
१७ कात्तिक, काठमाडौं । इजरायलले सिरियाली राजधानी दमास्कस वरपरका क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ । बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उदृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो ।
इजरायली हमलाबाट भौतिक क्षति भएको समाचारमा उल्लेख छ । तर पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।
गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो ।
यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको थियो ।
सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ । लेबनाली समूह हेजबोल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ ।
त्यस्तै, इजरायलले हेजबोल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ ।
स्मरणीय छ- सिरियाली गृहयुद्धमा हेजबोल्लाहले राष्ट्रपति बसर अल असदको पक्षमा लड्दै आएको छ भने इजरायलले विपक्षी समूहलाई समर्थन गर्दै आएको छ ।
प्रतिक्रिया 4