+
+

हिमपहिरो : सय वर्षमा ३७२ जनाले ज्यान गुमाए

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ कात्तिक २९ गते १७:५०
आइतबार मुस्ताङमा गएको हिमपहिरो

२९ कात्तिक, काठमाडौं । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरो गयो । मानापाथी हिमालबाट खसेको हिमपहिरोमा कुनै मानवीय क्षति नभए पनि जंगलमा चराउन लगिएका १५० याक र नाक हिमपहिरोका कारण बेपत्ता भएको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष नरप्रसाद हिराचन बताउँछन् ।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरीकोटको शिरमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । हिमपहिरोपछि भागदौड हुँदा एक दर्जन स्थानीय घाइते भएका छन् ।

आइतबारको हिमपहिरोबाट प्रभावित नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिमपहिरोले क्षति पुगेको स्थानीयले बताएका छन् । आखिर हिमपहिरो किन र कसरी जान्छ त ?

सन् १९२२ देखि सन् २०२० सम्मको अध्ययन रिपोर्ट अनुसार हिमपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति सगरमाथा क्षेत्रमा भएको देखिन्छ । रेकर्ड भएका कुल ३७२ जनाको मृत्युमध्ये ३२४ जनाको ज्यान सगरमाथा क्षेत्र आसपासमा नै गएको रिपोर्टमा उल्लेख छ ।

सामान्यतया कम तापक्रम हुने हिमाली भेगमा एकै ठाउँमा धेरै हिउँ थुप्रिएपछि त्यो कुनै न कुनै बेला अस्थिर भएर पहिरो खस्नु नै हिमपहिरो हो । भिरालो क्षेत्रमा धेरै हिउँ जम्मा हुँदा एकैपटक हिउँ खसेर बेलाबेलामा ठूलो धनजनको क्षति पुग्ने गर्छ । हिमपहिरोमा ९० किलोमिटर प्रतिघण्टासम्मको गतिमा हिउँ बग्ने गर्छ । यो भौगोलिक अवस्था अनुसार तलमाथि हुन्छ । हिमपहिरोबारे पूर्वानुमान गर्न नसक्ने भएकाले यसबाट अनपेक्षित रुपमा ठूलो मानवीय क्षति समेत पुग्ने गरेको विगतका तथ्यांकहरुले देखाउँछन् ।

आइतबार मुस्ताङमा गएको हिमपहिरोको प्रकृति हेर्दा यो जलवायु परिवर्तनका कारण गएको हो कि भनेर आशंका गर्न सकिने जानकारहरूको बुझाइ छ । ठकुरी भन्छन्, ‘अहिले हिमपात बढिसकेको छैन । यो अवस्थामा हिमपहिरो जानुलाई जलवायु परिवर्तनको असर मान्न सकिन्छ । यद्यपि यसबारे विस्तृत अध्ययन गरेर के कारणले हिमपहिरो गएको हो ? भन्ने यकिन गर्न सकिन्छ ।’हिमताल र हिमनदी सम्बन्धी अध्ययन अनुसन्धानमा सक्रिय त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक सुदीप ठकुरी (पीएचडी) हिमालमा हिमपहिरो जाने दुई मुख्य कारण रहेको बताउँछन् । पहिलो त प्राकृतिक हिसाबले धेरै हिउँ जम्मा हुँदा हिउँको ठूलो हिस्सा पहिरोको रुपमा खस्ने गर्छ । अर्काेतर्फ जलवायु परिवर्तनले पनि हिमपहिरोको सिर्जना गराउन सक्छ । जलवायु परिवर्तनका कारण तापक्रम बढेपछि पानी सतहमा पुग्दा हिउँ नअडिएर पनि हिमपहिरो जाने गरेको उनी बताउँछन् ।

सय वर्षमा हिमपहिरोमा ३७२ जनाको मृत्यु

नेपालमा पछिल्लो एक शताब्दीको अवधिमा ६० वटा ठूला हिमपहिरोको रेकर्ड गरिएको छ । जसबाट ३७२ जनाको ज्यान गएको विभिन्न अध्ययनको तथ्यांकमा उल्लेख छ । सरकारी एवं गैरसरकारी सरोकारवाला निकायले तयार पारेको तथ्यांकको आधारमा ‘ग्लासिकल हाजार्ड एण्ड एभलेचेज इन हाइ माउन्टेन अफ नेपाल हिमालय’ नामक अनुसन्धानमूलक आलेखमा जलवायु परिवर्तनले गर्दा पछिल्ला दशकहरुमा हिमपहिरोको जोखिम बढेको अध्ययनको निष्कर्ष छ । यो अध्ययन त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक सुदीप ठकुरी (पीएचडी) सहित त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागमा कार्यरत राजु चौहान र सोही विभागमा कार्यरत प्रेसिका बास्कोटाले गरेका थिए ।

