+
+

मनोविज्ञ भन्छन्- ‘स्क्रिन’को लतले बालबालिकालाई जिद्दी बनाउँदैछ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १५:२०

१५ मंसिर, काठमाडौं । कोभिड-१९ पछि बालबालिकाको आत्महत्या दर बढेको वा मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको छ । कोभिडपछि किन बालबालिकामा आत्महत्याको दर बढ्यो वा उनीहरूको मानसिक स्वास्थ्यमा समस्या देखियो ? यसमा अभिभावकको के-कति भूमिका रहन्छ भन्ने विषयमा चिकित्सा मनोविज्ञ डा. विजय ज्ञवालीसँग गरिएको कुराकानी :

बालबालिकाप्रतिको अभिभावकत्व ठीक छ ? अथवा हाम्रो हुर्काइ शैली कस्तो छ ?

हाम्रो अभिभावकत्व शैली गलत छ । हाम्रो केटाकेटी हुर्काउने शैली गलत भइरहेको छ । हाम्रो गलत अभिभावकत्वका कारण कोरोना महामारीपछि बालबालिका मानसिक स्वास्थ्य समस्यामा परेका छन् ।

उनीहरूमा स्क्रिन टाइम बढ्यो । हरसमय उनीहरूलाई स्क्रिनमा छोडिदियौं । कुराकानी गरेनौं । बालबालिकाको भावनात्मक सन्तुलन बुझ्ने भनेको नै उनीहरूसँगको संवादबाट हो । बालबालिकासँग कम्युनिकेसन अत्यन्तै महत्वपूर्ण छ । हामीले उनीहरूसँग संवाद गर्ने भनेको नै एकोहोरो मात्रै छ । हामीले पढ, होमवर्क गर नानी अथवा बाबु भन्छौं । उनीहरूको कुरा सुनेनौं ।

त्यसले उनीहरूको स्क्रिन लत नै बस्यो । मनोविज्ञानमा स्क्रिनको सबैभन्दा ठूलो बेफाइदा भनेको ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ हो । त्यो भनेको चाँडो तृप्त हुने चाहना बढ्नु हो । जस्तो कुनै चिज चाहियो भने तुरुन्तै र जसरी पनि चाहियो भन्ने जिद्दी बनाउँछ । स्क्रिनले चाँडै तृप्त हुन चाहने लत बसाउँछ ।

यसले कस्तो समस्या निम्त्याउँछ ?

‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ले बच्चालाई एग्रेसिभ बनाउँछ । र, आत्महत्यासम्मको अवस्था निम्त्याउन सक्छ । आत्महत्याको प्रक्रिया लामो हुने भएपनि त्यसमा देखिने एउटा प्रमुख कारण भनेको बालबालिका चाहेको समयमा तृप्त हुन नसक्नु हो ।

भनेको समयमा तृप्त हुन नसक्दा आवेगमा आएर आत्महत्या गरेको घटना बढेको छ । मैले आफूले गरेको अध्ययन अनुसार अहिलेको समस्या भनेको बालबालिकामा आत्महत्या दर बढ्नुको मुख्य कारण स्क्रिन हो ।

बालबालिकाको मानसिक स्वास्थ्य समस्याबारे ख्याल नै गरेनौं । बालबालिकामा डिप्रेसन, एन्जाइटी हुन्छ भन्ने नै सम्झिएनौं । नङ टोकिराखेका बालबालिका, आवेगमा आउने, सोफामा उफ्रिराख्ने बालबालिकालाई उनीहरूको भावनात्मक रूपमा असन्तुलन भएको भनेर सोचेनौं । हाम्रो बेवास्ताका कारण बालबालिका आत्महत्या जस्तो गम्भीर दुर्घटनाका शिकार भएका छन् ।

कोभिडको कारण बालबालिका यस्तो लतमा फसे भन्न सकिन्छ ?

भन्न सकिन्छ । कोरोनाको कारणले गर्दा अभिभावकले बालबालिकासँग जुटाउने समय बढ्यो । तर गुणस्तरीय समय चाहिं बढेन । जस्तो हामी अभिभावक घरैमा बालबालिकासँगै छौं । बालबालिका टिभी हेरिरहेका छन् भने हामी आफैं मोबाइलमा भुलिएका छौं । त्यो भएपछि त जति समय भएपनि बालबालिकासँग बिताउने गुणस्तरीय समय भएन ।

त्यसैले हाम्रो अभिभावकत्वमा पनि कमजोरी छन् । मैले केटाकेटीलाई समय दिइरहेको छु भनेर मात्रै भएन । उनीहरूसँगको संवाद घट्दो छ । जसले केटाकेटी टेलिभिजन अथवा मोबाइल, ल्यापटपमा हेरेको क्यारेक्टरसँगै संवाद गर्न बाध्य छन् । उनीहरू आफूले हेरेको क्यारेक्टर जस्तै बोल्ने, हिंड्ने व्यवहार गर्ने देखिन्छ । त्यसैले हामीले दिएको समय गुणस्तरीय भएन । जसको कारण उनीहरूले स्क्रिनमा बढी समय बिताए । ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ लत लाग्यो ।

आमाबुवासँग बालबालिकाको सम्बन्ध कस्तो छ ?

अहिले बालबालिका र आमाबुवाबीचको सम्बन्ध तृप्तताको लागि मात्रै भएको छ । मेरो आमाबुवा किन छन् भन्दा चाहिं मेरो आवश्यकता पूरा गर्छ । जस्तै उनीहरूले राम्रो मोबाइल, खेलौना, मीठो चकलेट किनिदिन्छन् भन्ने होला । आफ्नो आवश्यकता पूर्तिको लागि मात्रै अभिभावक हो भन्ने कुरा पछिल्लो समयमा विकास हुँदै गइरहेको छ ।

संवादको कमीले अहिले आमाबुवा र बालबालिकाबीचको परम्परागत सम्बन्ध नै परिवर्तन भएको छ । सम्बन्ध कमजोर हुँदै गएको छ । आफूलाई लागेका कुरा एकअर्कासँग सेयर हुँदैन । एकअर्काबीचको भावनात्मक, संवेगात्मक सम्बन्ध हराउँदै गइरहेको छ ।

यो अभिभावकको कारणले विकास हुँदै गएको हो ?

हो । किनभने हामीले बालबालिकासँग संवाद गरेर उनीहरूको समस्या बुझ्ने कोशिश गरेका छैनौं । अभिभावक भनेको बालबालिकाको अभिभावक र साथी पनि हो । ऊसँगै खेल्नुपर्छ । तर अभिभावकले उनीहरूसँग नखेल्ने, सहयोग नगर्ने गर्दा बालबालिकामा यस्तो बुझाइ विकास हुँदै गइरहेको छ । अभिभावकले पनि पछिल्लो समय काम गर्ने निहुँमा अथवा विभिन्न बहानामा स्क्रिनमा बिताए । आफूले काम गरिरहँदा आफ्ना बालबच्चालाई अर्को स्क्रिन दिने गरियो । मनोरञ्जनको चिज हेर्दा पनि आफ्ना बालबालिकासँग हेरिएन । बालबालिकासँग संवाद नै गरिएन जसले बालबच्चा नजिक हुन सकेनन् ।

एन्जाइटी र डिप्रेसनबीच भएका बालबालिकामा कस्तो लक्षण देखिन्छ ?

डिप्रेसन भएका बालबालिकामा टोलाउने, बाहिर खेल्न मन नगर्ने, साथीभाइसँग घुलमिल नहुने, एक्लै निराश बस्नेजस्ता लक्षण देखिन्छ । एन्जाइटी भएका बालबालिकामा चञ्चलता बढी हुन्छ । उट्पट्याङ गर्ने, जोडले चिच्याउने, नगर भनेको चिज गर्ने, उल्टो गरिदिने, एटेन्सन खोज्ने व्यवहार देखिन्छ ।

सरल भाषामा डिप्रेसन भएका बालबालिका निष्क्रिय हुन्छन्, एन्जाइटी भएकामा उच्छृंखलता हुन्छ । त्यो भनेको उनीहरूको भावना सन्तुलित नहुँदा गरेको व्यवहार हो । आफूमा भएको इनर्जीलाई सही ठाउँमा प्रयोग गर्न जान्दैनन् । त्यसले गर्दा यस्तो समस्या देखिन्छ ।

एन्जाइटी र डिप्रेसन हुने कारण उस्तै हुन्छन् कि फरक ?

अधिकांशमा कारण एकै प्रकारका हुन्छन् । सबै व्यक्तिमा मनोभाव व्यवस्थापन गर्ने फरक खालको क्षमता हुन्छ । कसैले बोलेर, कसैले नबोलेर गर्छन् । कतिपयले अनावश्यक बोलेर भएपनि पोखिरहेका हुन्छन् । कम बोल्नेहरू औंला चुसेर, नङ टोकेर दबाइरहेका हुन्छन् । यसरी पोख्ने अथवा देखाउने लक्षण फरक हुन सक्छ । तर हुने कारण चाहिं लगभग एउटै हुन्छ ।

अहिलेका बालबालिकालाई कस्तो खालको अभिभावकत्व वा निगरानीको आवश्यक छ ?

अहिले अभिभावक पनि मर्कामा छौं । हाम्रो दैनिकी व्यस्त छ । त्यसैले अभिभावकले धेरै समय दिनसक्ने अवस्था छैन । तर जति समय दिन्छौं त्यो समयलाई चाहिं गुणस्तरीय बनाउन प्रयास गर्नुपर्छ । जतिसक्दो धेरै आफ्ना बालबालिकासँग संवाद गर्नुपर्छ । कुराकानी गरेर उनीहरूको समस्या, मनोभाव बुझ्ने प्रयास गर्नुपर्छ ।

किनभने हामी अभिभावकले गरेको मिहिनेत उनीहरूको लागि हो । त्यसैले हामीसँग भएको थोरै समय पनि गुणस्तरीय बनाउन ध्यान दिनुपर्छ । उनीहरूको होमवर्कमा सहयोग गर्ने, उनीहरूले प्रयोग गर्ने स्क्रिन हाम्रो निगरानीमा छ कि छैन भन्ने ख्याल गर्नुपर्छ । उनीहरूले हेर्ने सामग्री हामी पनि सँगै बसेर हेर्नुपर्छ ।

बालबालिकालाई घर बाहिरको घुमघाम कम भएको छ । बालबालिकामा अत्यन्तै इनर्जी हुन्छ । त्यो इनर्जीलाई प्रस्फुटन गर्नको लागि बाहिर खुला वातावरणमा लैजानुपर्छ । त्यसैले बाह्य घुमघाममा पनि ध्यान दिनुपर्छ ।

भौतिक रूपमा विद्यालय खुल्दा समस्या केही कम हुनसक्छ ?

हुनसक्ने सम्भावना छ । किनभने साथीभाइहरूसँग घुलमिल हुन्छन् । खुला स्थानमा खेल्छन्, उफ्रिन्छन् । साथीभाइबीच एकअर्काको कुरा सुन्छन् । त्यसले बच्चाहरूको सक्रियता बढाउँछ । संक्रमणको जोखिम बाहेक हरेक कुराले विद्यालय भौतिक रूपमा खुल्दा बालबालिकाको लागि फाइदा छ । सकारात्मक आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment