+
+

महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १७:३३

१७ मंसिर, काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने आदेश जारी गरेको छ ।

शुक्रबार तालिबानले महिलाको स्वीकृतिपछि मात्रै पुरुषले उनीहरूसँग विवाह गर्न पाउने आदेश जारी गरेको हो । महिला कसैको ‘सम्पत्ति’ नभएको र उनीहरू सम्मानित एवं स्वतन्त्र मानव रहेको पनि तालिबानको भनाई छ।

‘कुनै पनि महिला सम्पत्ति होइनन्, उनीहरू सम्मानित एवं स्वतन्त्र मानव हुन्’, तालिबानका प्रवक्ता जबिहिल्लाह मुहाजिदले जारी गरेको आदेशमा भनिएको छ, ‘कसैले पनि उनीहरूलाई शान्तिका लागि वा दुश्मनी अन्त्यका लागि अरुलाई दिन सक्दैनन्।’

तालिबानको आदेशमा महिलाको विवाह र सम्पत्तिसम्बन्धी नियम समेत उल्लेख छन् । नियमअनुसार महिलालाई जबर्जस्त विवाह गर्न पाइने छैन भने पति गुमाएका महिलाले दिवंगत पतिको सम्पत्तिबाट अंश पाउने छन् ।

अदालतले समेत निर्णय गर्ने क्रममा नयाँ नियमप्रति ध्यान दिनुपर्ने र सूचना तथा धार्मिक मामिला मन्त्रालयले यी अधिकारको प्रबर्द्धन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा महिलाको शैक्षिक तथा श्रम अधिकारलाई लिएर चिन्ता व्यक्त गरिरहेको छ । केन्द्रीय बैंकको अर्बौं डलर रोक्का गरेको अन्तर्राष्ट्रिय समुदायले महिला अधिकार स्थापित भएपछि मात्रै तालिबानसँग भविष्यमा सहकार्य गर्ने बताउँदै आएको छ ।

तर महिलाले घर बाहिर गएर पढ्न वा काम गर्न पाउनेसम्बन्धमा पछिल्लो आदेशमा केही उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment