+
+

सुर्खेतमा विद्यालय बन्द गरेर कांग्रेसको चुनाव

यज्ञ खत्री यज्ञ खत्री
२०७८ मंसिर ७ गते १४:३४

७  मंसिर, सुर्खेत । नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ ।

विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ ।

विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले बताए । ‘स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो,’ सापकोटाले भने ।

प्रचार्य सापकोटाले अघि भने, ‘हामीले आजको विदालाई स्थानीय विदा भनेका छौं । स्कुलले पनि स्थानीय विदा दिन पाउने अधिकार छ । अब मेयरसाबले नै निर्देशन दिएपछि हाम्रो के लाग्छ र ?’

उक्त विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालय नै बन्द गराएर एउटा अमुक पार्टीको चुनाव गराउनु गलत भएको विद्यार्थी नेता जगत ढकाल बताउँछन् । ‘एउटा पार्टीको चुनावका लागि विद्यालय नै बन्द गर्नु सरासर गलत हो, यो प्रदूषित राजनीतिको उपज हो,’ ढकालले भने, ‘यस्ता गतिविधि रोखिनु पर्छ ।’

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, दलगत राजनीति तथा अन्य सभा सम्मेलन गर्न नपाइने उल्लेख छ । त्यस्तै दलीय राजनीति तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ ।

माओवादी केन्द्रको विरोध

नगरपालिकाले स्थानीय बिदा दिएर विद्यालयमा कांग्रेसको निर्वाचन कार्यक्रम राखेपछि नेकपा माओवादीको पञ्चपुरी गाउँ समितिले विरोध जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी उसले विद्यालय बन्द गरेर कुनै एक पार्टीको चुनाव गरिनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत र राजनैतिक दादागिरी भनेको छ ।

‘करिव १३०० विद्यार्थीको प्रत्यक्ष भविष्यसँग जोडिएको प्रथम त्रैमासिक परीक्षा चलिरहेको अवस्थामा विद्यालय नै बन्द गर्न लगाई लोकतान्त्रिक मूल्य मान्यता र संविधानकै धज्जी उडाउँदै देखाएको राजनैतिक दादागिरी प्रति कडा आपत्ति प्रकट गर्दछौँ’ माओवादी केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?