+
+

सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई तालिवानले रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १३:४२

८ पुस, काठमाडौं । तालिवान सेनाले अफगानिस्तानसँग जोडिएको सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई रोकेको छ ।

बुधबार अफगानिस्तानका अधिकारीले दुवै मुलुकको सिमानामा काँडेतार लगाउने क्रममा पाकिस्तानी सेनालाई रोकेको बताएका हुन् । अफगान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारज्मीले पूर्वी प्रान्त नाङ्गाहारमा आइतबार गैरकानूनी रुपमा काँडेतार लगाइरहेका पाकिस्तानी सेनालाई तालिवान सेनाले रोकेको बताएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा तालिवान सेनाले पाकिस्तानी सेनाको काँडेदार जफत गरेको देख्न सकिन्छ । त्यस्तै, तालिबानका एक वरिष्ठ अधिकारीले केही परको सुरक्षा पोष्टमा रहेका पाकिस्तानी सेनालाई अबदेखि सीमामा काँडेदार नलगाउन भनेको सुन्न पनि सकिन्छ ।

यसैबीच, तालिवानका प्रवक्ता बिलाल करिमीले घटनाको छानबिन भइरहेको बताएका छन् । यसबाहेक नाम गोप्य राख्ने सर्तमा दुईजना तालिवान अधिकारीले सीमामा भएको घटनापछि तालिवान र पाकिस्तान सेनाबीच तनावपूर्ण अवस्था आएको बताएका छन् ।

घटनालगत्तै पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार प्रान्तमा बुधबार मोर्टार हमला गरेको पनि ती अधिकारीहरूको भनाइ छ । मोर्टार हमला र काँडेतारको घटना आपसमा सम्बन्धित रहे वा नरहेको भनेर प्रस्ट भइसकेको छैन । तर, लगत्तै अफगान सेनाका हेलिकप्टरले उक्त क्षेत्रमा गस्ती गरेका थिए । पाकिस्तानी सेनाले भने उक्त घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तान र अफगानिस्तानबीच २६०० किलोमिटर लामो सिमाना छ । बेलायतको उपनिवेशकालीन समयमा छुट्ट्याइएको सिमानाका कारण दुवैतर्फका परिवार एवं जातिहरू अलग हुन पुगेका छन् । तर, अफगानिस्तानको विरोधबीच पाकिस्तानले अधिकांश सीमानालाई काँडेतारले घेरिसकेको छ ।

यसअघि अमेरिकाको समर्थन प्राप्त अफगान सरकार र पाकिस्तानबीच सिमानामा काँडेतार लगाउने विषयमा विवाद उत्पन्न भएको थियो । तालिबान र पाकिस्तानको नजिकको सम्बन्ध छ तर, पछिल्लो घटनाले उक्त विषयलाई लिएर दुबै पक्षबीच मतभेद रहेको प्रस्ट हुन्छ । डन डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?