+
+
अन्तर्वार्ता :

‘पूर्वराजा ज्ञानेन्द्रसँग अन्तरंग कुराकानी हुने सम्बन्ध छैन’

राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा
२०७८ पुष ६ गते २०:५९

६ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको महाधिवेशन उद्घाटन सत्रमा आमन्त्रित राजेन्द्र लिङ्देनले ‘जनताले नेताहरुलाई चोर भन्न थालेका छन्’ भन्दै भाषण गरेपछि अन्य दलका शीर्ष नेताहरुको निशाना बने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसम्मले उनको कडा आलोचना गरे । ओलीले ‘भर्खर जन्मेको बाच्छो हिंड्न जान्दैन’ भन्दै कटाक्ष गरे।

हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित लिङ्देन चाहिं सत्तारुढ पार्टीको मञ्चमा आफ्नो अभिव्यक्तिले खल्बली मच्चाएकोमा बेखुशी छैनन् । उनी भन्छन्, ‘उहाँहरुले ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचाले जस्तो नगर्नु भएको भए, मेरो भनाइले यत्तिको महत्व पाउने थिएन ।’

प्रस्तुत छ, लिङ्देनसँग अनलाइनखबरकर्मी बिनु सुवेदीगौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पनि एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ, सांसद हुनुहुन्छ । गाउँ जाँदा तपाईंलाई पनि चोर आयो भन्न थालेका छन् ?

राजेन्द्र लिङ्देन वा कोही व्यक्तिलाई देखेर नामै लिएर नभन्लान्, तर आमरुपमा नेतालाई हेर्ने दृष्टि राम्रो छैन । मैले कुनै पार्टी विशेषका नेतालाई लक्षित गरेर यो विषय बोलेको होइन, आमधारणा भनेको हुँ ।

म तलबाट उठेर आएको हुनाले तलको चाहना के छ, के भन्छन् भन्ने कुरा अरु नेताले भन्दा बढी बुझ्छु भन्ने लाग्छ । कहिलेकाहीं परिचय नखुलाई हिंड्दा, कार्यक्रमस्थल पुग्नुअघि भीडभाडमा मानिसहरुले ‘आज कुन चोर आउने रै’छ’ भनेको म आफैंले पनि सुनेको छु ।

जनताले हामीलाई राम्रो मानिरहेका छैनन् भनेर मैले नेपाली कांग्रेसकाे महाधिवेशनमा भनेको थिएँ । त्यहाँ ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचाले जस्तो देखियो । मैले चाहिं उहाँहरुबाट त्यस्तो प्रतिक्रिया आउला भन्ने सोचेको थिइनँ ।

कांग्रेसको उद्घाटन माहाेल त पूरै राजेन्द्र लिङ्देन विरुद्ध बन्यो नि !

शायद उहाँहरुले त्यस प्रकारले तीतो प्रतिक्रिया नदिनुभएको भए, यो विषयको यति उत्खनन् हुने थिएन । उहाँहरुको प्रतिक्रियाले यो अहिलेको यथार्थ रहेछ भन्ने उजागर भयो । म त उहाँहरुलाई धन्यवाद भन्छु ।

खासमा आमनागरिकले नेताहरुलाई किन चोर भनिरहेका छन् ?

राजनीतिक नेतृत्वप्रति नेपाली जनताको जुन अपेक्षा थियो, त्यो पूरा गर्ने इमानदारी नदेखाउँदा चोर भनेका हुन् । आमनागरिकले नेताहरुबाट धोका भयो, विश्वासघात भयो भन्न खोजेका हुन् ।

२०४६ सालपछि (त्योभन्दा अगाडि पनि जान सकिन्छ) उच्च पदमा बसेका राजनीतिकर्मी र कर्मचारी तथा संवैधानिक अंगका प्रमुख लगायतको सम्पत्ति छानबीन गरौं भन्छु । मेरै पार्टीका कोही नेतालाई देखाउन खोजिन्छ भने छानबीन हाम्रै पार्टीबाट शुरु गरे हुन्छ ।

अहिलेको राजनीतिक एजेण्डा र तपाईं नेतृत्वको पार्टीको एजेण्डा फरक छ, धार अलग छ । विश्वासघात भनेर समकालीन राजनीतिक एजेण्डा नै गलत छ भन्ने संकेत गर्नुभएको हो ?

हो, हाम्रो प्रणालीमै त्रुटि भयो । प्रणाली र व्यक्ति ठीक भए, सबै ठीक हुन्छ । कहिलेकाहीं व्यक्ति इमानदार नहुँदा पनि जटिलता उत्पन्न हुन्छ । अझ प्रणालीमै छिद्र भएपछि बेइमानहरुले खेल्ने ठाउँ पाउँछन् । अहिलेको निर्वाचन प्रणाली पनि महँगो छ, यसले भ्रष्टाचारलाई प्रश्रय दिन्छ । त्यसकारण अहिले मूलतः प्रणाली नै भ्रष्ट भयो, जसका कारण आज आमजनताले नेता र राजनीतिक नेतृत्वलाई नै भ्रष्ट देख्दैछन् ।

भ्रष्टाचार त अहिले सामान्य जस्तै बनेको छ । भ्रष्टाचार गर्दा कसैले लाज मान्नु नपर्ने अवस्था सिर्जना भएको छ । मैले ‘भ्रष्टाचार भनेको अपराध हो, जसले गरे पनि भ्रष्टाचार हो’ भनेर ट्विट गर्दा ‘भ्रष्टाचार आज मात्र भएको हो ? हिजो थिएन ? हाम्राले मात्र गरेको हो ? तिम्राले गरेको थिएन ?’ भनेर भ्रष्टाचारलाई सामान्यीकरण गर्ने प्रतिक्रियाहरु आए ।

यस्ता कुराले आममानिसमा राजनीतिक नेतृत्वप्रति, राजनीतिप्रति वितृष्णा आएको हो भन्ने लाग्छ ।

भ्रष्टाचारको इतिहास त राजतन्त्रकालबाटै शुरु हुन्छ नि होइन र ?

एउटा कुरा मैले संसदमा पनि भनेको छु, आमजनताको बीचमा पनि भनेको छु र आज पनि भन्छु– हामी राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना भएपछि त्यसप्रकारको शक्तिमा छैनौं । छिटपुट रुपमा अवसर पाएका बेला कुनै प्रकारको त्रुटि भएको भए, छानबीन होस् ।

म त अझ, २०४६ सालपछि (त्योभन्दा अगाडि पनि जान सकिन्छ) उच्च पदमा बसेका राजनीतिकर्मी र कर्मचारी तथा संवैधानिक अंगका प्रमुख लगायतको सम्पत्ति छानबीन गरौं भन्छु । मेरै पार्टीका कोही नेतालाई देखाउन खोजिन्छ भने छानबीन हाम्रै पार्टीबाट शुरु गरे हुन्छ ।

तपाईं अध्यक्ष भएको अहिले हो । सांसद पनि यही अवधिमा हो । राजकीय जिम्मेवारीमै पुग्नुभएको छैन । यही कारण प्रश्न गर्न सजिलो भएको होला नि ?

मेरो पनि सानोतिनो कारोबार होला, दैनिक जीवन चलाएको हुँला । मैले कसरी चलाउँछु, छानबीन गरे हुन्छ । मैले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा योजनाहरु तोकेर बाँडेको छु । त्यसमा लेनदेन गरें कि ?

त्यसभन्दा अगाडि जिल्ला विकास समितिको सभापति भएर काम गरेको थिएँ । त्यहाँको कार्यकारी प्रमुखको हिसाबले काम गर्दा करोडौं खर्च भयो । त्यहाँ छानबीन गरे हुन्छ । तहअनुसार म पनि छानबीनमा परुँला । मबाटै शुरु गरे पनि भयो । हामीले राप्रपाकै नेताहरुबाट भ्रष्टाचार छानबीन थाल्दा हुन्छ भनिरहेका छौं । तर, सबैका छानबीन हुनुपर्छ । अनियमित ढंगले आर्जन गरेको सम्पत्ति जफत हुनुपर्छ ।

पडकास्ट

अब तपाईंको पार्टीभित्रको कुरा गरौं । तपाईंभन्दा अगाडिका अध्यक्ष कमल थापालाई राजसंस्था एजेण्डाको हार्डलाइनर भनेर चिनिन्थ्यो । हालै उहाँले ‘पार्टीमा निर्मलनिवासको हस्तक्षेप भयो’ भन्नुभएको छ । अहिले तपाईं पो थापाभन्दा पनि बढी हार्डलाइनर बनेर निस्किनुभयो नि !

हार्डलाइन, सफ्टलाइनको कुरै छैन । राजसंस्था र हिन्दू राष्ट्र हाम्रो एजेण्डा हो । राजसंस्था र हिन्दू राष्ट्र नै नेपालको स्थायित्वको आधार हो । नेपाल राष्ट्रको स्थायित्व र जनताबीचको एकताका लागि हिन्दू राष्ट्र र राजसंस्था चाहिन्छ भन्ने मान्यता राप्रपाले प्रारम्भदेखि नै राखिआएको हो ।

यो विचारलाई हिजो ठीक ढंगले अगाडि बढाउन सकिएन । जनताले बुझ्ने ढंगले अगाडि बढाउन सकिएन । राजा चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ भन्ने मान्छेहरुले नै पनि पत्याउने ढंगले अगाडि बढाउन सकेनौं । अब चाहिं आम शुभेच्छुक र त्योदेखि बाहिर रहेका आमजनतालाई पनि राजसंस्था र हिन्दू राष्ट्र नेपालको आधार हो भन्ने बुझाएर बृहत् शक्ति निर्माण गर्ने ढंगले हामी अगाडि बढ्छौं ।

तपाईंले बोकेको एजेण्डा संविधान विरुद्ध छ । मुलुकको संविधान विरुद्ध गएर कसरी मुलुककै लागि राजनीति गरेको भन्नुहुन्छ ?

यो संविधान विरुद्ध होइन, संविधानले नै दिएको सुविधा अनुसार हो । नेपालको संविधानमा नेपाली जनतामा रहेको सार्वभौमिकता र राष्ट्रिय अखण्डताबाहेक कुनै पनि विषय अपरिवर्तनीय भनेर लेखिएको छैन ।

नेपाली जनताले चाहे गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता वा अरु कुनै पनि विषयमा परिवर्तन गरेर जान सकिन्छ । त्यसकारण हामीले संविधानले दिएको छूट र सुविधा अन्तर्गत नै मुद्दा उठाएका छौं । अहिंसात्मक र जनमतको बाटोबाटै आफ्नो एजेण्डा स्थापित गराउनेमा हामी छौं ।

यो संविधान चाहिं राजतन्त्र हटाउनकै लागि भएको आन्दोलनको बलबाट आएको हो । यसमा राजसंस्थाबारे केही उल्लेख छैन । अहिले जनमत पनि राजसंस्थाको पक्षमा देखिंदैन । तपाईंहरुलाई खास चाहिएको के हो ?

जनमत नाप्ने चिज केही छैन । फेरि, राजसंस्था अन्त्य गर्ने बेलामा दलहरुले जनताले थाहा पाउने गरी, बुझ्ने गरी गणतन्त्रको एजेण्डा ल्याएका थिएनन् । यसलाई षड्यन्त्रपूर्ण ढंगले प्रवेश गराइयो । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतापछि प्रवेश गराइएका विषयहरु हुन् । यस विषयमा म धेरै भन्न चाहन्न ।

जनमत छ, छैन भन्ने चाहिं समयले देखाउने कुरा हो । अहिले हामीले यो कुरा उठाइराख्दा असम्भव जस्तो लागे पनि देशको धरातलीय यथार्थ यही हो । राजसंस्था र हिन्दू राष्ट्र नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको लागि स्थायित्वका आधार हुन् ।

