेलेका छन् । अब विद्यार्थी युनियनमार्फत नयाँ राजनैतिक यात्रा सुरु गर्नेले विश्वविद्यालयमा विद्यार्थीहरूबीच आफ्नो हकहितको अलवा समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि ठोस योजनासहित प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्नुपर्छ । किनकी हामी अब खुला समाजमा छौं । यसले गर्दा कुशल राजनैतिक नेतृत्व विकास भई भोलिको दिनमा देशलाई पनि सही तरिकाबाट कुशल नेतृत्व दिन सकियोस् ।

अबको शिक्षा नीतिले आत्मनिर्भर हुने बाटोतिर समाजलाई डोर्‍याउनु पर्दछ । नीति-निर्माण तहमा रहनेसँग विद्यार्थी नेताहरूले पनि त्यो यात्रालाई सहज बनाउन भूमिका खेल्नुपर्छ । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको यो ‘स्वतन्त्र’ भन्ने शब्द विश्वविद्यालयले थाम्न सक्ने भार हो या हैन ?

स्वतन्त्रको नाम मनपरीतन्त्र गर्ने छुट विश्वविद्यालयमा कसैलाई पनि हुनु हुँदैन । त्यसैले स्वतन्त्र विद्यार्थी युनियनको सट्टा त्रिभुवन विश्वविद्यालय पनि अबदेखि विद्यार्थी काउन्सिलको अवधारणमा जानुपर्छ । विद्यार्थी युनियनको चुनाव गरी नेतृत्व विकास गर्ने नीति अवलम्बन गर्नुपर्दछ ।

यहाँ पार्टीको भातृ संगठनको सट्टा समूहगत रूपमा (प्यानलमा) चुनावमा भाग लिने बाटोतिर जानुपर्दछ । यसो गर्दा पनि राजनैतिक गन्ध नआउने त हैन, तर पनि समाज न्यायोचित हुँदै जादा यस्ता गन्धहरू आफैँ सेलाउँदै जान्छन् । यसले पनि शिक्षा क्षेत्रबाट राजनीतिलाई बिस्तारै भएपनि न्यूनीकरण गर्न टेवा पुर्‍याउने छ ।

यसरी निर्वाचित विद्यार्थी नेताहरूले विशुद्ध विद्यार्थी हकहितको र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि आफ्नो योगदान समाहित गर्नुपर्दछ । यो भए विद्यार्थीहरूले पेशाप्रतिको निष्ठा, इमान्दारिता र जवाफदेहिता आफ्नो अध्ययनकाल मै सिक्ने र बुझ्ने मौका पाउँछन् । हाम्रा यिनै उत्पदानले नै हो, भोलि राज्यका स्थानहरू लिने । त्यसैले व्यवसयीकरणको सही अर्थमा विकास होस् ।

यसरी नै देश विकासमा योगदान गर्ने निर्माणको सही चरणमा हामी प्रवेश गर्न सक्दछौं । हिजोका विद्यार्थी नेताको योगदान खुला समाज निर्माणमा भयो भने अबका विद्यार्थी नेताले समाजलाई नीतिगत बहसमा न्याय दिन सक्ने बनाउनुपर्छ ।

आज सञ्चार नपुगेको नेपाली ठाउँ शायद छैन होला । हाम्रो चेतना स्तर पनि धेरै नै माथि उक्लिसकेको छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो पेशाप्रतिको निष्ठा, इमान्दारिता र जवाफदेहितालाई बोध गर्ने हो भने हाम्रो समाजलाई अझ अगाडि बढाउन त्यति गाह्रो छ जस्तो लाग्दैन । तर हामीले कस्तो शिक्षा नीति लिन्छौं, समाज त्यसरी नै प्रतिबिम्बित हुने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment