+
+
संस्मरण : एउटा घरको कहानी :

मानिससँग हारेको भूत

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७८ मंसिर १८ गते ८:१८

म पाँच महीनाको हुँदा प्रवेश गरेको एउटा घरको सम्झनाले मलाई चटकी रोमाञ्च दिने गरेको छ । त्यो घरको सम्झनामा हराउँदै जाँदा घरी घरी मेरा आँखाहरू अश्रुधाराले बिटुलो हुने गर्छन् । जन्म दिने आमाको मृत्युपछि प्रवेश गरेको त्यो घर । मेरो मामा घर ।

चरिकोट बीच बजारमा रहेको त्यो घर अहिले छैन । २०७२ साल वैशाखको भूकम्पले घरका केही भाग चर्किएपछि त्यसलाई भत्काइयो । अहिले त्यो ठाउँमा आधुनिक आरसीसी घर बनेको छ ।

त्यो घरसँग भूतको कहानी छ र मेरो आमा (मलाई पाँच महीनादेखि पाल्ने कर्म दिने आमा) को सुुखद संस्मरण पनि छ । भूतको कहानीले मलाई चटकी रोमाञ्च दिन्छ र मेरी आमाको सम्झनाले आँखाहरू बिटुला हुन्छन् अश्रुधाराले । म कसरी भुल्न सक्छु र मेरी आमाको त्यो स्नेह, जसले पाँच महीनाको टुहुरोलाई आफू अविवाहित रहेरै अगाध स्नेह सहितको स्याहार गर्नुभयो, त्यही घरमा ।

मलाई समझना छ, मेरी आमाले पिठ्यूँमा बोकेर कोखाई–कोखाई गर्दै घुमाएको घर पनि त्यही हो । तोते बोलीमा घिस्रिंदै गर्दा हातमा समाएर तल–माथि हिंडाएको घर पनि त्यही हो । अनि खोकिलामा चेपेर भूतको कथा भन्दै सुताएको घर पनि त्यही हो । अनि मामाहरू नारायणकृष्ण, गोपालकृष्ण र श्यामकृष्णबाट पाएको स्नेहले आल्हादित हुँदै उछलकुद गरेको घर पनि त्यही हो ।

त्यो घर १९९७ सालतिर बनेको थियो । कति अनौठो लाग्छ सुन्दा, तर सत्य हो, त्यो घर बनाए बापत मेरो मावलीको बाजे (हजुरबुबा) ठाकुरदास श्रेष्ठ २००१ सालमा पक्राउ परी १५ महीना थुनामा पर्नुभएको रहेछ । जेठा मामा नारायणकृष्ण श्रेष्ठले अतीतको त्यो अनौठो सत्य बडो उत्साहित हँुदै सुनाउनुहुन्थ्यो । बाजेहरूको पुरानो घर रामेछाप हो । ठाकुरदास बाजे जागिरको सिलसिलामा चरिकोट आउनुभएको रहेछ । रामेछापकै कसैले ठाकुरदासले चरिकोटमा दरबार जस्तो घर बनाएको छ भनेर राणा सरकारलाई उजुर गरिदिएछन् ।

त्यतिबेला दोलखा, रामेछाप र सिन्धुली एउटा जिल्ला ‘पूर्व २ नम्बर’ थियो रे ! पूर्व २ नम्बरको बडाहाकिम बस्ने मुख्य गोश्वारा अड्डा, मालपोत र मुख्य जंगी परेड रामेछापमा रहेछ । दोलखाको चरिकोटमा अदालत, हुलाक र जंगी परेड, दोलखाको मेलुङमा जंगी परेड र सिन्धुलीमा अदालत, हुलाक र जंगी परेड अफिस थियो रे !

ठाकुरदास बाजे त्यतिबेला चरिकोट अदालतको बहिदार दर्जाको सरकारी जागिरे । उहाँको विरुद्ध उजुरी परेपछि काठमाडौं डिल्लीबजार चारखाल अड्डाबाट बोलावट भयो । चरिकोटबाट काठमाडौं हिंडेर मुश्किलले तीन दिनमा पुगिन्थ्यो रे !

