+
+
संघर्षको कथा :

मर्दी हिमाल पदयात्रालाई तन्नेरी बनाउने सुदीप

संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, ‘सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।’

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ मंसिर ५ गते १९:३३

५ मंसीर, काठमाडौं । दशैं-तिहारको बीचमा झरीको पर्वाह नगरी सयौं नेपाली मर्दी हिमाल पदयात्रामा निस्किए । हरेक दिन २०० देखि ५०० सम्म पर्यटक भ्यू पोइन्ट पुगे र, मर्दीसँगै अन्नपूर्ण हिमशृंखलालाई नजिकबाट नियालेर फर्किए ।

पछिल्ला वर्षहरूमा पर्यटकीय मौसममा कुनै मेलाभन्दा कम भीड हुँदैन मर्दी हिमालको काखमा ।

तर झण्डै एक दशक अगाडि यहाँको दृश्य फरक हुन्थ्यो । मर्दी हिमालको सेरोफेरो पशुपालन गर्ने ठाउँ हो । भेडा, भैंसी, चौंरी र याकहरू चर्थे । निर्वाहमुखी पशुपालनमा अभ्यस्त थिए स्थानीय । चिसो मौसममा बेसी झर्ने र गर्मीमा खर्क उक्लने । एकप्रकारको ‘सिफ्टिङ कल्टिभेसन’ चलिरहेको थियो ।

सिदिङ, घलेल लगायत नजिकका गाउँबाट भेडा, बाख्रा र भैंसी खर्क राख्न ल्याइन्थ्यो ।

हिमाल टाढाबाट राम्रो देखिने हो । कहिलेकाहीं नजिक हुन पनि रमाइलो हुन्छ । तर हिमालसँगै जीवन बिताउन कठिन छ । यो कठोर अवस्थालाई सहज बनाउन मर्दी हिमाल पदयात्रा शुरू गराउने अग्रणीमध्ये एक हुन्- व्यवसायी सुदीप गौतम ।

उनले कुनै समय स्विट्जरल्याण्ड गएर त्यहाँको हिमाल र हिमाल जस्तै अग्लो समृद्धिसँग रमाउने सपना देखेका थिए । अहिले स्विट्जरल्याण्ड लगायत विदेश तथा स्वदेशका पाहुनालाई मर्दीको यात्रा गराउन दत्तचित्त भएर मिहिनेत गरिरहेका छन् ।

त्रुटिले सच्याएको जीवन

उनी जन्मिएको, हुर्किएको र बाबु-बाजेको कर्मथलो कास्कीको माछापुच्छ्रे गाउँपालिका पर्यटनका लागि उर्बर थियो । बिहान ब्यूँझदा हिमाल देखिने, बेलुका निदाउने बेला पनि हिमाल देखिने । त्यही हिमाल हेर्न आउने पर्यटकले उनलाई तान्थ्यो । किनकि पर्यटकहरूले बोल्ने अंग्रेजी भाषाप्रति उनको मोह थियो ।

सैंतीघट्टमा अवस्थित स्कूल पुग्न हिंडेर दुई घण्टा लाग्छ सिदिङबाट । अर्थात् विद्यालय शिक्षा लिन उनलाई दैनिक चार घण्टा हिंड्नुपथ्र्यो । पर्यटक झर्दैछन् भन्ने थाहा पाएपछि सुदीप स्कूल ‘बङ्क’ गर्दै बाल्टिनमा चिसो पानी, पेयपदार्थ बोकेर पर्यटकसँग घुलमिल हुन्थे ।

माध्यमिक तहको पढाइ सकिएपछि पीएन क्याम्पसमा शिक्षा संकायमा पढ्न थाले । त्यसक्रममा उनले हस्पिटालिटी म्यानेजमेन्ट पढ्न स्विट्जरल्याण्ड जाने योजना बनाए तर, यही सपनासँग जोडिएको नतिजा बिगि्रयो । जीवनमा कहिल्यै द्वितीय नभएका उनको नजिता नराम्रो आयो ।

यसले उनको जीवनको बाटो मोडियो । स्विट्जरल्याण्ड जाने प्रयास असफल भएपछि जन्मियो आˆना पिताले गोठ चलाउने खर्कमा टी-हाउस चलाउने योजना ।

