+
+

‘बुस्टर डोज’ कहिले ?

 डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ  डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
२०७८ कात्तिक ३ गते १६:१०

‘बुस्टर डोज’ कहिले ? आजकाल धेरै मानिसहरुले यो प्रश्न सोधिरहेका छन् । धेरैलाई चासो भएको यो प्रश्न आफैंमा त्यति व्यवहारिक नहोला, किनभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक महिनाको २ गतेसम्ममा लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) मध्ये झन्डै ३२.६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाउन पाएका छन् । अर्थात् लक्षित जनसंख्याको ६७.४ प्रतिशतले अझै खोप लगाउन नपाएका वा पर्खिरहेका छन् । यो संख्या ठूलो हो । उनीहरुले खोप चाँडो भन्दा चाँडो पाउनु अहिले महत्वपूर्ण आवश्यकता हो ।

देशको ठूलो जनसंख्याले खोप नपाइरहको बेला पछिल्लो समय बुस्टर डोजको विषयमा चासो र बहस भइरहेको छ । अहिले विभिन्न बहानामा अस्पताल आएका धेरै बिरामीले कोभिड-१९ खोपको बुस्टर डोज सम्बन्धी जिज्ञासा राखिरहेका छन् । किनकि सबैभन्दा पहिले खोप लगाएकाहरुले दोस्रो मात्रा खोप पनि ६ महिना पार गरिसकेको छ । खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएको होकी भन्ने आशंकाले गर्दा ‘बुस्टर डोज’ प्रति चासो बढेको देखिन्छ । यो आशंकालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  गरेको अनुसन्धानले थप मलजल गरेको छ । एनएचआरसीले खोप लगाएको दुई महिनापछि क्रमश: खोपको एण्टीबडी खस्कँदै जाने भन्ने प्रारम्भिक नतिजाले धेरैलाई यो यो विषयमा सोच्न बाध्य बनाएको छ ।

खोपको पूर्ण मात्रा पूरा गरिसकेकामा समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमश: ह्रास आउँदै गए फेरि खोपको आवश्यकता पर्न सक्ने हुन्छ, जसलाई  ‘बुस्टर डोज’ दिने भनिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका (सीडीसी) अनुसार स्वास्थ्यकर्मी तथा विविध क्षेत्रका फ्रन्टलाइनरलाई गरिएको खोप अनुसन्धानहरुले यसको प्रभावकारिता समय बित्दै जाँदा क्रमश: घट्दै जाने र यसले गर्दा संक्रमणको जोखिम बढ्न सक्ने भनिएको छ । यो अवस्था विशेषत डेल्टा भेरियन्टको अनुसन्धानसँग सम्बन्धित थियो । तसर्थ अमेरिकाको खोप सम्बन्धी अनुगमन गर्ने निकाय फुड एण्ड ड्रग एडमिनेष्ट्रेशनले (एफडीए) दोस्रो खोप लगाएको ६ महिना पछि एक मात्रा बुस्टर डोज लगाउन अनुमति प्रदान गरेको थियो ।

पूर्ण मात्रा (दुई डोज) खोप लगाएपछि कति समयसम्म खोपले सुरक्षा दिन्छ भन्ने ठोस/विस्तृत नतिजाहरु आउने क्रम जारी छ । अमेरिकामा भने हालै ‘बुस्टर डोज’ दिन अनुमति दिइसकेको छ भने युरोपमा लगाउने तरखरमा देखिन्छ । यसकारण नेपालमा पनि ‘बुस्टर डोज’ सम्बन्धी चासो बढ्दो देखिन्छ ।

हालै अमेरिकी राष्ट्रपति जो बाइडेन पनि कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । अहिले निश्चित समूह वा उमेरकालाई मात्र ‘बुस्टर डोज’ लगाउन एफडीएले अनुमति दिएको छ । ६५ वर्ष माथिका उच्च जोखिममा रहेका त्यसैगरी १८ वर्षदेखि ६४ वर्षका, जो पेसा व्यावसायले गर्दा धेरैसँग भेटघाट गर्नुपर्ने, १८ देखि  ४९ वर्षका दीर्घ रोगीले ‘बुस्टर डोज’ को मात्रा लिनसक्ने सीडीसीले जनाएको छ । ‘बुस्टर डोज’ को सिफारिस हाल फाइजर खोपको हकमा मात्र लागू गरिएको छ । यी समूह वा उमेर बाहेककालाई भने तथ्यांक उपलब्ध भएपछि मात्र सिफारिस गर्न सकिने भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ महिनामा दुई मात्रा डोज (पूर्ण खोप) लगाएका ९० प्रतिशतमा एन्टीबडी विकास भएको भनेको थियो र खोप प्रभावकारी देखिएको निष्कर्ष निकालेको थियो । म स्वयंले समय बित्त्दै जाँदा एन्टीबडीको स्तर पनि खस्कदै गैरहेको/खस्केको हुनसक्ने अनुमान गरिरहेको छु । किनकि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा आउने धेरै बिरामी हेरेको मेरो अनुभवको निष्कर्ष यस्तै छ ।

केही दिन अगाडि मात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको अध्ययन गर्दा दुई महिनासम्म कोभिड-१९ विरुद्धको एन्टीबडी बढ्ने तर त्यस पश्चात भने क्रमश: खस्कँदै जाने प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । उक्त अध्ययनमा १५० दिनसम्म भने एण्टीबडी रहिरहने उल्लेख थियो । तर उक्त एण्टीबडीले थप कति समयसम्म यसले निरन्तरता पाउँछ भन्नेमा भने केही उल्लेख गरेको थिएन । सरसर्ती हेर्दा, नेपालमा प्रयोग भइरहेका भेरोसेल तथा कोभिशिल्ड खोपहरूका प्रभावकारिता ३ देखि ५ महिनासम्ममा औसतमा घटेर ५४  प्रतिशतसम्म पुगेको भनिएको छ।

अबको चासो भनेको हामीले लगाइरहेका खोपहरुले कहिलेसम्म प्रतिरक्षा गर्नेछ र कोरोनाको त्रास/समस्याबाट मुक्त भई कोभिड-१९ महामारी अगाडिको अवस्थामा पुग्ने (सामान्य जनजीवनमा फर्कने) भन्ने छ । तर, यसको लागि हामीले लगाउँदै गरेका खोपहरु कति अवधिसम्म प्रभावकारी रहन्छ भन्ने थाहा पाउनु महत्वपूर्ण हुनेछ र स्वाभाविक रुपमा यो ‘बुस्टर डोज’को आवश्यकतासँग जोडिने छ ।

नेपाल बिस्तारै पोस्ट-भ्याक्सिनेसनको युगमा(एरामा) प्रवेश गर्दैछ वा शीघ्र गर्नेछ। तसर्थ, अबको चासो भनेको हामीले लगाइरहेका खोपहरुले कहिलेसम्म प्रतिरक्षा गर्नेछ र कोरोनाको त्रास/समस्याबाट मुक्त भई कोभिड-१९ महामारी अगाडिको अवस्थामा पुग्ने (सामान्य जनजीवनमा फर्कने) भन्ने छ । तर, यसको लागि हामीले लगाउँदै गरेका खोपहरु कति अवधिसम्म प्रभावकारी रहन्छ भन्ने थाहा पाउनु महत्वपूर्ण हुनेछ र स्वाभाविक रुपमा यो ‘बुस्टर डोज’को आवश्यकतासँग जोडिने छ।

अमेरिकामा बुस्टर डोजको लागि अनुमति दिएको खोप फाइजर भएकाले नेपालमा पनि उनीहरुको निर्देशिका हुबहु पछ्याउनु मिल्दैन । नेपालले हाल चीन र भारतमा निर्मित ‘भेरोसेल’ तथा ‘कोभिशिल्ड’ खोपहरुको प्रयोग गरिरहेको र आगामी दिनहरुमा पनि यिनै खोपहरुको व्यापक प्रयोग गर्ने सम्भावना बढी भएकाले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानलाई थप अगाडि बढाउने र निष्कर्षमा पुर्याउनु पर्नेछ। नेपाली समुदायमा हाल प्रयोगमा आइरहेका खोपको प्रभावकारिता खस्किने समय पत्ता लगाउन सके बुस्टर डोजको समय निश्चित/निर्धारण गर्न सकिनेछ । यसको लागि विदेशी अनुसन्धानको नतिजालाई नै कुर्नुपर्छ भन्ने छैन।

अनुसन्धानले एन्टीबडीको स्तर समयक्रमसँगै खस्कदै गैरहेको देखाएता पनि एकपटक पूर्ण खोप लगाइसकेकाहरुमा गम्भिर अवस्था नदेखिने नतिजाहरुमा देखिएका छन् । नेपालमा पनि हालसम्म कम्तिमा दुई मात्रा पूर्ण खोप लगाएर ६ महिना पार गरिसकेकामा अपवादलाई छोडेर (किनभने कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैन) एकपछि अर्को गम्भीर प्रकृतीका कोभिड-१९ स्वास्थ्य समस्याहरु देखिएका वा मृत्यु हुने गरेको देखेको भने छैन । नेपालमा हालको राष्ट्रिय तथा अस्पतालहरुका तथ्यांकहरुले पनि यस्तै अवस्था देखाउँदछ । तसर्थ ‘बुस्टर डोज’ सम्बन्धी बहसहरुमा वैज्ञानिकहरु एकमत भैसकेको देखिँदैन । तर, खोप लगाइसकेकाहरुमा पनि संक्रमण हुने र त्यस्ता संक्रमितहरुले सामान्य वा मध्यम खालका लक्षणहरु देखाउने गरेको म स्वयंले देख्दै आइरहेको छु ।

मध्यम स्वास्थ्य समस्याहरु भएका तथा दीर्घ रोगी तथा जेष्ठ नागरिकलाई बढी सकस हुनसक्ने भएकाले र जोकोही समुदायमा धेरैसँग सम्पर्कमा आउनेहरु (उनीहरु मार्फत घरमा दीर्घ रोगी, जेष्ठ नागरिकलाई जोखिम हुने भएकाले) जोखिम हुने हुँदा हाललाई अमेरिकी सरकारले बुस्टर डोजको सिफारिस गरिएको देखिन्छ ।

अन्तमा, हालसम्मको मेरो अनुभव तथा नेपालका विभिन्न निकायहरुले गरेको अनुसन्धानहरुलाई एकै ठाउँमा राखेर हेर्दा एकपटक पूर्ण खोप लगाइसकेकाहरुलाई कोभिड-१९ को जटिल अवस्था नदेखिएको र लक्षित जनसंख्याको ठूलो हिस्साले एक पटक पनि पूर्ण मात्रा डोज लगाउन नपाइरहेको अवस्थामा ‘बुस्टर डोज’ खोपको आवश्यकता बारेमा बहस हुनु जरुरी देखिन्छ । अझै पर्याप्त ‘३ अ’ अर्थात् अध्ययन, अनुसन्धान र अनुभवबिना तत्काल ‘बुस्टर डोज’ को बारेमा निष्कर्षमा/निर्णयमा पुगी हाल्ने अवस्था देखिँदैन, तर पनि कोभिड-१९ ले वर्षौंदेखि पारेको त्रासले गर्दा ‘बुस्टर डोजको बारेमा चासो हुनु/देखिनु स्वाभाविक पनि हो । शायद, यसकारणले पनि होला, मलाई पछिल्लो समय एउटा प्रश्नले पछ्याइरहेको छ ‘डा. साब बुस्टर डोज कहिले ?’ र, मलाई पनि लाग्दछ अबको ‘पोस्ट भ्याक्सिनेसन’ युगमा धेरैमा पलाउने जिज्ञासा/चासो पनि यही हुनेछ।

(डापुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?