सो आलेखमा सन् १९२२ देखि २०२० सम्मको तथ्यांक समेटिएको छ । जर्नल अफ टुरिजम एण्ड हिमालय एड्भेन्चर नामक जर्नलमा सन् २०२० को जुनमा प्रकाशित सो रिपोर्ट अनुसार साना-ठूला गरी पछिल्लो एक दशकको समयलाई हेर्दा कुल ६५ वटा हिमपहिरो गएका छन् । जसमध्ये २०१२ मा ९, २०१३ मा ८, २०१४ मा १६, २०१५ मा २३, २०१७ मा एउटा र २०१९ मा ८ वटा हिमपहिरो गएको देखिन्छ । तर यी सबै हिमपहिरोमा मानवीय क्षति भएको रेकर्ड भने भेटिँदैन । ठकुरी भन्छन्, ‘हिमपहिरो समय-समयमा गइरहने प्राकृतिक प्रकोप हो । तर, मानवीय क्षति पुगेको हिमपहिरोमा मात्रै चासो धेरै हुने भएकाले नियमित गइरहने हिमपहिरो समाचारको विषय नबन्ने गरेको उनी बताउँछन् ।

हिमपहिरोबाट धेरै क्षति सगरमाथा क्षेत्रमा

सन् १९२२ देखि सन् २०२० सम्मको अध्ययन रिपोर्ट अनुसार हिमपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति सगरमाथा क्षेत्रमा भएको देखिन्छ । रेकर्ड भएका कुल ३७२ जनाको मृत्युमध्ये ३२४ जनाको ज्यान सगरमाथा क्षेत्र आसपासमा नै गएको रिपोर्टमा उल्लेख छ । तर, हिमपहिरो सगरमाथा क्षेत्रमा मात्रै धेरै जाने नभएर धेरै मानवीय क्षति भएकोले यो क्षेत्रको रेकर्ड धेरै राखिएको ठकुरी बताउँछन् । सन् १९२२ देखि २०२० सम्म नेपालका विभिन्न हिमशृंखलामा गएका मानवीय क्षति पुर्‍याएका हिमपहिरो र त्यसबाट भएको मानवीय क्षति तल उल्लेख गरिएको छ :

हिमपहिरो जाने प्राकृतिक र मानवीय कारण हुन्छन् । बढी हिमपात हुने र हावाले गति परिवर्तन गर्दा पनि हिमपहिरो जाने गर्छ ।

-सन् १९५२ मा सगरमाथामा नै गएको पहिरोमा परी एक जनाको ज्यान गयो ।-सन् १९२२ मा सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा परी ७ जनाको ज्यान गयो ।

-सन् १९७२ मा मनास्लुमा गएको १५ जनाको ज्यान गयो ।

-त्यसको एक वर्षपछि सगरमाथामा गएको हिमपहिरोमा परी ९ जनाको ज्यान गयो ।

-त्यस्तै सन् १९७९ मा गएको हिमपहिरोमा परी ८ जनाको ज्यान गयो ।

-सन् १९८० मा सगरमाथामै गएको हिमपहिरोमा परी ६ जनाको ज्यान गयो । १० जनाको ज्यान गयो । १९८२ मा सगरमाथामा गएको पहिरोमा परी ७ जनाको ज्यान गयो ।

-१९८४ गएको हिमपहिरोमा परी खुम्बुमा ३ जनाले ज्यान गुमाए ।

-१९८७ मा सगरमाथा आधारशिविरमा गएको हिमपहिरोमा परी २ जनाले ज्यान गुमाए । क्लाइम्बर क्याम्प २३६२५ फिटमा सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २ जनाले ज्यान गुमाए ।

-सन् १९८९ मा सगरमाथामा गएको हिमपहिरोमा परी २० जनाको ज्यान गयो ।

-सन् १९९० मा गएको पहिरोमा परी सगरमाथा क्षेत्रमै ६ जनाको ज्यान गयो । सन् १९९१ मा सगरमाथा परिसरमा ८ जनाको ज्यान गयो ।

-खुम्बु क्षेत्रमा १९९२ मा २ जनाको ज्यान गयो ।

-सन् १९९४ मा सगरमाथामा २ जनाको ज्यान गएको छ ।

-सन् १९९५ मा खुम्बु क्षेत्रमा नै ४८ जनाको ज्यान गयो ।

-सन् १९९६ मा ल्होत्सेतर्फ गएको हिमपहिरोमा परी ९ जनाको ज्यान गयो ।

-सगरमाथा क्षेत्रमा सन् १९९७ मा गएको हिमपहिरोमा परी १९ जनाको ज्यान गयो ।

-सन् १९९८ मा सगरमाथामा गएको हिमपहिरोमा ६ जनाको ज्यान गयो ।

-सन् १९९९ मा सगरमाथा क्षेत्रमा गएको पहिरोमा ६ जनाको ज्यान गयो ।

-सन् २००५ मा गएको हिमपहिरोमा परी २१ जनाको ज्यान गयो ।

-सन् २००६ मा गएको हिमपहिरोमा परी सगरमाथाको खुम्बु क्षेत्रमा नै ३ जनाको ज्यान गयो ।

-सन् २००७ मा गएको हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा नै ६ जनाको ज्यान गयो ।

-सन् २००९ मा खुम्बुमा गएको हिमपहिरोमा परी २ जनाको ज्यान गएको छ ।

-सन् २०१० मा बरुत्सेमा गएको हिमपहिरोमा परी २ जनाको ज्यान गयो ।

-सन् २०१२ मा मनास्लु पिकमा गएको हिमपहिरोमा परी ९ जनाको ज्यान गएको छ ।

-सन् २०१३ सगरमाथा हिमाल ८ जनाको ज्यान गयो ।

-सन् २०१४ मा मनाङ र मुस्ताङका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी ५९ जनाको ज्यान गयो ।

-सन् २०१५ मा सगरमाथाको बेसक्याम्पमा गएको हिमपहिरोमा परी २३ जनाको ज्यान गयो ।

-सन् २०१७ मा डोल्पामा गएको हिमपहिरोमा परी एक जनाको ज्यान गयो ।

-सन् २०१८ मा धवलागिरि हिमालमा गएको हिमपहिरोमा परी ९ जनाको ज्यान गयो ।

-सन् २०१९ मा अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरोमा परी ८ जनाको ज्यान गयो ।

-सन् २०२० को मार्चसम्म ७ जनाले हिमपहिरोमा परी ज्यान गुमाए । त्यो हिमपहिरो अन्नपूर्ण पदमार्गमा नै गएको थियो ।

किन जान्छ हिमपहिरो ?

हिमालमा मुख्यतया हिमपहिरो जाने प्राकृतिक र मानवीय कारण हुन्छन् । बढी हिमपात हुने र हावाले गति परिवर्तन गर्दा पनि हिमपहिरो जाने गर्छ । यसबाहेक विभिन्न विकासे कामले हिमालमा कम्पन उत्पन्न गर्ने एवं मानवीय गतिविधि बढ्दै जाँदा पनि हिमपहिरोको जोखिम बढ्ने गरेको ठकुरी बताउँछन् ।

क्यानडाको सिमोन फ्राजर विश्वविद्यालयले गरेको एक अध्ययनले हिमपहिरो जानुमा मुख्यतया ७ वटा कारण जिम्मेवार रहेको देखाएको छ । जसमध्ये एउटा हो हिमआँधी एवं हावाको गति । हिमपहिरोको दोस्रो कारण उच्च हिमपात हो । कमजोर ठाउँमा बढी मात्रामा हिमपात हुनु पनि हिमपहिरोको कारण रहेको विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ ।

विश्वविद्यालयको रिपोर्टअनुसार मानवीय गतिविधि, तरंग एवं हिउँको तहले पनि हिमपहिरोलाई प्रभावित बनाउँछ । यसबाहेक भिरालो ठाउँ तथा बढी तापक्रम पनि हिमपहिरो जाने कारण रहेको विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?