सुदीपले खर्कतिर आएर पसिना मात्र बगाएनन् मर्दीको ट्रेकको प्रवर्धन गर्न पर्यटन व्यवसायीदेखि सरोकारवाला निकायसम्मको ढोका ढक्ढक्याउन थाले । उनको जीवनसँग पर्यटनको तार चुँडाउन नमिल्ने गरी जोडिएपछि एउटा खबर आयो । उनी फेल भएको त प्राविधिक त्रुटिका कारण रहेछ । त्रिभुवन विश्वविद्यालयले नतिजा सच्यायो तर सुदीपले जीवनमा आफूले तय गरेको बाटो सच्याएनन् । उनी मर्दी हिमाल ट्रेकलाई प्रवर्धन गर्न दत्तचित्त भएर लागिरहे । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

अत्यासलाग्दो समयको सम्झना

माछापुच्छ्रे र मर्दी हिमाल ।

आजभोलि मर्दी हिमाल पदयात्रामा निस्कने पदयात्रीलाई लाग्न सक्छ- यहाँ सबथोक छ । खाना/नास्ता खानुपर्ने तथा बास बस्नुपर्ने ठाउँमा होटलहरू छन् । रुटहरू बनेका छन्, हिंड्न सहज होस् भनेर सिंढीहरू बनाइएको छ । ठाउँ-ठाउँमा बोर्डहरू छन्, जसले तपाईंलाई गन्तव्यसम्म पुग्न कति बाँकी छ भन्ने बताउँछ ।

तर अहिलेको अवस्थासम्म आइपुग्न सहज थिएन । नेपालमा हिमाललाई पर्यटनसँग जोड्ने र ट्रेकिङ रुटहरू शुरू गर्ने प्रायः विदेशी नै हुन् । मर्दीमा पनि आक्कलझुक्कल पर्यटक पुग्थे । ‘सन् १९९० तिर अलिअलि प्रवर्धन हुनथाल्यो, विदेशी स्वामित्वको हिमालयन काउन्टर भन्ने कम्पनीबाट’ सुदीप भन्छन्, ‘पहिलोपटक रुट हेर्न आउँदा गोठ बसेका हाम्रा बाबाहरूसँग भेट भयो । पर्यटक आउन थालेपछि बास्केटमा राखेर कोक, फेन्टा लगायत सामग्री बेच्न उनीहरूले नै भने । हाम्रा बाहरूले यसरी व्यवसाय शुरू गर्नुभयो ।’

उनका अनुसार शुरू-शुरूमा घर थिएन, पर्यटकका लागि ल्याएका सामग्रीहरू खाल्डो खनेर गाडेर राख्ने र आउँदा निकालेर बेच्ने गरिन्थ्यो । ओढारमा रात काट्नुपथ्र्यो । आवश्यकता महसूस हुँदै जाँदा पर्यटकहरूको मागअनुसार स्थानीयले टेन्ट राख्ने ठाउँ सम्याउन थाले । तर लगत्तै माओवादी सशस्त्र विद्रोह शुरू भएपछि नेपालको पर्यटन क्षेत्र लथालिङ्ग भयो, टेन्टका लागि सम्याइएको ठाउँमा घाँस पलायो ।

२०६२/६३ मा जनआन्दोलनको सफलतासँगै सशस्त्र विद्रोह औपचारिक अन्त्य हुँदै गर्दा सुदीप अगाडि सरे । हाई क्याम्पमा टी हाउस खोल्ने निर्णय लिए । कम्तीमा पर्यटकले बास बस्ने ठाउँ पाए टेन्ट बोकेर त आउनुपर्दैन भन्ने लाग्यो ।

भर्खरको केटो, धितो पनि छैन । बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउने कुरै थिएन । त्यतिबेला उनीसँग थियो, पिताले मलेशियामा पसिना बगाएर ल्याएको ४४ हजार रुपैयाँ । सुदीप भन्छन्, ‘आफन्त साथीभाइसँग ऋण लिएर काम थालें । हाई क्याम्पमा ८ कोठाको घरसहित संरचना बनाउँदा २९ लाख खर्च भयो ।’

भर्खरको केटो, धितो छैन । बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउने कुरै थिएन । त्यो सकस सम्झँदै सुदीप भन्छन्, ‘आफन्त साथीभाइसँग ऋण उठाएर हाइक्याम्पमा ८ कोठाको घर सहितको संरचना बनाइसक्दा २९ लाख रुपैयाँ खर्च भयो ।’ अहिले पनि उनको ८ कोठे घर छ, त्यसबेला बनाएको टी-हाउस २०७२ को विनाशकारी भूकम्पले भत्काएपछि नयाँ बनाएका हुन् ।

सुदीप आफूले मात्र टी हाउस खोलेनन्, ट्रेकिङ रुटका विभिन्न स्थानमा आफन्त र साथीभाइलाई घर बनाउन प्रेरित गर्न थाले । लो क्याम्पका काकालाई उनले दुईकोठे घर बनाउन आग्रह गरे, फरेस्ट क्याम्पतिर चिनेका अग्रजहरूलाई टी-हाउस बनाउन आग्रह गरे । उनकै आग्रहमा क्रमशः मानिसले टी हाउसहरू बनाए ।

तर नयाँ रुट भएकाले न पर्यटकहरू पर्याप्त थिए, न गएका पर्यटकलाई दिने स्रोत-साधन जुटाउन सहज थियो । जब पर्यटक आउन लागेको खबर आउँथ्यो, सामान ओसार्ने हतारो हुन्थ्यो । अहिले त खच्चरले बोक्छन् सामान । सुदीप शुरुआती दिन सम्झन्छन्, ‘बुवा र म टी-हाउस चलाउन दुई जनाको भारी खप्ट्याएर बोक्थ्यौं । पानी समेत तल -सिदिङ)बाट ड्रममा बोकेर लैजानुपर्थ्यो ।’

पाहुना नआउँदा स्थानीयहरू आत्तिन्थे । सुदीपलाई कराउँथे पनि । पर्यटक दुई सिजन मात्र आउने, बाँकी समय होटल रुँगेर बस्नुपथ्र्याे । ऋणको भारी बोकेर होटलमा ताला लगाएर कसरी बस्नु ? सुदीप आफैं पनि बेलाबेला सोच्न बाध्य हुन्थे । बाबाहरू जस्तै विदेशिनु पो पर्छ कि भन्ने भयले सताउँथ्यो ।

र पनि, उनी धैर्यका साथ काममा लागिरहे । अरूलाई पनि धीर रहन सिकाए । मर्दी ट्रेकिङ रुटको प्रवर्द्धनका लागि ब्रोसर, पम्प्लेट लगायत प्रचार सामग्री बोकेर उनी काठमाडौंदेखि पोखरासम्म दौडिए । टान होस् वा अन्य पर्यटन सम्वद्ध निकायको भेला-अधिवेशनमा उनी ब्रोसर, पम्प्लेट बोकेर पुगिहाल्थे । मेला-महोत्सव छुटाउँदैनथे । अथक् मिहिनेत गरेर मर्दी ट्रेकबारे धेरैलाई बुझाए ।

यसले सिंगो गाउँ नै बहुआयामिक ढंगले लाभान्वित हुन थाल्यो । ‘हाम्रा साग-सिस्नुले बजार पाउन थाले, स्थानीय उत्पादनको प्रवर्द्धन भयो’ उनी भन्छन्, ‘स्थानीयले रोजगारी पनि पाउन थाले । विस्तारै स्थानीय अर्थतन्त्र चलायमान हुन थाल्यो ।’ पहिला लेक भनेर चिनिने सिदिङका जनताले नयाँ-नयाँ व्यवसायमा हात हाल्न थाले । भेडीगोठहरू होटलमा फेरिए । भैंसीको दूध कफी र चिया बनेर बिक्न थालेको छ । जंगली वनस्पतिहरू अचारमा परिणत हुनथाले ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समिति भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता नै भयो । त्यसको नेतृत्व सुदीपले नै गरे । त्यसपछि वर्षमा दुईपटक सरसफाइ सप्ताह भनेर देउरालीदेखि माथि सफाइ गर्ने काम भयो । पर्यटकबाट लिएको पैसाको ६० प्रतिशतदेखि शतप्रतिशतसम्म बाटो बनाउन लगानी गरेको उनले बताए । शुरुमा सरकारी संलग्नता र सहयोग भएन । पछिल्लो समय भने स्थानीय सरकारले पनि सघाइरहेको सुदीप बताउँछन् ।

फरेस्ट क्याम्प, लो क्याम्प र हाई क्याम्पको पदमार्गको पूर्वाधार निर्माणमा जम्मा ६ जना व्यवसायीले बिर्सनै नसकिने योगदान गरेको सुदीप बताउँछन् । ‘मैले अगुवाइ गरें, अरूले सहयोग गरेका छन्’ उनी बाटो बनाउँदाको व्यथा सम्झँदै भन्छन्, ‘बाटो देखाउने संकेतहरू बनाउने पैसा पनि हुँदैनथ्यो । फरेस्ट क्याम्पसम्म आउँदा धेरै मानिस हराउँथे । दुई डिब्बा रङ किनेर रूखहरूमा एरो बनाउँथ्यौं । टिन किनेर हामी आफैं मार्किङ गथ्र्याैं । बाटो खन्थ्यौं ।’

अनि लाग्यो आन्तरिक पर्यटकको लर्को

मर्दीमा अहिले अधिकांश आन्तरिक पर्यटक भेटिन्छन् । उनीहरूको भीडमा विदेशी पाहुना हराउँछन् । यो ‘ट्रेन्ड’ रातारात चलेको होइन । सुदीपको अनुभवमा २०७२ सालको महाभूकम्प अगाडि विदेशबाट फर्किएका एकाध नेपाली ट्रेकिङमा निस्कन्थे । भूकम्पपछि अन्यत्र जस्तै मर्दीमा नेपाली पदयात्री हृवात्तै बढ्यो ।

मर्दी ट्रेक चर्चित हुनुको जस सोसल मिडिया एक्टिभिज्मलाई पनि दिन्छन् सुदीप । ठमेलको बारमा गर्ने खर्चले पदयात्रा नै गर्न सकिन्छ भन्ने बुझाइ विकसित भएपछि नयाँ ट्रेन्ड आएको सुदीप बताउँछन् । ‘सुरक्षाको हिसाबले पनि यो रुट सही छ । हिमपहिरो र पहिरोको डर छैन । डाँडैडाँडा हिंडिरहँदा ३६० डिग्रीमा हिमालको दृश्य देखिन्छ’ उनी भन्छन्, ‘यहाँबाट अन्नपूर्ण बेसक्याम्पबाट देखिने सबै ट्रेकिङ ट्रेल हेर्न सकिन्छ । घान्द्रुक घोरेपानी ट्रेकदेखि मोडल ट्रेकसम्म सबै देखिन्छ । पोखरा भ्याली पनि यहाँबाट नजिकै छ ।’

आजकल सिजनमा दैनिकजसो तीनदेखि पाँच सयसम्म पर्यटक भ्यू पोइन्ट पुग्छन् । हरेक दिन झिसमिसेमा राँके जुलूस जस्तो लस्कर हाई क्याम्पबाट भ्यू पोइन्ट पुग्छन् । कतिपय मर्दी बेसक्याम्पसम्म जान्छन् र आनन्दित भएर फर्किन्छन् ।

पायोनियरको पहिचान

संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, ‘सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।’

सुदीप भने आफू मात्र होइन, मर्दी ट्रेकिङ रुटसँग जोडिएका सबैलाई यसको श्रेय दिन रुचाउँछन् । हिजोका दिन संघर्षमय भए पनि आज गाउँका सबैको अनुहारमा खुशी छाएकोमा उनी प्रफुल्ल छन् । ‘आज धेरैले मर्दी हिमाललाई चिनेका छन्, नजिक आएर हेरेका पनि छन्’ सुदीप भन्छन्, ‘हजुरबाहरूले गोठ राख्ने ठाउँमा यति धेरै पर्यटन पूर्वाधार बनेको छ । ६०-७० भन्दा बढी गेस्टहाउस बनेका छन् । झण्डै ३०० मानिसले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । बाटाभरि पर्यटकको लर्को देख्दा मलाई हुने आनन्दानुभूति अमूल्य छ ।’

