+
+
अन्तर्वार्ता :

‘प्रचण्डको भन्दा नयाँ विचार आए नेतृत्व छोड्न तयार छौं’

प्रचण्ड व्यक्ति त हो तर, फेरि प्रचण्ड पार्टीको केन्द्रिकृत अभिव्यक्ति पनि हो । कसैलाई प्रचण्ड मन नपर्न सक्छ, माओवादी मन नपर्न सक्छ तर, आखिर देश त यहाँ (प्रचण्डले उठाएका एजेण्डाहरुमा) आएको हो । त्यो फगत एउटा व्यक्ति भएर होइन, विचारले हो, कार्यदिशाले पनि हो, नेतृत्वले पनि हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १३:३६

९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल राष्ट्रिय सम्मेलनबाट महासचिव हुन चाहन्छिन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा निरन्तर नजिक रहेर काम गर्दै आएकी भुसाल प्रचण्डको भन्दा नयाँ विचार लिएर कोही आए नेतृत्व छोड्न पनि तयार रहेको बताउँछिन् ।

कसैले नयाँ विचार लिएर आयो भने प्रचण्डको वरिपरि रहेकाहरु नेतृत्व छोड्न तयार हुनुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कसैले लिएर आए त छोडिहालिन्छ नि ।’

प्रस्तुत छ भुसालसँग माओवादी आन्दोलन, प्रचण्डपथ र राष्ट्रिय सम्मेलनका विषयमा अनलाइनखबरकर्मी सइन्द्र राईरघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय सम्मेलनको तयारी कहाँ पुग्यो ?

सम्मेलनको संगठनात्मक तयारी करिब सकिएको छ । सात भौगोलिक र तीन गैरभौगोलिक विशेष प्रदेशहरुको सम्मेलन र प्रतिनिधि चयन सकिएको छ । विभागहरुबाट प्रतिनिधि पठाउने काम टुंगिएको छ । व्यवस्थापकीय पाटो पनि करिब सकिएको छ ।

वैचारिक राजनीतिक प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कमरेडको छ । आज शुक्रबार हामी स्थायी कमिटीको बैठक बस्दैछौं, त्यहाँ राजनीतिक प्रतिवेदन प्रस्तुत होला । त्यसमाथि छलफल गरेर केन्द्रीय समिति र राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुन्छ ।

अर्को, हामी जनयुद्धबाट शान्ति प्रक्रियामा आएदेखि पछिल्लो पटक नेकपा बनेर फेरि माओवादी बन्दासम्म धेरै उतार चढावहरु आए । अब व्यवस्थित विधिसंगत ढंगले चल्ने संगठन निर्माण गर्न चाहेका छौं । त्यसका लागि तलैदेखि भेला सम्मेलनमार्फत् विधिसंगत ढंगले बनेका संगठनहरु बनाएका छौं । त्यसलाई गाइड गर्ने भनेको अन्त्यमा विचार राजनीति हो । विचार राजनीतिमा मार्क्सवाद, लेलिनवाद, माओवाद र युद्धकालमा संश्लेषण गरेको प्रचण्डपथ थियो । शान्तिकालमा आएर पार्टी एकीकरणको एउटा सन्दर्भमा यत्तिकै स्थगन जस्तो भएको थियो । २१औं शताब्दीको जनवाद भनेर पनि विकास गर्‍यौं । अब अघि बढ्नका निम्ति हाम्रो विचारको थप परिमार्जन, थप संश्लेषण गर्न जरुरी छ ।

त्यसो गर्दा हामीले समाजवादको आधार तयार पार्ने र समाजवादमा जाने भनेका छौं । कस्तो समाजवाद ? कसरी समाजवाद ? भन्नेमा आफ्नै विशिष्ठता, मौलिकताका आधारमा कार्यदिशा विकास गर्न चाहन्छौं र त्यही विचार, राजनीति र कार्यदिशाको विकास अनुकूलको संगठन, कार्यक्रम र राणनीतिक कार्ययोजना बनाएर जाने अवसर भएकाले महाधिवेशनकै ओझ बोक्ने राष्ट्रिय सम्मेलन हो ।

विचारको बहसको जुन जरुरी छ, त्यसका लागि महाधिवेशन नै गर्नुपर्ने थियो होइन ?

