+
+

‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

नुनुता राई नुनुता राई
२०७८ कात्तिक २३ गते १४:२४

त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’

२३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, कर्मचारी सबैका लागि निरन्तर चिया पकाइरहेका छन् ।

७३ वर्षीय बिष्ट अहिले कान अलि कम सुन्न थालेका छन् । आफूले शेरबहादुर देउवा, पीएल सिंह लगायत धेरै राजनीतिक र गैर–राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई चिया खुवाएको उनी बताउँछन् । भन्छन्, ‘देशको माथिल्लो तहमा पुगेका धेरैले मैले पकाएको चिया खा’का छन् ।’

२००५ सालमा कीर्तिपुरकै पाँगामा जन्मेका बिष्ट कक्षा पाँचमा पढ्दापढ्दै भवन निर्माणको काममा लागे । त्यसक्रममा ढुंगाले लागेर खुट्टामा गहिरो चोट लागेपछि फेरि त्यो काममा फर्कन सकेनन् ।

‘कुरा २०२१ सालको हो, त्योबेला म १६ वर्षको थिएँ’, बिष्ट सम्झन्छन्, ‘दक्षिणकाली माताको दर्शन गरेर फर्कँदैगर्दा बाटामा एक्कासी चिया पसल खोल्ने सोच आयो । ठाउँ खोज्दै जाँदा त्यतिखेरका रजिष्ट्रार त्रैलोक्यनाथ उप्रेतीलाई भेटेँ । उहाँले नै चिया पसल खोल्न दिनुभयो ।’ दक्षिणकालीको दर्शन गरेकै कारण यो संयोग मिलेको उनको विश्वास छ ।

उप्रेतीले पहिला त पढ्न सुझाएको उनी सम्झन्छन् । ‘मलाई भने कहिले पढिसकेर जागिर खाने होला भन्ने भयो’, उनी भन्छन्, ‘चिया बेचे भने अहिले नै कमाउँछु भन्ने लागेर पढ्न जाँगर चलेन ।’
रजिष्ट्रार उप्रेतीले नै बनाइदिएको टिनको छाप्रोमा पाँच पैसा कप चिया बेच्न थालेको बिष्ट बताउँछन् । उनको चिया पसल राम्ररी चल्न थाल्यो । त्योसँगै बरपर फोहोर हुन थाल्यो ।

‘त्यसपछि मैले भीसीलाई भेटेर गुनासो सुनाएपछि त्रिविले शौचालय बनाइदियो’, उनले भने ।
त्रिविमा अध्ययन–अध्यापन गर्न हजारौं आए, गए । त्यसमध्ये अधिकांशले बिष्टले पकाएको चिया खाए । ‘त्यसबेला चिया बेच्ने मै मात्र थिएँ’, उनी भन्छन्, ‘मैले पकाएको चिया नखाएर सुखै थिएन । जाडो याममा त मलाई भ्याइनभ्याइ हुन्थ्यो ।’

उनले मुख्यतः चिया, खाजा र चुरोट बेचे । विश्वविद्यालय परिशरमा पहिल्यैबाट पढ्ने, पढाउने सबैले चिया–खाजासँगै चुरोट तान्ने गरेको उनी बताउँछन् । ‘कतिले भोलि दिन्छु, पर्सि दिन्छु भनेर उधारो पनि खाए’, उनी भन्छन्, ‘तीमध्ये कतिले तिरेनन्, अब त बिर्सी पनि सकेँ ।’

उनका अनुसार, पहिला विद्यार्थी कम हुन्थे । दैनिक देखिरहने सबैजसो विद्यार्थीको नाम, थर, जिल्ला याद हुन्थ्यो उनलाई । पछि त्रिविमा संकाय र विद्यार्थी संख्या बढ्दै गयो । उनको पनि उमेर ढल्दै गयो । सबैको नाम, थर याद राखेर साध्य हुन छाड्यो ।

करिब छ दशकयता त्रिवि परिशरमा जे–जे गतिविधि भए, तिनका साक्षी हुन्, बिष्ट । त्यसमध्ये फरक राजनीतिक आस्था बोकेका विद्यार्थी संगठनहरुबीच हुने हुलदंगा मुख्य छन् । ‘हानाहान, लखेटा लखेट हुन्थ्यो’, उनी भन्छन् ‘विद्यार्थी युनियनको चुनावको त झन् कुरै नगरौं !’