भविष्यको भिजन

सुदीपले स्नातकोत्तरमा दर्शनशास्त्र रोजे । यो हिमाली उकालो ओरालोमा पुस्तक उनका साथी हुन् । एकान्तमा बस्दा उनी विगतको समीक्षा र आगतको परिकल्पना गर्छन् ।

हाई क्याम्पको टी हाउससँगै सिदिङमा सुविधासम्पन्न होटल चलाएका उनलाई आर्थिक दृष्टिले पनि राम्रै भएको छ । त्योभन्दा ठूलो आफूले सामाजिक उत्तरदायित्व पनि पूरा गरेको उनी बताउँछन् । सुदीप अहिले नाफाको १० प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्छन् । उनले सिदिङमा स्वास्थ्य चौकी बनाउन जग्गा दान गरे, जहाँ दुई जना स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा दिन्छन् ।

तर डोजरे विकासले नेपालका सबै पदमार्ग छोटिंदै गएकोमा सुदीप चिन्तित छन् । किनकि यसले ट्रेकिङ रुटहरूलाई मात्र असर गरेको छैन, पर्यटकको बसाइ छोट्टएिको छ ।

तथापि सुदीपले हार मानेका छैनन् । उनी मर्दीलाई दिगो पर्यटन गन्तव्य बनाउन चाहन्छन् । उनकै पहलकदमीमा यो रुटमा ‘मिनरल वाटर’ प्रतिबन्ध छ । शुरुमा कसैले लागू नगरेपछि आफैं अगाडि सरे । पानी फिल्टर गरेर/तताएर बोतलमा बेच्न थाले । बजारको पानीको २०० पर्थ्यो, यसको १०० रुपैयाँ । पर्यटकले पनि त्यही रुचाएपछि सबैले उनकै अनुसरण गर्न थाले ।

उनले अहिले हरिया रूख नकाट्ने अभियान चलाएका छन् । दाउरा र ग्याँसको विकल्प खोजी भइरहेको छ । ‘विकासका नाममा हुने विनाश रोक्नुपर्‍यो’ उनी भन्छन्, ‘जलवायु संकटले हिमाल आफैं संकटमा छ । हिमाल नरहे हाम्रो अवस्था कस्तो होला ?’

‘पोलिसी सिफ्ट’को पनि बहस चलाइरहेका छन् उनी । अबको गाइड कस्तो हुनुपर्छ भन्ने बहस गर्नुपर्ने उल्लेख गर्दै सुदीप भन्छन्, ‘पदयात्रामा आउँदा त्यहाँ पाइने वन्यजन्तु, वनस्पति, संस्कृति, परम्परा, प्राचीन र ऐतिहासिक तथ्यहरू भन्न सक्नुपर्‍यो । ताकि सबै सूचना पाएर पर्यटक प्रफुल्ल होउन् ।’

भविष्यका अरू योजनाका खाका पनि बन्दैछ । अहिले पुनः इन्नोभेसन एण्ड टुरिज्ममा स्नातकोत्तर गरिरहेका सुदीप पर्वतारोहण पर्यटनका विद्यार्थीको प्रयोगात्मक शिक्षा र मर्दी रुटबीच साइनो जोड्न चाहन्छन् । मर्दीको काखमा पूजनीय बराह मन्दिर छ । त्यसैले उनी धार्मिक पर्यटनलाई मर्दी पदयात्रासँग जोड्न चाहन्छन् ।

‘म त नेपालका हरेक डाँडामा पैसा उडिरहेको देख्छु । सेवामुखी भन्दा उत्पादनमा आधारित पर्यटनलाई प्रवर्धन गरौं’ कुराकानीको बिट मार्दै सुदीप भन्छन्, ‘धैर्य, सहनशीलता र निरन्तरता हुनुपर्छ, एकदिन अवश्य सफलता मिल्नेछ ।’

तस्वीरहरु: आर्यन धिमाल 

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?