तपाईंले भनेको एकदम ठीक हो । तर विचारको बहस पार्टी सदस्यले ले मात्र गरेर पुग्दैन, जनताको स्तरबाट हुनुपर्छ । विपक्षी, सहमत नहुनेहरुको पनि विचार, धारणा सुन्ने र आफ्ना बिचारलाई परिस्कृत गर्दै अगाडि बढ्ने भन्ने हुन्छ । त्यो समय अहिले हामीलाई भएन । हामी हिजोकै कार्यदिशाबाट र कार्ययोजनाले अगाडि बढ्न नसक्ने, समग्र बनाउँदा पर्खिन पर्ने भयौं । त्यसैले अहिलेको अवश्यकतालाई सम्मेलनमार्फत् सम्बोधन गर्छौं । महाधिवेशनसम्म पुग्दा चाहीँ हामी राष्ट्रिय, अन्तरराष्ट्रिय, भित्र र बाहिर दुइटै बहस गर्छौं ।

उसो भए विचारको बहस कायमै रहन्छ, राष्ट्रिय सम्मेलनले तत्कालिक कार्यदिशा मात्र तय गर्छ ?

रणनीतिक हिसावले त केही पनि समस्या छैन, समाजवाद हुँदै साम्यवाद भनिरहेका छौं । तर नेपाली मौलिकताको हाम्रो विशेषताको समाजवाद र त्यो समाजवादमा जाने कार्यदिशा के हुन्छ ? हामी त्यतातिर अलि बढी केन्द्रित हुन्छौं ।

आधारभूत हिसावले मार्क्सवाद, लेनिनवाद, माओवाद हो । तर, हामीले सामन्तवादको अन्त्य गर्ने क्रान्ति मौलिक ढंगले जनयुद्ध जनआन्दोलन हुँदै गएर एउटा ढंगले सम्पन्न गर्‍यौं । समाजवाद पनि हिजोको गोल्सेली, चिनियाँ, भियतनाम, क्युवा या पूर्वी युरोपजस्तो हुने छैन । हाम्रै विशेषताको, हाम्रै मौलिकताको हुनेछ ।

त्यसलाई फेरि प्रचण्डपथ भन्ने हो कि अरु केही ?

एकदम सत्य हो कि हामीले अध्यक्ष प्रचण्डको नेतृत्वमा केवल व्यक्ति वा संगठनको मात्रै होइन, हाम्रै देशको मौलिकता, विशेषतामा मार्क्सवादको सिर्जनशिल ढंगले प्रयोग गरेर मान्छेले असम्भव ठानेको जनयुद्ध र त्यसका एजेण्डाहरु कार्यान्वयन गर्‍यौं । हामीले भने जति सबै त भएन, तर मूलभूत रुपमा गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता एजेण्डा त जनयुद्धमा थिए । त्यसैले प्रचण्ड व्यक्ति त हो तर, फेरि प्रचण्ड पार्टीको केन्द्रिकृत अभिव्यक्ति पनि हो । कसैलाई प्रचण्ड मन नपर्न सक्छ, माओवादी मन नपर्न सक्छ तर, आखिर देश त यहाँ (प्रचण्डले उठाएका एजेण्डाहरुमा) आएको हो । त्यो फगत एउटा व्यक्ति भएर होइन, विचारले हो, कार्यदिशाले पनि हो, नेतृत्वले पनि हो ।

बीचमा एकता आदि प्रक्रियाले स्थगन गर्‍यौं। अब समीक्षा, विश्लेषण र संश्लेषण गर्ने ठाउँमा आएका छौं । हिजो स्थगन गरेको ठाउँमा फर्किएर मात्र पुगिन्न, अगाडि जानुपर्छ । त्यो यता विकशित भएको परिस्थितिबाट विचारलाई परिस्कृत गरेर जानुपर्छ ।

एउटा टर्मिनोलोजी चाहिन्छ होला नि ?

