+
+

कांग्रेसमा ८ सहमहामन्त्री, तर छैन जिम्मेवारी

महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने प्रचलन छ । तर दुई महामन्त्रीकै जिम्मेवारी बाँडफाँट नभएको र विधान समेत मौन भएकाले आठ सहमहामन्त्रीको भूमिका के हुने भन्नेमा अन्यौल छ ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष १३ गते १९:५३
नेपाली कांग्रेसको पार्टी कार्यालयमा सहमहामन्त्रीहरुको कार्यकक्ष

१३ पुस, काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवनको छतमा ट्रस्ट हालेर बनाइएको कोठा छ । अघिल्लो कार्यकालको अन्तिमतिर सभापति शेरबहादुर देउवाले ४७ वटा विभाग बनाएपछि चीनकाजी श्रेष्ठ संयोजक रहेको उद्योग व्यापार विभागले यही कोठालाई कार्यकक्ष बनायो ।

१४औं महाधिवेशनपछि त्यही कोठा ८ जना सहमहामन्त्रीको कार्यकक्ष बनेको छ । जसको कोठा बाहिर भित्तामा लहरै नेमप्लेट राखिएको छ, भित्र कोठामा पनि टेबलहरु जोडेर सबै सहमहामन्त्रीहरुको कार्यकक्षको व्यवस्था गरिएको छ । पार्टी कार्यालयका एक कर्मचारी भन्छन्, ‘पहिला पदाधिकारी कम हुँदा कार्यकक्षको समस्या थिएन । अहिले पदाधिकारी धेरै भएकाले कार्यकक्षकै अभाव भएको छ ।’

कार्यालयमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका लागि कार्यकक्षको व्यवस्था थियो । तर यसपटक आठ सहमहामन्त्री थपेको कांग्रेसले उनीहरुका लागि कार्यकक्ष भने जोहो गर्न गाह्रो भएको छ । ‘सहमहामन्त्रीका लागि कोठा छैन, प्रवक्ता थपिएपछि कहाँ राख्ने ?,’ ती कर्मचारीले भने, ‘पद धेरै भयो, कार्यालयमा कोठा थोरै भए ।’

भूमिकाविहीन सहमहामन्त्री

क्लष्टर अनुसार निर्वाचित भएका सहमहामन्त्रीका लागि कार्यकक्ष मात्र होइन, जिम्मेवारी पनि तोकिएको छैन ।

मंसिर २४–२७ गते सम्पन्न महाधिवेशनबाट सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर, महिलातर्फ डिना उपाध्याय, दलितमा जीवन परियार, आदिवासीजनजातितर्फ भीष्म आङदेम्बे, मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित भएका हुन् । तर उनीहरुको काम कर्तव्यबारे कांग्रेसको विधान मौन छ ।

महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने प्रचलन छ । तर पार्टीमा दुई महामन्त्रीकै जिम्मेवारी बाँडफाँट नभएका बेला आठ सहमहामन्त्रीको भूमिका के हुने भन्नेमा अन्यौल छ ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी विधानमै केन्द्रीय कार्यसमितिमा रहेका सबैको भूमिका स्पष्ट उल्लेख हुनुपर्ने खाँचो औल्याउँछन् । ‘कार्यक्षेत्रको दृष्टिकोणले कांग्रेसको केन्द्रीय सदस्यकै काम, कर्तव्य र जिम्मेवारी के हुने भनेर प्रष्ट छैन । विधानमा धेरै कुराको स्पष्टताको जरुरी छ,’ उनले अनलाइनखबरसँग भने, ‘पहिला त एउटै मात्र सहमहामन्त्री हुँदा महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने र महामन्त्रीको सहयोगीका रुपमा काम गर्ने भूमिका हुन्थ्यो । अहिले आठ सहमहामन्त्री छन्, तर उनीहरुले गर्ने काम के हो, विधानमा केही उल्लेख छैन ।’

कांग्रेस विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको जिम्मेवारीबारे मात्र उल्लेख छ । उपसभापति पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने विधानमा व्यवस्था छ । नेताहरुका अनुसार सहमहामन्त्रीलाई प्रदेश संयोजकको जिम्मेवारी दिनेबारे विगतमा छलफल भएको थियो । तर क्लष्टर अनुसार सहमहामन्त्रीको निर्वाचन भएकाले प्रदेश संयोजकको जिम्मेवारी दिन व्यवहारिक नभएको कतिपय नेताहरु बताउँछन् ।

आदिवासी जनजातितर्फबाट सहमहामन्त्री निर्वाचित आङदेम्बे छिट्टै कार्यविभाजन हुने बताउँछन् । ‘पार्टी नेतृत्वमा सबै समुदायको प्रतिनिधित्वका लागि धेरै सहमहामन्त्रीको प्रावधान ल्याइएको हो । सबैको काम पार्टी संगठनलाई बलियो बनाउने हुन्छ,’ उनले भने, ‘पद दिएर मात्र भएन, जिम्मेवारी पनि चाहियो । त्यसकारण कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टीले निर्णय गर्छ ।’

