+
+

मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

रासस रासस
२०७८ मंसिर १५ गते १३:३१
फाइल तस्वीर

१५ मंसिर, चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करीब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।

जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घूस नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।

यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?