टर्मिनोलोजी हामी केही गरौंला । तर निश्चित रुपमा हिजोको विचारले मात्रै यहाँ आइपुगेका छैनौं । मार्क्सवाद, लेलिनवाल, माओवाद मान्यौं, संश्लेषण गर्‍यौं र जनयुद्धमा गयौं । जनयुद्धमा हाम्रो आफ्नै मौलिकताको थियो । पहिले हामी वर्गीय भनेर गयौं । पछि वर्गीय मात्रै होइन नेपाली समाजको लिंगीय पनि छ, क्षेत्रिय पनि छ, जातीय पनि छ, सांस्कृतिक पनि छ भनेर समाजको विश्लेषण गर्‍यौं र त्यसलाई आफ्नो कार्यदिशा र कार्ययोजनाको अंग बनायौं । मानिसहरुले नपत्याउने ढंगले आन्दोलनको एउटा आँधीबेहरी भयो । त्यसयता झण्डै १४/१५ वर्ष भइसक्यो । यो अवधिमा हासिल गरेको उपलब्धि, चुनौती, समस्या, क्षति, अन्तर्राष्ट्रिय परिस्थिति सबैको समिक्षा गरेर एउटा निष्कर्षमा पुग्छौं ।

प्रचण्डले परिवर्तित परिस्थितिमा पनि आफूलाई अपग्रेट गरेर त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्वको क्षमता राख्नुभाछ । प्रचण्डले भन्दा नयाँ विचार नयाँ कार्यदिशा लिएर जान सक्ने हामीकहाँ कोही आएन ।

सशस्त्र विद्रोहको बाटो छाडेर शान्ति प्रक्रियामा आउनुभयो । बहुदलीय प्रतिस्पर्धाहरुमा भाग लिइरहनु भएको छ, तर फेरि प्रचण्डपथको भन्नुभयो भने अरु झस्किएलान् नि ?

प्रचण्डपथ भनेको जनयुद्धकालको विचारको विकासको एउटा अभिव्यक्ति थियो । त्यहाँ त्यो एउटा टर्मिनोलोजी विकास भयो । अब त्यहाँ फर्किन्नौं तर, हामी त्यसको उपलब्धि र त्यहाँदेखि यता विकसित भएको परिस्थिति, जहाँ अहिले पनि माओवादी पार्टी छ, विचार छ, संगठन छ, त्यसका पछाडि लाखौं जनता छन् र त्यसको समग्र केन्द्रिकृत नेतृत्वका रुपमा केन्द्रीय कमिटी र त्यसको पनि नेतृत्वमा प्रचण्ड कमरेड हुनुहुन्छ । चाहेपनि नचाहे पनि उहाँकै वरिपरी देशको राजनीति केन्द्रित छ । फगत एउटा व्यक्तिका लागि भएको भए अरु केही हुन्थ्यो होला, त्यहाँ त राजनीति, विचार र त्यसले अभिव्यक्त गरेका संगठन छ । त्यसकारण हामी त्यहाँबाट पनि अगाडि बढ्ने हो ।

बागमती र प्रदेश १ मा मतदानबाट नेतृत्व चुन्ने अवस्था बन्यो । हिजो जनवादी केन्द्रियता भनेर माथिबाट तोकिन्थ्यो, के त्यो अवस्था बदलिएको हो ?

मत व्यक्त गर्ने पहिला पनि हुन्थ्यो, अहिले खुला भएकाले देख्नुभयो होला ।

त्यतिबेला अध्यक्षले कारबाही गर्नुहुन्थ्यो होला, यहाँ त मतदाताले गर्छन् नि त …

होइन, होइन । जनवादी केन्द्रियताको विधिमा सर्वसम्मत भए सबभन्दा राम्रो जनवाद, भएन बहुमतीय प्रणाली । संगठनको मामलामा मात्र होइन, विचारको मामलामा पनि बहुमत अल्पमतबाट निर्णय गरेको थियौं । यो नयाँ कुरा होइन ।

पहिले यसको निर्णय अध्यक्षले लिनुहुन्थ्यो, अहिले मतदाताले लिन्छन् ?

अध्यक्षले होइन, कमिटी कमिटीमा हुन्थे । कार्यदिशामै दुईमत भएपछि दीर्घकालीन जनयुद्धमा जाने कि नजाने भनेर बहुमत अल्पमतबाट निर्णय गरेका हौं । पछि त्यसैका कारणले पार्टी फुट्यो । जनयुद्धका पक्षधर जनयुद्धमा गयौं, जनयुद्ध सम्भव छैन भन्ने साथीहरु अलग पार्टीमा बस्नुभयो । यो (बहुमत अल्पमत) पटक पटक अभ्यास भइराखेको मात्र हो, अहिले देखिने कुरा हो ।

प्रचण्ड जता जता बग्छन् त्यही अनुसारको विचार बनाउने र त्यसलाई चाहिँ प्रचण्डपथ भन्ने हो ?

प्रचण्ड होइन, नेपाली समाजलाई अग्रगति दिन, रुपान्तरणको अग्रगामी बाटोतिर लैजान जे एजेण्डा, आन्दोलन या अभियान जे भन्नुहुन्छ, त्यो हो । त्यसमा प्रचण्डको नेतृत्वदायी भूमिका छ, किनकी प्रचण्ड व्यक्ति मात्रै होइन । यो सिंगो माओवादी आन्दोलनमा सांगठनिक हिसावले माओवादी पार्टीको नेता पनि हो ।

जति वर्ष युद्ध गर्नुभयो, त्यो भन्दा धेरै त माओवादी खुला राजनीतिमा छ । तर, अझै प्रचण्डको विकल्पै देख्न नसक्ने परिस्थितिबाट आउनु भनेको माओवादीको आन्दोलन साह्रै संकुचन रहेछ भन्ने हो नि होइन ? नेतृत्वको त विकासै भएको रहेनछ !

त्यो पनि भन्न सकिन्छ । तर अर्को ढंगले हेर्ने हो भने प्रचण्डले परिवर्तित परिस्थितिमा पनि आफूलाई अपग्रेट गरेर त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्वको क्षमता राख्नुभाछ । उहाँले त्यो नेतृत्व कसैले दिएर लिएको पनि होइन र नेतृत्व भनेको विचारसहित हुन्छ । त्यसरी हेर्दा प्रचण्डले भन्दा नयाँ विचार नयाँ कार्यदिशा लिएर जान सक्ने हामीकहाँ कोही आएन । त्यो पनि भन्न सकिन्छ ।

माओवादीले आफूलाई परिस्थिति अनुकुल बनाउँदै ल्याएको भए यो अझ फैलनुपर्ने थियो, यहाँ त झन झन खुम्चिएको छ । प्रचण्ड रहँदासम्म माओवादी रहने त होइन भन्ने टिप्पणीहरु पनि हुन्छन् । यसलाई कसरी लिनु हुन्छ ?

युद्धकालमा हाम्रा एजेण्डामा जुन जनसर्मथन थियो, त्यसलाई मानिसहरु बन्दुकले हो भन्थे । तर हामीले व्यालेटमा पनि पुष्टि गर्‍यौं । हाम्रा आफ्नै पनि केही कमजोरी होलान्, पटक पटकको टुटफुटले पनि काम गरेको होला, यसको पनि हामीले समीक्षा गर्छौं । देश हाम्रो एजेण्डाले चल्ने तर, माओवादी फेरि कमजोर भइरहने ! सम्मेलनबाट यसको जवाफ दिनुपर्छ ।

नेतृत्व सत्ताको खेलमा बहकियो, दोस्रो–तेस्रो पुस्ताले सच्याउने हैसियत राखेन, होइन र ?

त्यो होइन । हामीले त्यति ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धि अझै संस्थागत हुन सकेको छैन । त्यो बच्छ कि बच्दैन भन्ने छ । गत वर्ष यतिबेलै कस्तो अवस्था थियो ? हामी सडकमा थियौं । हामीले प्राप्त गरेको व्यवस्था, सहिदको रगतसँग साटेको संविधान, हाम्रो राष्ट्रिय स्वाधिनता कहाँ पुगेको थियो ? हामी यसको रक्षा गर्न लाग्यौं । हामी यसको रक्षा गर्दै विकास गर्ने प्रयासमा छौं ।

हामी जितेर ढुक्क भयौं भन्ने पनि छैन । जति पाएका छौं, त्यही अन्तिम भन्नेमा पनि छैनौं । हामीलाई अगाडि पनि जानुछ । हामी अगाडि जाँदा पछाडिका कयौं समस्या त्यसै हल हुन्छ । अघि बढ्न सकेनौं भने अझ थप समस्या पैदा हुन्छन् । त्यसैले यो सम्मेलनमा हामीले उपलब्धिका साथै हाम्रा समस्या, सीमा र कमजोरीको पनि निर्मम समीक्षा गर्छौं र पुनः हामी अगाडि जान्छौं ।

नेतृत्वको कमजोरीबारे पनि समीक्षा गर्नुहुन्छ ?

हामी नीति, नेतृत्व र विचारको पनि समीक्षा गर्छौं । यथास्थितिको विचारमा बस्दा, विचारको विकास गर्न नसक्दा समस्या भएको हुनसक्छ । समग्र विषयको समीक्षा गर्छौं ।

पुरानो पुस्ताको परीक्षण भइसक्यो, ब्यालेटबाट नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि अगाडि बढ्छ ?

हामी जनवादी केन्द्रीयताका सच्चा अनुयायी हौं । त्यसमा पनि म जेनेरेशन मान्दिनँ । मान्छेको पुस्ता हुन्छ, विचार र राजनीतिको हुँदैन । राजनीतिमा थप नयाँ विचार ल्याउने नै नयाँ पुस्ता हुन्छ ।

कसैले नयाँ विचार लिएर आयो भने तपाईंहरु छोड्न तयार हुनुहुन्छ ?

कसैले लिएर आएत छोडिहालिन्छ नि ! हिजै प्रचण्ड कमरेडलाई कसैले टिका लगाएर दिएको त होइन । उहाँ त तत्कालीन पार्टीको केन्द्रीय कमिटीमा सबभन्दा जुनियर मान्छे हुनुहुन्थ्यो । ३३–३४ वर्षमा उहाँ पार्टीको महासचिव हुनुभयो । किनभने उहाँले एउटा क्रान्तिकारी विचारको अवधारणा अगाडि सार्नुभयो । त्यसबेला प्राविधिक, संगठनात्मक बहस र विवाद हुन्थ्यो । उहाँले यो क्रान्तिकारी विचारको समस्या हो भन्नुभयो, विचारमै हल खोज्नुपर्छ भन्नुभयो र हामीले हाम्रो विशिष्टताको जनयुद्धको कुरा गर्‍यौं ।

विचारको मापन कसरी हुन्छ ? टाउको गनेर हुन्छ कि वा अरु कुनै विधि छ ?

टाउको गन्नेभन्दा पहिला विचारकै बहस हुन्छ । त्यसलाई मान्ने कि नमान्ने भन्ने पनि बहस त हुनसक्ला ।

एउटा मानक त हुन्छ होला नि ?

मुख्य कुरा विचारमा तर्क बहस नै हुन्छ । अहिले भएकोभन्दा थप नयाँ, तथ्यपरक, वस्तुपरक, अहिलेको २१औं शताब्दीको विज्ञान प्रविधिलाई समेट्ने गरी कसैले नयाँ विचार ल्याउँछ भने उ नेता हुन्छ । मार्क्सवाद, लेनिनवाद र माओवाद र नेपाली मौलिकतामा जनयुद्ध र जनआन्दोलन हुँदै यहाँसम्म गरेको विकासलाई संश्लेषण गरेर अगाडि जान र थप विकास गर्न सक्छ भने हुन्छ । राजनीतिमा नेतृत्व गर्ने भनेको विचारले हो । अहिले चलिरहेका धेरै पार्टीका महाधिवेशनहरूमा उमेरको बहस छन् । सञ्चार माध्यम पनि त्यसकै पछाडि दौडिरहेको छ । तर काँग्रेस र एमालेका महाधिवेशनबाट के विचार आयो त ? विभिन्न उमेरका नेतृत्वहरु आएका छन् तर नेपाली समाजलाई अगाडि बढाउने कुन विचार र कार्यक्रम अगाडि ल्याइएको छ त ?

कम्तिमा नयाँ उमेरका नेतृत्व आओस् भन्ने जनमानसको चाहना होला नि ?

