+
+

फूलप्रेमीलाई अवसर, एकै ठाउँमा सयौं फूल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १३:४७

१३ कात्तिक, काठमाडौं । जावलाखेलको खेल मैदान अहिले फूलैफूलैले ढकमक्क बनेको छ । ४०० भन्दा बढी प्रजातिका फूलहरूले खेल मैदानलाई ढाकेको छ ।

फूलैफूलको चाड तिहार नजिकिंदै गर्दा शुक्रबारदेखि शुरू भएको १४औं गोदावरी पुष्प प्रदर्शनी, २०७८ को कारण जावलाखेलको खेलमैदान फूलैफूलले ढाकेको हो ।

४८ वटा विभिन्न फूलहरूको स्टल रहेको पुष्प प्रदर्शनीमा विभिन्न ४०० भन्दा बढी प्रजातिका फूलहरू रहेको पुष्प व्यवसायी संघका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।

फूल प्रेमीहरूको भीड लागेको प्रदर्शनीमा डा.मधु दीक्षित देवकोटा फूल रोज्दै गरेको भेटिइन् । उनले आफूलाई फूल रोप्ने, किन्ने मामलामा एकदम सौखिन भएको बताइन् । भन्छिन्, ‘म फूल रोप्ने, किन्ने कुरामा अत्यन्तै सौखिन छु । आज पनि करीब नौ प्रजातिको फूल रोजिसकेकी छु ।’ आफूले रोजेर छुट्याएको फूलहरूतिर देखाउँदै भनिन् ।

प्रदर्शनीमा फूलप्रेमीहरू फूलको साइज, रङ छान्नमा व्यस्त देखिन्थे । थापा नर्सरी कीर्तिपुरको स्टलले यो वर्षको प्रदर्शनीमा उत्कृष्ट स्टलको उपाधि जितेको छ । स्टलको अगाडि प्रमाणपत्र र पुरस्कार नै राखिएको छ । थापा नर्सरीको स्टलमा करीब १२ रङको चार प्रजातिका गोदावरी फूल बेच्नको लागि राखिएका छन् । करीब २५ वर्षदेखि पुष्प व्यवसाय गरिरहेका थापा नर्सरीका संचालक कृष्णराम थापा पहिलो दिनको प्रदर्शनी उत्साहजनक देखिएको बताउँछन् ।

हरेक वर्ष हुने प्रदर्शनीमा नयाँ फूलप्रेमी ग्राहक संख्या थपिंदै गएको अनुभव गर्छन् व्यवसायी थापा । यस्ता फूल प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी नागरिकको लागि पनि अवसर हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यस्ता प्रदर्शनी हामीलाई व्यापार गर्नु मात्रै नभएर नयाँ ग्राहक थप्ने अवसर पनि हो । र फूलप्रेमीहरूलाई पनि एकै ठाउँमा सयौंको संख्यामा रोज्न पाउने अवसर हो ।’ २०० देखि १२०० सम्म मूल्य रहेका गोदावरीले चार दिनसम्म हुने प्रदर्शनीमा कम्तीमा पाँच लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको थापाले बताए ।

प्रदर्शनीमा प्लान्टहरूको पनि विभिन्न प्रजातिमा फूल रोज्न पाइन्छ । शिष्टता नर्सरी थसिखेलको स्टलमा फुल्ने र नफुल्ने फूलका करीब ५० प्रजाति राखिएका छन् । २०० देखि ४ हजार मूल्य बराबरको फूलहरू पाइने सञ्चालक यशोदा सन्जेलले बताइन् । आज पहिलो दिन नै फूलप्रेमी ग्राहकहरूको भीड लागेको प्रदर्शनीमा राम्रै कारोबार हुनसक्ने अनुमान गरेकी छिन् यशोदाले । ‘हामी प्रदर्शनीमा कारोबार गर्न भन्दा पनि आफ्नो नर्सरीको प्रचारप्रसारको लागि मुख्यतः राख्ने गरेका छौं । आजको संकेत हेर्दा कारोबार पनि राम्रै होला’, उनले भनिन् ।

हरेक वर्ष हुने प्रदर्शनीमा नयाँ फूलप्रेमी ग्राहक संख्या थपिंदै गएको अनुभव गर्छन् व्यवसायी थापा । यस्ता फूल प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी नागरिकको लागि पनि अवसर हुने उनी बताउँछन् ।

प्रदर्शनीमा फूल, प्लान्टसँगै भाँडा, रोप्ने तरिका, घरमा कुन फूल अथवा प्लान्टलाई कस्तो स्थानमा राख्दा आकर्षक देखिन्छ लगायत सुझाव पनि दिन्छन् व्यवसायीहरूले । फ्लोरिस्ता हट च्यासलले अर्नामेन्टल प्लान्ट, फूलहरू स्टलमा राखेको छ । सँगै फूल रोप्नको लागि प्रयोग हुने नेपाली हस्तकलाका सामग्री पनि ।

नर्सरी संचालक नेहा भण्डारी भन्छिन्, ‘हामीले अर्नामेन्टल प्लान्ट र त्यसका लागि आवश्यक भाँडाहरू राखेका छौं । कसरी राख्ने भन्ने बारेमा पनि जानकारी दिन्छौं ।’ प्रदर्शनीमा आउने कतिपय फूलप्रेमी ग्राहकहरूले नै यसरी राख्न सकिन्छ अथवा यो प्लान्ट वा फूल यो भाँडोमा राम्रो हुन्छ भनेर सुझाव दिएर जाने ग्राहक समेत भेटेकी छिन् नेहाले ।

प्रदर्शनीमा राखिएका अधिकांश आयातीत बीउबिजनबाट तयार भएका फूलहरू रहेको प्रदर्शनी संयोजक सीताराम पन्त बताउँछन् । प्रदर्शनीमा ५० लाख भन्दा बढीको कारोबार गर्ने लक्ष्य र ३५ हजार भन्दा बढी भ्रमण गर्न आउने अपेक्षा रहेको पन्तले बताए ।

यो प्रदर्शनी फूल व्यवसायीहरूको लागि अवसरको रूपमा हुने गरेको पुष्प व्यवसायी संघका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । भन्छन्, ‘यहाँ कारोबार गर्ने त भइहाल्यो । आफ्नो नर्सरीमा पाउने फूलहरूबारे प्रचारप्रसार गर्ने अवसर पनि हो । जसले नयाँ ग्राहक थप्ने मौका मिल्छ । त्यसैले यो प्रदर्शनी हामी व्यवसायीको लागि अवसर हो ।’

उपभोक्तालाई रोजेर किन्न पाउने मात्रै नभएर आवश्यक प्रविधि, वातावरण, मल, माटो लगायत किन्न पाउने सुविधा रहेको छ । चार वटा नेपाल पुष्प व्यवसाय, वनस्पति विभाग, टिस्यु कल्चर र पुष्प विकास केन्द्रले व्यवसाय गर्न चाहने नयाँलाई पनि जानकारी दिने सुविधा प्रदर्शनीमा रहेको छ ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?