+
+

मोल्दोभामा ग्यास आपूर्ति बन्द गर्ने रुसको धम्की

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:२४

९ कात्तिक, काठमाडौं । मुलुकमा ग्यास संकट छ । तर निकू पोपेस्कु सकारात्मक बन्ने प्रयास गरिरहेका छन् । ‘सोमबार हाम्रो मुलुकले इतिहास बनायो’, मोल्दोभाका विदेशमन्त्रीले मसँग कुरा गर्दै भने, ‘पहिलो पटक मोल्दोभाले रुसको ग्यासप्रोमभन्दा अन्य स्रोतबाट ग्यास किनेको छ ।’

पोल्याण्डको पिजिएनआईजीबाट १० लाख क्युबिक मिटर ग्यास आएको थियो । ग्यासप्रोमले आपूर्ति रोकेमा मोल्दोभालाई योभन्दा निकै बढी परिमाणको ग्यास चाहिन्छ ।

हालसम्म मोल्दोभालाई चाहिने सबै ग्यास रुसले आपूर्ति गर्दै आएको थियो । तर सेप्टेम्बरको अन्त्यमा आपूर्ति सम्झौताको म्याद सकियो । ग्यासप्रोमले भाउ बढायो र मोल्दोभाले यसप्रति अनिच्छा देखायो । नयाँ सम्झौता नभएको भन्दै आपूर्तिमा कटौती गरियो र मोल्दोभामा एक महिनासम्म आपतकाल घोषणा गर्नुपर्‍यो । ग्यासप्रोमले मोल्दोभामाथि ‘संकट निम्त्याउन भूमिका खेलेको’ आरोप लगायो र ७०९ मिलियन ऋण तिर्न भन्यो । जुन ऋण मोल्दोभाले अस्वीकार गरेको छ ।

दुवै पक्षबीच छलफल जारी छ । मोल्दोभाका अधिकारीले शर्त अनुकूल भएमा ग्यासप्रोमसँग नयाँ सम्झौता गर्न चाहेको बताएका छन् ।

रुससँग नयाँ सम्झौता नभएको अवस्थामा युरोपको सबैभन्दा गरिब मुलुकमा पर्ने मोल्दोभाले अन्यत्रबाट  पर्याप्त ग्यास खरिद गर्ला त ?

‘मुलुकमा ग्यास संकट हुनु सबैभन्दा नराम्रो कुरा हो’, पोपेस्कुले स्वीकारे, ‘भाउ अहिलेसम्मकै उच्च छ । विश्वस्तरमै बजारमा संकट देखिरहेका छौं । तर हामीलाई सहयोग मिलिरहेको छ । हालैका वर्षमा रोमानियाले मोल्दोभासम्म आउने नयाँ ग्यास पाइपलाइन बनाएको छ र यसबाट हामीले सुरक्षित महसुस गरेका छौं । केही दिनभित्रै मुलुकलाई चाहिने ग्यास कसरी अन्य माध्यमबाट ल्याउने भन्नेबारे युरोपियन युनियनबाट सल्लाह पाइरहेका छौं ।’

मोल्‍दोभाका अन्य व्यवसायझैं ड्रोसियास्थित चिनी कारखाना पनि ग्यास अभावबाट प्रभावित बनेको छ । ‘हामीलाई चाहिने ग्यासमध्ये एक चौथाइ मात्रै प्रयोग गर्न सकेको अवस्था छ,’ कारखानाका प्रबन्धक रोस्टिस्लाभ म्याग्देईले भने, ‘इन्धनका अन्य स्रोतबाट अभाव पूर्ति गरिरहेका छौं । सरकारले बढेको इन्धन भाउबाट हुने नोक्सानीको क्षतिपूर्ति दिने आशा राखेका छौं ।’

कुनै बेला मस्कोसँग नजिक रहेको मोल्दोभा रुसबाट टाढिँदै पश्चिमतर्फ ढल्किन पुगेको छ । मुलुकको नेतृत्व यतिबेला ‘प्रो-युरोपेली’ बनेको छ र युरोपेली युनियनसँग थप निकटको सम्बन्धको पक्षमा उभिन थालेको छ । यहाँका अधिकांशले ग्यास संकटलाई क्रेमलिनले आफ्नो असहमति जनाउने माध्यम बनाएको ठान्छन् ।