त्यस्तै ‘खतराको बेला’ उनको खाजा, चिया र चुरोट धेरै बिक्थ्यो । उनी रातभर जागा बसेर ब्यापार गर्थे । शेरबहादुर देउवा, पीएल सिंह लगायत नेविसंघका तत्कालीन नेताहरुले आफ्नै पसलमा चिया–खाजा खाँदै प्रतिकारको योजना बनाएको नानीकाजी बिष्टले बिर्सेका छैनन् ।

‘मेरै चिया पसलमा राजनीतिक गफ गर्ने थुप्रै विद्यार्थी पछि मन्त्री, प्रधानमन्त्री र अरु के–के भए । म पनि बुढो भएर बदलिएँ’, बिष्ट भन्छन्, ‘अहिले सबैलाई चिन्दिन, भेट पनि हुँदैन, काम पनि लाग्दैनन्, तर सम्झदा रमाइलो लाग्छ ।’

माओवादी विद्यार्थी संगठन हिमाल शर्मा भने स्ववियु सभापति हुँदा काम लागेको उनले सम्झिए । भने, ‘हिमाल शर्मा आएर मेरो पसल नजिकै यो शौचालय बनाइदिएर गुन गरेका छन् ।’

उनको पसलमा एकपटक पनि नआउने विद्यार्थीमध्ये एक थिए, तत्कालीन युवराज दिपेन्द्र शाह । स्वर्गीय दिपेन्द्रले त्रिविबाट भुगोल बिषयमा स्नातकोत्तर गरेका थिए ।

‘दिपेन्द्र उ त्यहाँ उभिएर चुरोट खान्थे, तर यहाँ कहिल्यै आएनन्’, मानविकी संकायको गेटतिर देखाउँदै बिष्टले भने, ‘उनको लागि चुरोट किन्न अरु नै आउँथे ।’

दिपेन्द्रकै कारण आफ्नो चिया पसलभन्दा केही पर चिया, कफी र खाना पाइने ‘क्याफेटेरिया’ खुलेको बिष्टको बुझाइ छ । दिपेन्द्र सबैको लागि सोच्ने ‘राजकुमार’ भएकाले क्याफेटेरिया खुलेको हुनसक्ने उनले बताए ।

बिष्टले त्रिवि परिसरमा चिया बेचेरै चार छोरी र एक छोरालाई पढाए । उनका जेठी छोरी नर्स र माइली गाउँपालिका सचिव छन् । कान्छी बैंकमा काम गर्छिन् भने आईएसम्म पढेर छोडेकी साहिँली छोरीले बुवालाई सघाइरहेकी छन् ।

‘छोरा सबभन्दा कान्छो हो । उसले पनि ६ महिना अघि कम्प्युटर इन्जिनियरको टोपी लगायो’, बिष्टले भने, ‘अहिले एउटा प्रोजेक्टमा काम गरिरहेको छ ।’

अहिले उमेरका कारण उनले चिया पकाउन छोडेका छन्, तर नियमित पसलमै हुन्छन् । साहिँली छोरीले सबै सम्हालेकी छन् । अब पुरै जिम्मा छोरीलाई नै दिने सोचमा छन् ७३ वर्षिय बिष्ट ।

चिया–नास्ता पसल चलाएर बालबच्चा हुर्काउँदा, पढाइलेखाइ गराउँदा आफूले नगद बचत गर्न नसकेको उनी बताउँछन् । पुर्ख्यौली जमिनमा एक तले घर बनाउँदा पनि अलिकति ऋणै लागेको उनले बताए ।

‘तर, एउटा पत्रिकाले त्रिविमा चिया बेच्ने नानीकाजी बिष्टको तीन वटा घर छ भनेर लेखिदिएछ’, उनी हाँसे, ‘त्यसलाई धेरै धन्यवाद !’

उनको अनुभवमा, पहिलाका विद्यार्थीहरु प्रायः आर्थिक अभावमा हुन्थे । कतिले भोक लाग्दा उधारो खाएको चिया–खाजाको पैसा चाहेर पनि तिर्न सक्तैनथे । ‘अहिलेका विद्यार्थीलाई पैसाको दुःख छैन’, बिष्ट भन्छन्, ‘यिनीहरुले उधारो पनि माग्दैनन् ।’

शेरबहादुर देउवा, पीएल सिंह लगायत केही विद्यार्थीले उतीबेला खाएको चिया–खाजाको पैसा धेरै वर्षपछि पठाइदिएको उनले बताए । ‘अझ धेरैले तिर्न बाँकी थियो’, बिष्टले भने, ‘अब त तिर्दैनन् भनेर चुरोटको खोलमा टिपेर राखेको नामहरु पनि फालिदिएँ ।’

यतिका वर्ष त्रिवि परिसरमा बिताएका बिष्टको अर्को अनुभव छ– अहिलेका विद्यार्थी अभद्र छन्, शिक्षकलाई समेत आक्रामण गर्छन् ।

‘पहिला आपसमा जति लडेपनि आफूलाई पढाउने शिक्षकमाथि हमला गरेको थाहा थिएन’, उनी भन्छन्, ‘अहिले त दुई–तीन पटक भयो, मास्टरलाई कुटि सके । यो त सारै नै बेथिति भयो ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment