
२९ कात्तिक, काठमाडौं । आगामी साताबाट इजरायल जाने नेपाली श्रमिकलाई नेपाल एयरलाइन्सको जहाजबाट लैजानेबारे छलफल शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा यस्तो छलफल भएको हो ।
पर्यटनमन्त्री आलेको सचिवालयका अनुसार भेटका क्रममा आगामी दुई साताभित्र कम्तिमा एक हजार नेपाली श्रमिक इजरायल जाने भन्दै त्यसका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज भाडामा लिनेबारे छलफल भएको हो । भेटको क्रममा राजदूत गोदरले यस्तो इच्छा व्यक्त गरेको सचिवालयले जनाएको छ ।
इजरायल–भैरहवा उडानको प्रस्ताव
भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको समेत जानकारी गराएको सचिवालयले जनाएको छ ।
भेटवार्तामा राजदूत गोदरले इजरायल र काठमाडौं बीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन समेत दिएका छन् । राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका छन् ।
मन्त्री आलेले नेपाल र इजरायल बीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको जानकारी राजदूत गोदरलाई गराएका थिए ।
असमान भाडादर घटाउन सुझाव
भेटमा नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपाली बीच रहेको असमान हवाई भाडादरका विषयमा समेत कुराकानी भएको छ । सो क्रममा मन्त्री आलेले भाडा घटाउन पहल गर्ने बताएका छन् ।
मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटूजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरेका छन् । यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिएका छन् ।
राजदूत गोदरले ड्राइभ इन सिनेमा (गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रविधि) नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेट लामो इजरायली फिल्म हेर्न मन्त्री आलेलाई निमन्त्रण समेत गरेका छन् ।
प्रतिक्रिया 4