बोलावट भएको केही दिनपछि बाजे चारखाल अड्डा पुग्नुभएछ । उहाँलाई त्यतिबेलाका श्री ३ प्रधानमन्त्री पद्मशमशेर जबरा समक्ष हाजिर गराइयो । पद्म शमशेरले साधेछन्– गाउँलेको शोषण गरेको पैसाले दरबार जत्रो घर बनाएको हो ? बाजेले निडरतापूर्वक जवाफ दिनुभयो – सरकार मैले दरबार बनाएको हैन बस्ने घर बनाएको हो । म सरकारी जागिरे, घरमा पनि पुग्दो नै छ । त्यसैले घर बनाउन आफ्नै पैसाले पुग्छ ।

बाजेको जवाफ सुनेपछि पद्मशमशेरले आदेश गरे – यिनको बारेमा सबै बुझ्नु र घर पनि हेर्नु, त्यतिञ्जेल यिनलाई थुनामै राख्नु । राणा प्रधानमन्त्रीको आदेश पछि बाजेलाई चारखाल अड्डामै थुनामा राखियो । र बाजेको बारेमा सबै सोधीखोजी सहित रामेछाप चिसापानीको पुरानो घर, चरिकोटको नयाँ बनाइएको घर सबै हेरेपछि १५ महीनामा बाजे थुनामुक्त हुनुभएको रहेछ ।

बाजे थुनामा पर्नुभएको बेला जेठा मामा (नारायणकृष्ण) ८ वर्षको हुनुहुन्थ्यो रे ! चरिकोटको नयाँ घर हेर्न सल्यानी राजाको छोरा आर्मीको अफिसर आएका रहेछन् । उनले घरको निरीक्षण गरेपछि राणा सरकारमा विन्ती चढाएछन् – ‘पहाडी क्षेत्रमा घर निकै ठूलो हो, तर दरबार भन्न मिल्दैन ।’ आर्मी अफिसरको यस्तो विवरण पछि २००२ सालको अन्त्यतिर बल्ल बाजे छुट्नुभएको रहेछ ।

त्यो घर बनाएको ठाउँ पहिले बुट्यान घारी, चरिकोट कारागारमा मृत्यु भएकालाई ल्याएर गाड्ने ठाउँ । त्यसैले भूतले दुःख दिन्छ भनेर घर बनाउने बेला ११ जना ब्राह्मण ल्याएर वास्तुशास्त्र अनुसार पूजा गरिएको र झाँक्रीले घरको चार सुरमा मन्त्र सहित लट्ठी गाडेको कुरा जेठा मामाले ठाकुरदास बाजेबाट सुन्नुभएको रहेछन् ।

भूतको कथा । असत्य लाग्ने, सत्य कथा । भूत हुन्छ कि हँुदैन वैज्ञानिक पुष्टि भएको छैन । मानिसको शरीर मरेर गए पनि आत्मा जीवित रहन्छ भन्ने कुरालाई विज्ञानले पनि अस्वीकार गर्न सकेको छैन । त्यसैले कसैको मृत्युमा श्रद्धाञ्जली दिंदा मृतकको आत्माको चिरशान्तिको कामना भनिन्छ । मृतात्मा भनिंदैन । मानिसको स्वाभाविक मृत्युमा आत्माले शान्ति पाउँछ भन्ने विश्वास छ । मानिसको अस्वाभाविक मृत्यु हुँदा आत्मा छट्पटिन्छ र त्यसले मानिसलाई दुःख दिन्छ भनिन्छ । हो त्यही अस्वाभाविक मृत्युको आत्मालाई नै भूत भन्ने गरिन्छ ।

त्यो घर, जहाँ मैले झण्डै ४० वर्ष विताएँ । आमाको माया, मामाहरूको अभिभावकत्व, सद्भाव र भरोसा पाएको घर । जाडो महीनामा साँझ परेपछि बुईगलको अँगेनामा गोलाकार बनाएर परिवारका सबै सदस्य गफिएर रमाएको त्यो पल साँच्चै स्वर्णिम थियो । १०÷१२ वर्षको उमेर । श्याम मामा (कान्छा मामा, श्यामकृष्ण श्रेष्ठ) ले सुनाउनुभएको भूतको कहानीले कोठासम्म पनि एक्लै जान नसकिने । भूतै हो कि मनको त्रास तर हाम्रो त्यो घरमा साँच्चै तर्साउँथ्यो रे ! राति बुईगलको अँगेना छेउतिर कोही सुत्यो भने भूतले सिरक नै तानिदिने । श्याम मामा भन्दै हुनुहुन्थ्यो – एकदिन पाहुना धेरै भएकोले बुईगलमा सुत्न गएको रे राति त कसैले सिरक तानेर खुट्टासम्म पु¥याइदिएछ ।

बजै, आमा र माइजूले भन्नुहुन्थ्यो – घरमा कुनै दिन खाना खाएको भाँडाहरू सफा गर्न नभ्याएर जुठै राख्यो भने त रातभरि भाँडा माझिदिने । तर भोलिपल्ट बिहानै माथि गएर हेर्दा भाँडाहरू अघिल्लो दिन राखे जस्तै सबै जुठा !

हाम्रो घरमा मात्र हैन ३०÷४० वर्षअघि चरिकोटको पाटीखोला, भालुखोला, पशुपतिडाँडा, टुँडिखेलतिर पनि साँझ परेपछि तर्साउन शुरू भइहाल्थ्यो रे ! अँगेनामा हात सेक्दै श्याम मामाले भूतको कथा भन्न थालेपछि म मनभरि त्रास बोकेर सुस्ताउँदै कथा सुन्न एकाग्र हुन्थें ।

त्यही २०२८ सालतिरको कुरा, श्याम मामा काठमाडौंबाट चरिकोट फर्कंदा घर आइपुग्ने दिन चकमन्न जुनेली रात थियो रे ! घडी नहेरे पनि रातको १० जति बजेको उहाँको अनुमान रहेछ । पाटीखोला आइपुग्दा त्यहाँको सानो खोल्सा तर्नुपर्ने तर त्यो ठाउँमा अन्धमुश्ली भएर पाइला सार्नै सकिएन रे ! फर्किएर अलिक अगाडि बढेपछि भने चकमन्न जून । फेरि खोल्सातिर गयो उही अन्धमुश्ली । यस्तै क्रममा आधा घण्टा जति वितेपछि एकजना मानिस राँको बोकेर आएछन् । मामाले त्यो मान्छेसँग केही राँको मागेर अगाडि बढेपछि भने सजिलै खोल्सो पार गर्न सक्नुभएछ । आगो देखेपछि भूत भाग्छ भन्ने कथ्य शायद सत्य थियो । त्यसैले राँकोले मामालाई खोल्सो पार गर्न सहज भयो ।

भीमेश्वर नगरपालिकाको नगरप्रमुख भरतबहादुर केसीलाई पनि सानो उमेरमा त्यही पाटीखोलाको खोल्सामा धेरै पटक तर्साएको थियो रे !

साँझ परेपछि भालुखोला, लामाचौर, पशुपतिडाँडा र टुँडिखेलतिर पनि कैले मानिस देखिने तर नजिक गएपछि अलप हुने, कैले रूख अग्लिने, कैले आगो लागेको देखिने । तर भोलिपल्ट बिहान सबै उस्तै ।

चरिकोटमा मात्र हैन काठमाडौं र अन्य ठाउँमा पनि उबेला भूत, वीर, मसान र ख्याकले निकै सताउँथ्यो रे ! नेवार समुदायमा गुफा राखेको बेला कोही युवतीको मृत्यु भयो भने भ¥याङमुनि गाड्ने प्रचलन थियो । त्यसको आत्मालाई ख्याक भनिन्थ्यो । काठमाडौंमा उबेला गाउँतिरबाट पढ्न गएका युवाहरूलाई ख्याकले खुबै सताउने गरेको कहानी सुनाउनुहुन्थ्यो मेरो गुरु कृष्णबहादुर गौतम ।

अनि नुवाकोटको त्रिशूलीमा वीर मसानले देखाउने चर्तिकलाको बारेमा आफूले सुनेको कहानी भन्नुहुन्थ्यो गंगालक्ष्मी सानीआमा (पत्रकार राजेन्द्र मानन्धरको आमा) । उबेलाका यस्ता भूत, प्रेत र पिशाचको कथा हामीलाई कुनै दन्त्यकथा वा मनको भ्रम झैं लाग्छ तर भोग्नेहरूले त्यो भ्रम नभएर भड्किएको आत्माको छट्पटी भएको र आफूहरूले प्रष्ट रूपमा अनुभव गरेको बताउनुहुन्छ ।

उबेला भूत, प्रेतको रजगज भएको चरिकोटमा अहिले किन तर्साउँदैन होला । किन मानिस देखिने र अलप हुने गर्दैनन् होला । किन जूठा भाँडाहरू माझेको आवाज आउँदैन । किन सिरक तानिदिंदैन ।

मानिसको चाप र बिजुलीको प्रभावले आत्मा यो ठाउँबाट अन्यत्र हिंडेको तर्क गर्छन् कतिपय बौद्धिकहरू । भूतले मानिससँग हारेको ठान्छन् कोही । तर भूतको सत्य के हो, आत्मा कसरी जीवित रहेको हुन्छ भन्ने कुराको अध्ययन भने जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?