२०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो । अहिले पनि सिक्किमको माटो कसैले बोकेर लगेको छैन, त्यहीं छ । नाम पनि त्यही छ, तर देश छैन । त्यहाँ राजसंस्थाको अन्त्य भयो, सिक्किम भन्ने देशको अस्तित्व पनि नामेट भयो । त्यही भूराजनीतिक परिस्थितिमा नेपाल छ । उत्तरतर्फ विशाल देश चीन छ । विश्व महाशक्तिको रुपमा उसको उदय र विकास भइरहेको छ ।

दक्षिणतर्फ अर्को विशाल देश भारत छ । यी दुई विशाल देशको बीचमा रहेको यो सानो मुलुक नेपाल जुन संवेदनशील ठाउँमा छ, त्यसलाई राजसंस्थाबाहेक अरुले स्थायित्व दिन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।

उहाँ (कमल थापा) ले दुई दिनअघिसम्म कुनै टेलिभिजनमा मलाई राजाको सहयोग छ, राजालाई दलको विषयमा तान्नुहुँदैन पनि भनिरहनुभएको थियो । दुई दिनपछि केमा हस्तक्षेप भयो मलाई थाहा भएन ।

तपाईंहरुले चाहेको राजसंस्था कस्तो हो ? पहिलेकै जस्तो ज्ञानेन्द्र शाहलाई नै राजा बनाउने हो कि राजेन्द्र लिङ्देन नै राजा बन्ने कि शाह वंशकै कोही आउने हो ?

पृथ्वीनारायण शाहको वंशजका राजा हुने हो । सबैको सहमतिमा संविधानको परिधिभित्र रहने संवैधानिक राजसंस्था हुन्छ । हामीले प्रत्यक्ष शासन गर्ने राजाको परिकल्पना गरेका छैनौं ।

राजाको पनि कल्पना गर्नुभएको होला नि ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका वंशज राजा हुन्छन् । यो हिसाबले अब ज्ञानेन्द्र शाह नै राजा होइबक्सन्छ ।

तपाईं आफूलाई भुइँ मान्छे, जनजातिको छोरो भन्नुहुन्छ । इतिहास हेर्दा राजसंस्थाबाट सबैभन्दा धेरै उत्पीडनमा तिनै भुइँमान्छे, जनजाति परेको देखिन्छ । तपाईंलाई चाहिं राजसंस्थाप्रति यति धेरै मोह किन ?

पहिलो कुरा त जनजातिहरु पोषित, पीडित भए भन्ने खण्डन गर्न चाहन्छु । के–के भयो, कहाँ कहाँ भयो भन्ने कुरा आयो भने त्यसमा छलफल गरिन्छ, तर जनजाति समुदायमा राजसंस्थाप्रति घृणा पैदा गराउन सुनियोजित रुपमा प्रचार गरिएका कुरा हुन् यी ।

हिजो राजाको पालामा अहिले जस्तो समानुपातिक समावेशी भनिएको थिएन, तर हरेक मन्त्रिपरिषद् गठन हुँदा, अञ्चलाधीश नियुक्त हुँदा, राष्ट्रिय पञ्चायतको सदस्य मनोनयन गर्दा हरेक जात, समुदाय र वर्गका मानिसहरु समावेश गरिन्थे । ती समुदाय राज्यको पहुँचबाट अलग नहुन् भन्ने दृष्टिकोण सधैं राखिएको थियो ।

हिजो हिन्दू राष्ट्र हुँदा पनि किरात धर्म संरक्षणमा राजसंस्थाको योगदान थियो भने जनजातिहरुलाई कुनै प्रकारले उपेक्षा गरिएको थियो भन्ने मलाई लाग्दैन ।

