+
+
बिचल्लीमा कैलालीका किसान :

न घरको अन्न रह्यो, न खेतको धान

जनक बिष्ट जनक बिष्ट
२०७८ कात्तिक ५ गते १९:३०

५ कात्तिक, धनगढी । कैलाली टीकापुरका किसान हिरालाल चौधरीका आँखा अझै ओभानो भएका छैनन् । टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय चौधरीले पेटभरि नखाएको र नसुतेको तीन दिन भयो ।

घरमा भण्डारण गरेको अन्नजति बाढीले बगायो । १० जनाको परिवारको बास सडकमा छ । सानो ओछयानमा कोचाकोचा गरेर उनीहरु निदाउँछन् । छेउमै बाख्रा, सुँगुर र भैंसी बाँधेका छन् ।

अविरल वर्षापछि बुधबार राति कर्णाली नदी यो गाउँमा पस्दा चौधरीको घर मात्रै डुबेको छैन, कडा मेहनत गरेर फलाएको धानबाली सखाप भएको छ । खेतमा नदी पसेका कारण खेत बगरजस्तै भएको छ ।

दुःख गरेर काटेको दुई बिघाको धान क्षणभरमै कर्णालीले बगाएपछि उनको परिवारको बिजोग भएको छ । चौधरी घरी खेततिर फर्किदै डाँको छोडेर रुन्छन्, घरी वरिपरिका बसेका जहान केटाकेटीको मुख हेर्छन् । पत्नी दुलारी चौधरी र छोराछोरीले सम्झाउँदा पनि धानबाली सखाप हुँदाको पीडा भुल्न सकेका छैनन् उनले ।

‘दुई बिघामा लगाएको धान कर्णालीले बगाएर लगिहाल्यो अब के गर्ने ? यता न उताको बनाइदियो,’ चौधरीले निराश हुँदै अनलाइनखबरसँग भने, ‘प्रकृतिले हामीमाथि ठूलो लात हान्यो ।’

किसान हिरालाल चौधरी

काटेको जम्मै धान नदीले बगाएको उनले दुःखेसो पोखे । ८ कठ्ठा जमिनको धान भित्र्याएर घरमा राखेका उनले त्यो पनि डुबेर कामै नलाग्ने भएको छ । अरु बेला धान बिक्री गरेर परिवारको आवश्यकता पूरा गर्दै आएका चौधरीलाई आउने वर्ष आफू र परिवारको कसरी पेट पाल्ने भन्ने चिन्ता छ ।

०००

अर्का किसान धर्मबहादुर डगौराको पीडा पनि हिरालालको जस्तै छ । वन गाउँकै स्थानीय धर्मबहादुरको परिवारले तीन बिघा क्षेत्रफलमा धान लगाएको थियो । दुई दिन लगाएर काटेको धान बाढीले बगाएपछि आफूूहरुमाथि ठूूलो बज्रपात आइलागेको अनुभूति यो परिवारले गरेको छ ।

‘तीन बिघा क्षेत्रफलमा लगाएको धान काटेर मुठा पारिसकेका थियौं । भित्र्याउन नपाउँदै कर्णालीले  लग्यो,’ डगौराले अनलाइनखबरसँग भने । बाढीले उनको धान मात्र बगाएको छैन, जीविकोपार्जन गर्ने आधार खेत पनि बगर बनाएको छ ।

उनी भन्छन्, ‘अब के गर्ने होला ? म वार्षिक ४० क्वीन्टल धान बिक्री गर्थे । त्यसबाट आउने पैसाले नून, तेल र लुगाफाटो किन्थें । यसपालि सबै बाढीले बगायो । वर्षभरि परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।’

किसान कृष्णगोपाल चौधरीले पनि बाढीले आफनो खेतमा काटेर राखेको सबै धानबाली बगाएको व्यथा सुनाए । धानबाली र बारीमा लगाएको सबै बाली बगाएपछि के खाने भन्ने अवस्था सिर्जना भएको भन्दै उनले खेत नै बगरमा परिणत भएको बताए ।

‘करिब दुई बिघा खेतको धान काटेर कुनिया लगाउन मुठा बाँधेर राखेका थियौं,’ चौधरीले भने, ‘बाढी आएर जम्मै बगाएर लग्यो । घर समेत पुरिएपछि अहिले स्कुलमा आश्रय लिएर बसिरहेका छौं । अब पेट कसरी पाल्ने भन्ने चिन्ता छ ।’

अघिल्लो वर्ष करिब डेढ लाख रुपैयाँ बराबरको धान बिक्री गरेको सम्झँदै उनले यसपालि बाढीले बगाउँदा आफूलाई खानका लागि समेत अन्न नरहेको बताए । उनी भन्छन्, ‘अब सरकारले क्षति अनुसारको सबै किसानलाई राहत दिनुपर्छ ।’

०००

कैलाली टीकापुरको वनगाउँ क्षेत्र मात्र नभएर वर्षासँगै आएको बाढीले भजनी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकामा ठूूलो क्षति गरेको छ । पाकेर भित्र्याउन ठिक्क भएका, काटेर खेतमै सुकाउन राखिएका धान बगाएपछि किसानहरुको बिचल्ली भएको छ ।

बाढीबाट विस्थापित भएका किसान परिवार

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जिल्लामा झण्डै २१ हजार क्षेत्रफलमा लगाएको धानबाली बाढीले नष्ट गरिदिएको प्रारम्भिक तथ्यांक आएको बताए ।

‘कैलालीमा यस वर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये झण्डै ३० प्रतिशत क्षेत्रमा लगाइएको धानबालीमा डुबान र बाढीका कारण क्षति पुगेको छ,’ शर्माले भने, ‘यो प्रारम्भिक अनुमान मात्र हो । हामीले सबै स्थानीय तहमा क्षतिको विवरण संकलन गरिरहेका छौं । क्षति योभन्दा बढी पनि हुनसक्छ ।’

कृषि ज्ञान केन्द्रले जिल्लामा करिब ८० हजार किसान प्रभावित भएको जनाएको छ । कञ्चनपुरमा पनि वर्षाले झण्डै १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति गरेको छ ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले अझै बढ्ने सक्ने आँकलन गरिएको बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि अहिले क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाएको छ । क्षतिको विवरण संकलन गरेर सोही अनुसार किसानलाई राहत प्याकेज ल्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?