दलिततर्फबाट सहमहामन्त्री बनेका जीवन परियार भने महामन्त्रीको जिम्मेवारी बाँडफाँटपछि आफूहरुको कार्यविभाजन हुने बताउँछन् । उनी आफूहरुको भूमिकाबारे विधानमा औपचारिक रुपमा कुनै उल्लेख नभएपनि पार्टीले निश्चित खाका बनाउनुपर्नेमा जोड दिन्छन् ।

‘हाम्रो पार्टीमा दुई महामन्त्री हुनुहुन्छ, महामन्त्रीको काम, कर्तव्य अधिकारबारे विधानमा स्पष्ट उल्लेख छ । दुई महामन्त्रीले आफ्नो कार्यविभाजन गर्नुहोला । अनि दुई महामन्त्रीको मातहत हामी सहमहामन्त्रीले काम गर्ने होला,’ उनी भन्छन्, ‘त्यसो भयो भने सहमहामन्त्रीको कामका बारेमा स्पष्ट खाका पार्टीले बनाउनुपर्छ ।’

क्लष्टर अनुसार सहमहामन्त्रीको व्यवस्था भएकाले उनीहरुलाई सोही समुदायको नेतृत्व गर्ने गरी संगठनको जिम्मेवारी दिन सकिने उनको सुझाव छ । ‘हामी क्लष्टरको प्रतिनिधित्व गरेर सहमहामन्त्रीको जिम्मेवारी पाएका छौं । त्यसो हुँदा त्यो क्लष्टरको नेतृत्व गरेर संगठन निर्माणको जिम्मेवारी दिन सकिन्छ,’ उनले भने ।

तर कांग्रेसमा जातीय प्रतिनिधित्व हुने गरी विभागको व्यवस्था विधानमा भएकाले सहमहामन्त्रीलाई त्यही जिम्मेवारी दिन नसकिने आङदेम्बेको तर्क छ । ‘क्लष्टर अनुसार सहमहामन्त्रीहरुलाई जिम्मेवारी दिन सहज छैन । पार्टीमा विभागहरु छन्, केन्द्रीय सदस्यकै संयोजकत्वमा विभाग गठन हुन्छ । हरेक विभागको काम, कर्तव्यबारे विधानमा स्पष्ट व्यवस्था छ,’ उनले भने, ‘विभागको काम विभागलाई गर्न दिनुपर्छ ।’

सहमहामन्त्री थप्न लबिइङ !

आठ सहमहामन्त्रीको जिम्मेवारीविहीन भएका बेला कांग्रेसभित्र सहमहामन्त्री थप्नुपर्ने दबाब उत्तिकै छ ।

क्लष्टरअनुसार सहमहामन्त्रीको प्रावधानले खुला प्रतिस्पर्धालाई बन्देज गरेको गुनासो कांग्रेसभित्र छ । पदाधिकारीका आकांक्षी नेताहरुको व्यवस्थापन गर्न कांग्रेसभित्र कम्तीमा तीन खुला सहमहामन्त्री थप्ने तयारी महाधिवेशनअघि भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले चार खुला सहमहामन्त्री थप्नुपर्ने प्रस्ताव कांग्रेस बैठकमा राखेका थिए, तर उनको प्रस्तवमाथि बैठकमा सुनुवाइ भएन । सभापति देउवा पनि सहमहामन्त्री थप्न सकारात्मक छन् । सार्वजनिक रुपमै वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भए सहमहामन्त्री थप गर्न सकिने बताउँदै आएका थिए ।

महाधिवेशनअघि सहमहामन्त्री थप गर्ने नेताहरुको तीव्र जोडबल भएपनि कांग्रेसमा आठ सहमहामन्त्रीकै व्यवस्थाले निरन्तरता पायो । तर कतिपय संस्थापन निकट नेताहरु अझै विधान महाधिवेशन अघि खुला सहमहामन्त्री थपिन सक्ने सम्भावना रहेको बताउने गरेका छन् ।

कांग्रेसले पहिलो पटक महाधिवेशनबाट नेतृत्व चयन मात्रै गरेको हो । नीति महाधिवेशन महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले ६ महिनाभित्र गर्ने कांग्रेसले निर्णय गरिसकेको छ । नीति महाधिवेशनमा उपसभापति र सहमहामन्त्री थप गर्ने गरी विधान संशोधनको पहल गरिने संस्थापननिकट एक नेताले बताए ।

कांग्रेस नेता एवं पूर्वसहमहामन्त्री केसी भने जिम्मेवारीविहीन पदको अर्थ नभएको बताउँछन् । ‘नेपालका अन्य राजनीतिक दलहरुभन्दा हाम्रो पार्टीको विधान धेरै समावेशी बनेको छ, तर त्यसलाई कसरी क्रियाशील बनाउने भन्ने स्पष्ट रुपमा विधानमा उल्लेख छैन,’ उनले भने, ‘अब विधानमै स्पष्ट पार्नु आवश्यक छ । नेतृत्व र केन्द्रीय कार्यसमितिले जिम्मेवारीविहीन पद बनाएर अर्थ हुँदैन ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?