मान्छेलाई कहिलेकाही यस्तो कुराले प्रभाव पार्छ । कम उमेरका आउँदा केही हुन्छ कि भन्ने लाग्ला । तर राजनीति भनेको त विचार, राजनीति र कार्ययोजनाद्वारा अगाडि ल्याउने हो । बीपी कसरी अगाडि आए ? किनकि राणाशासन र निरंकुश शासनका विरुद्ध त्यतिबेलाको प्रजातान्त्रिक व्यवस्थाको अवधारणा ल्याए । त्यो राणाशासनभन्दा प्रगतिशील थियो ।

हामीलाई लाग्यो– निरंकुश एकात्मक राजतन्त्रात्मक व्यवस्थाभन्दा जनताको जनगणतन्त्र संघीय लोकतान्त्रिक र समावेशी लोकतन्त्र हुनुपर्छ । यही विचारका कारण पो हामी अरु पार्टीभन्दा नयाँ भयौं ।

अब योभन्दा राम्रो विचार ल्याउनुपर्‍यो नि ! यतिबेला नेपाली समाजले खोजेको समाजवाद हो । यो भन्ने कुरा मात्र होइन, गर्ने कुरा हो । स्थापना गरेर कार्यान्वयन गर्ने कुरा हो । यसका लागि विचार, राजनीति, नेतृत्व, योजना, आर्थिक/सामाजिक/राजनीतिक हिसाबले नयाँ विचार र योजना ल्याउनुपर्छ । यी योजनासँग जनतालाई कसरी जोड्न सक्नुहुन्छ । त्यही नै नयाँ विचार र नयाँ नेतृत्व हो ।

माओवादीले पुनः यस्तो नयाँ विचार र कार्यक्रम ल्याउँछ त ?

अध्यक्ष प्रचण्डले दस्तावेज प्रस्तुत गर्नुहुन्छ । त्यो होइन यो हो भनेर कसैले फरक दस्तावेज ल्याउन सक्छ । समग्र विकल्पमा पनि कसैले दस्तावेज ल्याउन सक्छ, पूरक दस्तावेज पनि ल्याउन सक्छ । तब न सम्मेलन हो, नत्र त सर्कुलर पठाए भइहाल्थ्यो ।

तर माओवादी पार्टी रहेसम्म प्रचण्ड बाहेक अरु आउनसक्दैन भने जसरी व्याख्या गर्दै हुनुहुन्छ तपाईंहरु नै ?

हाम्रो समाज व्यक्तिगत सम्पत्तिमा आधारित छ । उत्पादनका साधनमाथि व्यक्तिको स्वामित्व छ । त्यसैले मान्छे अलि बढी व्यक्ति केन्द्रित भएर हेर्ने र त्यसरी नै आफ्नो धारणा बनाउने गरिन्छ ।

हामीसँग सिंगो पार्टी छ । विभिन्न तहका मर्यादाक्रममा रहेका नेतृत्वको समग्र माओवादी पार्टी छ । माओवादी केन्द्रको केन्द्रिकृत अभिव्यक्तिको रुपमा केन्द्रीय समिति छ, केन्द्रीय नेताहरुहरुको पनि नेता अध्यक्ष कमरेड हो । माओवादी भनेको मान्छेको भीड होइन । भीड थियो भने कोही मान्छे भौतिकरुपमा नहुने बित्तिकै सकिन्थ्यो, तर माओवादी आन्दोलन, पार्टी र संगठन विचार र राजनीतिले बाँधेको निश्चित कार्यदिशामा हिंडेको पार्टी हो । यो कहीँ गएर अन्त हुँदैन । परिस्थिति, समाज, अर्थ–सामाजिक स्थिति, विश्व परिस्थिति बदलिए अनुसार आफूलाई बदल्न सकेन भने मात्रै यो पार्टी सकिन्छ । परिवर्तित र विकसित अवस्थामा आफूलाई अद्यावधिक गर्दै उक्त परिस्थितिको नेतृत्व गर्न सक्नुपर्छ । किनकि राजनीतिक पार्टी भनेको थोरै अगुवा हुनुपर्छ । पछिपछि हिंड्ने नेतृत्व गर्न सक्दैन । एकदम अगाडि जानेले पनि नेतृत्व गर्न सक्दैन ।