वास्तविकता के हो भने हामी सबभन्दा माथि देश छ । देशभन्दामाथि कोही छैन । अहिले देश नै संकटमा परेको बेला जात विशेषको कुरा गर्नुभन्दा यो देशको स्थायित्व कसरी हुन्छ, के गर्दा देश बलियो बन्छ, त्यसमा ध्यान दिनुपर्छ । मैले देशलाई शिरमा राखेर सोच्दा देशभन्दा माथि केही कुरा छैन, यो देश रह्यो भने मात्र म राजेन्द्र लिङ्देन रहन्छु, हामी नेपाली रहन्छौं । अनि बल्ल म लिम्बु रहन्छु, जात रहन्छ । देशै रहेन भने हामी कहाँ रहन्छौं भन्ने कुरालाई ध्यानमा राखेर म नेपालको सन्दर्भमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएको हुँ ।

तर, तपाईं संविधानभन्दा माथि, देशभन्दा माथि म छु भनेर सबै अधिकार आफूमा केन्द्रित गरेको मान्छेलाई फेरि राजा बनाउनुपर्छ भनिरहनुभएको छ नि ?

राजाको कदम पूरै परीक्षण हुन पाएन । राजाले त्यसबेला तीन वर्ष म्याद मागेको कुरा बिर्सिनुहुँदैन । देशमा हत्या हिंसा आतंक व्याप्त थियो । भ्रष्टाचार व्यापक थियो । दलहरुले आवधिक निर्वाचन समेत गर्न सकेका थिएनन् ।

जनअनुमोदित भनिएका राजनीतिक दलहरु आवधिक निर्वाचनसम्म गर्न नसक्ने अवस्थामा रहेका वेला राजाले अभिभावकको हिसाबले तीन वर्ष तोकेर त्यो अवधिमा हत्या, हिंसा आतंक समाप्त गरेर, चुनाव गरेर जनताका प्रतिनिधिलाई शासन फर्काउँछु भनेर जिम्मा लिइबक्सेको थियो ।

तर, दलहरुले हुँदैन भनेपछि राजाले १८ महीनामै जनताको नासो जनतालाई नै फिर्ता गरेको कुरालाई पनि बिर्सन मिल्दैन । त्यसबेला देशको परिस्थिति अलग थियो । अहिले हामीले परिकल्पना गरेको राजसंस्था पनि अलग हो । यो प्रत्यक्ष शासनको कुरा होइन ।

यसरी ‘रिग्रेसिभ लाइन’मा जानुभन्दा राप्रपालाई नै ‘प्रोग्रेसिभ’ बनाउन सकिन्न ?

निरन्तरता सहितको परिवर्तन भनेर हामीले सम्वर्द्धनवादको कुरा गरेका छौं । देश निर्माण प्रक्रियामा सकारात्मक कुरा पुराना भए पनि त्यसलाई जोगाउँदै नयाँतर्फ जाने हो । नयाँमा जाने नाममा पुरानो सबै भत्काउने तर नयाँ कस्तो हुने भन्ने योजना पनि नहुने अवस्थाले गर्दा भएको क्षति हामीले व्यहोरिरहेका छौं ।

माओवादी द्वन्द्वमा हामीले व्यहोरेको क्षतिपूर्ति नै हुनसक्दैन । त्यो बेला पुरानो सबै नभत्काई नयाँ केही हुनै सक्दैन भनियो । पुरानो भत्काइयो तर नयाँको तयारी रहेनछ । त्यसकारण, राप्रपा निरन्तरता सहितको परिवर्तनको पक्षमा छ ।

राजसंस्था र हिन्दू राष्ट्रको कुरा गर्नु प्रतिगमन अथवा प्रगतिको बाधक हुँदै होइन । दुनियाँमा धेरै राष्ट्र राजसंस्था भएर पनि समृद्धिको शिखरमा छन् । राजसंस्थाको कुरा गर्ने वित्तिकै प्रतिगमन, पुरानोतर्फ वा ‘रिग्रेसिभ’ हुँदैन ।

