+
+

सुन तस्करी हुने आशंकामा त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १६:३२
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । जसका कारण विमानस्थल भन्सारमा ठूलो भिड लागेको छ ।

सोमबार दुबई, कतार र मलेसियाबाट नेपाल आएका झण्डै दुई सय यात्रुहरुलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गरिरहेको छ । भिडका कारण बिहान काठमाडौं ओर्लिएका यात्रुहरु अझै विमानस्थलबाट बाहिर निस्कन सकेका छैनन् ।

विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा उनीहरुमाथिको जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । ‘झिटी गुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो, बिहान अलि भीड थियो साँझ झनै बढ्न सक्छ,’ भन्सार प्रमुख भट्टराईले अनलाइनखबरसँग भने ।

रोजगारीबाट फर्किएका नेपालीहरुलाई तस्करहरुले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पछि नियम भन्दाबाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे । झिटीगुन्टा नियमअनुसार गहनाको रुपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुलाई राजस्व तिर्नु पर्दैन । तर, सो भन्दाबढी २ सय ग्रामसम्म गहनाको रुपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ ।

यस्तै ५० ग्राम वा सो भन्दा बढी कच्चा सुन कुनै पनि बाहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘कच्चा सुनलाई बाला जस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले भने । नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेसियाबाट आउने यात्रुहरुमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ । कोभिडको नयाँ संक्रमण फैलिन नदिन तथा अवैध सुन तस्करीको घटना बढेपछि नेपाल आउने यात्रुहरुमाथि सर्तकता बढाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?