तर समग्र परिस्थितिको राम्रो आंकलन गरेर त्यसलाई आफूतिर डोर्‍याउन सक्ने राजनीतिक पार्टी वा विचार वा नेतृत्व मात्रै जीवन्त ढंगले अगाडि जान सक्छ । त्यसको निम्ति माओवादी एउटा व्यक्तिका रुपमा सीमित छैन, यो एउटा आन्दोलनको रुपमा छ । लाखौं आफ्ना पार्टी सदस्यको सञ्जाल र उत्तराधिकारीको लामवद्धतामा छ । कसैलाई यो सक्किए हुन्थ्यो भन्ने पनि लाग्न सक्ला । सकिन्छ कि भन्ने पनि लाग्ला । तर सकिँदैन । हाम्रो समाजमा विभेद र अन्तरविरोधहरु कायम रहँदासम्म पार्टी रहन्छ । पार्टीको जरुरी रहँदासम्म माओवादी आन्दोलन सकिँदैन ।

अध्यक्ष निर्विकल्प भए पनि बहुपदीय संगठनको अभ्यास माओवादीले गरेको छ । तपाईंले पनि म यो जिम्मेवारीमा उठ्छु भन्ने सोच्नुभएको छ कि ?

हामी सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्ति मान्ने मान्छे । हामी जुन आन्दोलन र धरातलबाट आयौं, यहाँ व्यक्ति आफैंले जिम्मेवारी तोक्नेभन्दा यो जिम्मेवारीमा बस भन्ने संस्कारबाट आएका हौं । जहाँसम्म मेरो प्रश्न छ, म अहिले जुन तहमा छु, अझै म सक्रिय राजनीति गर्न सक्छु । हामीले बहुपदमा जाने निश्चित गरिसकेका छौं । अझै सक्रिय ढंगले क्रियाशील हुन सक्ने भएकाले कार्यकारी भूमिका भएको पदमा रहन सकूँ भन्ने चाहन्छु ।

जुन पद दिन्छन्, त्यसैमा बस्छु भन्ने अवस्था हो माओवादीमा पनि ?

सम्मेलनको माहौल हेरेर निर्णय गर्छु ।

यही पदमा उठ्छु भन्न सक्ने अवस्था छैन ?

(हाँस्दै) बहुपदमा सबै महत्वपूर्ण हुन्छन् । अलि बढी कार्यकारी भनेको अध्यक्ष र महासचिव हुन्छन् । म अध्यक्ष प्रचण्ड अहिले रहनुभएको ठाउँ दावा गर्दिनँ ।

भनेपछि महासचिव बाँकी रह्यो !

त्यही बुझ्नुस् !

नेतृत्व दावी गर्दा समावेशितालाई पछ्याउनु हुन्छ कि ?

मैले अहिलेसम्म समावेशितालाई टेकेर नेतृत्वमा दावी गरेको छैन । तर अवसर र अधिकारबाट वञ्चित भएकालाई अवसर दिनुपर्छ, अवसर दिएर क्षमता विकास गर्न सकिन्छ ।

माओवादीले सबै तहमा समावेशिता भनेको छ, यसरी हेर्दा पदाधिकारीमा पनि महिला अनिवार्य हुन्छ होला नि ?

हाम्रो पार्टीमा थुप्रै सक्षम महिलाहरु हुनुहुन्छ । ठूलो पदाधिकारी बनाउँदा अरु पनि आउनुहुन्छ ।

अरु पार्टीमा जस्तै केन्द्रीय समितिमा प्रतिशत पुर्‍याउने र पदाधिकारीमा चाहि उपस्थिति मात्र गराउने हो कि ?

त्यस्तो हुँदै, हामी सहभागिता सुनिश्चित गर्छौैं । किनभने समावेशिताको मुद्दा माओवादीले नै उठाएको हो । जनयुद्धमा सहादत प्राप्त गर्ने मध्ये २५ प्रतिशत महिला छन् । जनमुक्ति सेनामा ४० प्रतिशत महिला थिए । त्यो भूमिकाले महिलाको प्रतिनिधित्व र नेतृत्व हुन्छ भन्ने स्थापित भएको हो । त्यसैले अधिकार दिने सवालमा माओवादी अगुवा हो । यो कसैले संकल्प प्रस्ताव राखेर आएको हो र ? माओवादीले संविधानमै ५० प्रतिशत सहभागिताको कुरा उठाएको थियो । संसदवादी पार्टीहरुले नमानेपछि ३३ प्रतिशतमा समझदारी गरेका हौं ।

यो सम्मेलनबाट पनि यो कुरा देखिन्छ र ?

अवश्य पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?