२०६२/६३ को परिवर्तनपछि राजसंस्था चाहिन्छ भन्दा भोट पाइने त कुरै छोडौं, ज्यान जोगाउन गाह्रो हुने अवस्था थियो । अहिले राजसंस्था र हिन्दू राष्ट्रको औचित्य र आवश्यकताबोध हुँदैछ ।

अहिले पनि कतिपय मानिसलाई अफ्ठ्यारो लाग्नसक्छ, तर नेपालको सन्दर्भमा हिन्दू राष्ट्र र राजसंस्था धरातलीय यथार्थ हो । भोलि राजसंस्था आएर मन्त्री बनाउला, प्रधानमन्त्री बन्न पाउँला भनेर राजेन्द्र लिङ्देनले विषय उठाएको होइन ।

धर्मको विषयमा रवीन्द्र मिश्रले जनमत संग्रह गर्नुपर्छ भनिरहेका छन् । केपी ओलीले पनि धर्म ‘क्यास’ गर्न खोजिरहेका छन् । कांग्रेसभित्र पनि बेलाबेला यो विषय उठ्ने गरेको छ । सबैले बोकेको एजेण्डा लिएर चुनावमा जाँदा राप्रपाले भोट पाउँछ त ?

यो एजेण्डा अरुले पनि उठाउँछन् भन्ने तपाईंको कुरा होला, तर कुन तहले उठाएको भन्ने कुरा महत्वपूर्ण हो । रवीन्द्रजी जनमत संग्रहसम्म आइपुग्नु भयो । यो पनि खुशीको कुरा हो, तर उहाँले ‘हिन्दू राष्ट्र हुनुपर्छ’ भनेको होइन ।

केपी ओलीले उठाउने गरेको हिन्दू धर्मको कुराले हिन्दू राष्ट्रको पक्षमा जुन जनमत निर्माण गर्दैछ, त्यो राप्रपाको पक्षमा जानसक्छ भन्ने सोचेर, त्यो जनमतलाई अल्मल्याउनुपर्छ भनेर रवीन्द्रजीहरुको कुरा आएको हो ।

केपी ओली, शेरबहादुर देउवाहरु हिन्दू राष्ट्र चाहनुहुन्छ भने त दुई दिनमै हिन्दू राष्ट्र आइहाल्छ नि । त्यसकारण, मिश्रहरुले व्यवहारमै एजेण्डाकै रुपमा हिन्दू राष्ट्र चाहिन्छ भनेको होइन ।

अघिल्लो चुनावमा राप्रपा एक सिटमा सीमित भयो, त्यो पनि ओलीसँग समीकरण गरेर । यिनै एजेण्डामा जनताले राप्रपालाई नै किन पत्याउने ?

अरु जनजीविकाको एजेण्डा पनि उठ्छन् । हिजो त हामी १६५ निर्वाचन क्षेत्रमध्ये केबल ५ ठाउँमा उठ्यौं । ३३० वटा प्रदेशसभा सिटमा ४ जना मात्र उम्मेवार उठायौं । भनेपछि, हामीले जनतालाई राप्रपा छ, छैन भन्ने नै बताउन सकेनौं । जनताले हाम्रो एजेण्डा मन पराउँछन् कि पराउँदैनन् भन्ने त कुरै रहेन ।

अब हामी त्यो रणनीतिगत त्रुटि सच्याएर जान्छौं । पहिलो कुरा हामी देशैभर उम्मेदवारी दिन्छौं । अर्को कुरा, गत चुनावबाट गठबन्धन संस्कृति पनि विकसित भएर आइरहेको छ । आगामी चुनावमा हामी त्यसको पनि उपयोग गर्न सक्छौं । प्राथमिकता भने आफ्नै बलमा अग्रणी पार्टीको रुपमा स्थापित हुने कुरामै रहन्छ ।

गत चुनावमा तपाईंको निर्वाचन क्षेत्रमा एमालेसँग गठबन्धन भयो । अबको निर्वाचनमा पनि त्यसले निरन्तरता पाउँछ ?