‘यसै वर्ष हामीले संसदीय चुनाव गरायौं र प्रो-रुसी दल पराजित भयो,’ मोल्दोभाका राष्ट्रपतिका पूर्व ऊर्जा सल्लाहकार सर्गिऊ टोफिलटले सुनाए, ‘अहिले पश्चिमसँग नजिक दल सत्तामा छ । यही कारण रुसले ग्यास आपूर्तिबारे आफ्नो धारणा बदलेको हो । क्रेमलिनले प्रो-रुसी दलविरुद्ध मत खसालेका कारण मोल्दोभालाई दण्डित गर्न चाहन्छ । यो नितान्त राजनीति हो ।’

‘भ्लादिमिर पुटिनले पूर्व सोभियतमा रहेका मुलुकलाई क्रेमलिनको प्रभाव क्षेत्रभित्रै राख्न खोजिरहेका छन् । हामीहरु मस्कोसामु हामी कमजोर बन्न चाहन्नौं’, टोफिलटले थपे, ‘हामीले रुसी धम्कीलाई नकार्न सक्नुपर्छ र हामीलाई रुसी प्रभावबाट मुक्त हुने अवसर मिलेको छ ।’

क्रेमलिनले इन्धनलाई हतियार बनाएको कुरा खण्डन गर्दै आएको छ । हालै राष्ट्रपति पुटिनले ‘पूरै बकबास र राजनीतिबाट प्रेरित हल्ला’ भन्दै यस्तो आरोप अस्वीकार गरेका थिए ।

तर मोल्दोभालाई रुसी प्रभाव कम गर्न त्यति सजिलो छैन । इन्धनको कुरा गर्ने हो भने मोल्दोभा मस्कोसँग नजिकले जोडिएको छ । रुसी ग्यासमाथि पूरै निर्भर मात्रै होइन, मोल्दोभाको ग्यास कम्पनी मोल्दोभाग्याजको स्वामित्वमा ग्यासप्रोपको बाहुल्यता छ । त्यस्तै, ८० प्रतिशत बिजुली रुसले आर्थिक, राजनीतिक एवं सैन्य समर्थन गर्दै आएको र मोल्दोभाबाट अलग्गिएको पृथकतावादी क्षेत्र ट्रान्स डिनेस्टरको पावर प्लान्टबाट आउने गर्छ ।

यदि ग्यास वार्तालाई पोकर (जुवा) मान्ने हो भने रुसको पल्लाभारी देखिन्छ । तर ट्रान्स डिनेस्टर मस्कोका लागि कमजोर बिन्दु बन्न सक्छ ।

‘अलग्गिएको क्षेत्रमा ग्यास आपूर्ति गर्न समेत ग्यासप्रोमले मोल्दोभासँग ग्यास सम्झौता गर्नुपर्छ’, टोफिलटले भने, ‘ग्यासप्रोम धितोपत्र बजारमा शेयर सूचीकृत भएको सार्वजनिक कम्पनी हो । यसले औपचारिक मान्यता नपाएको ट्रान्स डिनेस्टरका आपूर्तिकर्तासँग सम्झौता गर्न सक्दैन ।’

बाल्टी शहरमा मोल्दोभाका चालकले न्यून ग्यासको असर महसुस गरिरहेका छन् । ग्यास स्टेशनमा लामो लाइन लागेको छ । लाइनमा कार र आक्रोशित चालक देख्न सकिन्छ ।

‘युरोपतर्फ ढल्केका कारण हामीहरु यस्तो अवस्थामा छौं’, भ्यालेरा नामका ट्याक्सी चालकले भने, ‘यदि हामीहरु रुससँग भएको भए हरेक कुरा फरक हुन्थ्यो ।’

युरा नामका अर्का चालक भन्छन्- ‘हाल हाम्रा नेताहरु युरोप र अमेरिकाको मित्र बन्न चाहनु नै समस्या हो । सस्तो ग्यासका लागि उनीहरु मस्कोसँग नजिक हुँदै एउटा सहमति गर्नुपर्छ । हामीहरु रुससँग झुक्नुपर्छ ।’

प्रो-युरोपियन मार्ग तय गरेको हरेक सरकारसामु एउटा खतरा छ । अर्थात् लम्बिँदो ग्यास अभाव र बढ्दो इन्धन बिलका कारण मोल्दोभाबासीले आफ्नो मुलुकले लिएको मार्गप्रति प्रश्न गर्न सक्छन् ।

(बीबीसीमा प्रकाशित स्टिभ रोजेनबर्गले तयारी पारेको सामग्रीलाई अनलाइनखबरले गरेको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?