सबै राजनीतिक पार्टीसँग हाम्रो समदुरीको सम्बन्ध छ । कोही नजिक वा टाढा भन्ने छैन । चुनावी गठबन्धन आपसी आवश्यकता र प्राथमिकताको आधारमा हुने हो । एमाले, कांग्रेस वा अरु कसैलाई हामीले राजेर मात्र हुने कुरा भएन । कांग्रेस वा एमालेले हामीलाई राेजेर मात्र पनि हुँदैन । गठबन्धन भन्ने कुरा हो तत्कालीन परिस्थिति र आवश्यकतामा निर्भर रहन्छ ।

तपाईंको पार्टीमा कमल थापा हारेपछि एक किसिमको रडाको देखिएको छ । चिठीपत्र, ट्वीटरमा आइरहेको छ । थापाको पनि एउटा ‘लिगेसी’ छ, राप्रपामा । उहाँलाई कसरी हेर्नुहुन्छ ?

पार्टीमा अझै पनि उहाँको सक्रिय भूमिकाको खाँचो छ । हिजो कार्यकारी नेतृत्वमा हुनुहुन्थ्यो, भोलि संसदीय फाँटमा अभिभावकीय भूमिकामा रहने ठाउँहरु छँदैछन् । भूतपूर्व अध्यक्ष वरिष्ठ सदस्यको रुपमा केन्द्रीय कार्यसमितिमा रहने व्यवस्था हाम्रो विधानमै छ । त्यो बाहेकका जिम्मेवारी पनि हुन्छ । भोलि मन्त्री, प्रधानमन्त्री बन्ने बाटो उहाँलाई खुला छ ।

उहाँ राजनीतिबाट अवकाश लिनुभएको होइन । अहिले निर्वाचनको तातोमा सानोतिनो तिक्तता छ, त्यो सब साम्य भएर जान्छ । हामी मिलेरै काम गर्छौं ।

उहाँले निर्मलनिवासबाट हस्तक्षेप भयो भन्दै छानबीनको माग गर्नुभएको छ । छानबीन गर्नुहुन्छ ?

हामीसम्म लिखित पत्र आएको छैन, ट्वीटर, फेसबुकमा भनेको केही अर्थ छैन । उहाँले दुई दिनअघिसम्म कुनै टेलिभिजनमा मलाई राजाको सहयोग छ, राजालाई दलको विषयमा तान्नुहुँदैन पनि भनिरहनुभएको थियो । दुई दिनपछि केमा हस्तक्षेप भयो मलाई थाहा भएन ।

मलाई लाग्छ, यी सब कुरा साम्य भएर जान्छन् । राप्रपामा राजसंस्थाको बारेमा नकारात्मक सन्देश जाने खालका कुनै छलफल, बहस हुँदैनन् । त्यस्तो कुनै सम्भावना पनि छैन ।

चुनावी समीकरण पनि अचम्मकै हुँदोरहेछ । कांग्रेसको समीकरण पनि हामीले देखिहाल्यौं । तपाईंलाई पनि निर्मलनिवासले सहयोग गरेको हो ?

त्यस्तो केही होइन । यस्तो कुरा गर्दा ४२–४३ सय महाधिवेशन प्रतिनिधिको अपमान हुन्छ । महाधिवेशन प्रतिनिधिले गरेको निर्णयलाई कहीं लगेर जोड्नु उहाँहरुको अपमान हो ।

कहिलेकाहीं पूर्वराजा ज्ञानेन्द्रसँग तपाईंको कुराकानी हुँदो हो । उहाँले कुनै बेला म राजगद्दीमा फर्कन सकुँला भन्ने खालको विश्वास व्यक्त गर्नुहुन्छ ?

संसदको निर्वाचनपछि एकपटक दमकमा भेट पाएको थिएँ । त्यसपछि केही महीनाअघि एक पटक भेटें । दुवै भेटमा तपाईंले भने जस्तो कुरा भएन । पूर्वराजासँग अन्तरंग कुराकानी, सम्पर्क हुने खालको सम्बन्ध मेरो छैन ।

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?