+
+
मेरो जीवनशैली :

बिहान हिँड्न मन पर्छ, सुनका गहनामा रुचि छ : यम बराल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १८:२६
तस्वीर : यम बरालको फेसबुकबाट

१८ पुस, काठमाडौं । ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गीतबाट चर्चामा आएका गायक यम बराल लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन् । उनका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, दिलमाया दिलमाया, मन रहे पो मायाप्रीति लगायतका गीत निक्कै लोकप्रिय छन् ।

सुगम संगीत र कुनै समय पार्श्व गायनमा पनि खूबै जमेका गायक बरालको दैनिक जीवन कसरी बित्छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

बिहान ६ देखि ७ बजेसम्म उठिसक्छु । राति अबेरसम्म काम भयो भने चाहिं उठ्न अलि ढिला हुन्छ । नत्र ६ बजे उठिसक्छु ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

ती दुवै गर्दिन । हट लेमन पिउँछु ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

मलाई हिंड्न एकदम मन पर्छ । त्यसैले मनिङ वाकमा निस्कन्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

नास्ता खान्छु ।

बिहानको नास्तामा के खानुहुन्छ ?

उसिनेको अण्डा, ब्राउन ब्रेडसँगै बिना चिनीको कफी खाने गरेको छु । यस्तै उसिनेको अण्डाको सेतो भाग पनि खान्छु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

१ बजेभित्र खाइसक्छु ।

कस्तो खाना रुचाउनुहुन्छ ?

एकदमै साधारण खाना दाल, भात र तरकारी ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

रायोको साग छुट्दैन ।

माछा–मासु कत्तिको खानुहुन्छ ?

खान्छु । कुखुराको मासु धेरै मनपर्छ ।

मदिरापान गर्नुहुन्छ ?

पार्टीमा हुँदा साथीभाइसँग गर्छु ।

तस्वीर : यम बरालको फेसबुकबाट

भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

भान्साको काममा मलाई रुचि लाग्छ । फुर्सद हुँदा गर्छु ।

तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

मुसुरोको दाल र साग मीठो बनाउँछु जस्तो लाग्छ ।

बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?

खाना त घरकै मीठो हुन्छ । कामको व्यस्तताले गर्दा बाहिर खानुपर्छ । घरको जस्तो बाहिरको कहिल्यै हुँदैन । घर भनेको घर हो ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

घरबाट निस्केपछि खानाको निश्चित समय नै हुँदैन । पोखरामा एउटा कार्यक्रमका लागि गएको बेला खाना खाने अनुकूलता नै मिलेन । त्यसबेला एकदमै भोक लागेको थियो, समय नमिलेपछि भोकै गीत गाउनु परेको थियो ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने जस्ता काम आफैं गर्नुहुन्छ ?

परिवारका सदस्य बाहिर गएको बेला गर्छु ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?

आधा घण्टासम्ममा तयार भइसक्छु ।

बाहिर हिँडडुल गर्दा कस्तो खालको लुगा सहज लाग्छ ?

क्याजुल कपडा मनपर्छ । लामो कोर्ट अति नै मन पर्छ मलाई । प्रायः जिन्स र टिसर्ट नै लगाइरहेको हुन्छु ।

गरगहनामा कत्तिको आशक्ति छ ?

मलाई सुनको गहना मन पर्छ । सुनको सिक्री र औंठी लगाएको छु ।

तपाईं कस्तो सवारीसाधन प्रयोग गर्नुहुन्छ ?

सुजुकीको कार प्रयोग गरिरहेको छु ।

प्रायः दिन कसरी बित्छ ?

म संगीतबिना टाढा बस्न सक्दिन । रेकर्डिङमा, रियाज यस्तै नै ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

यति नै बजे भन्ने त हुँदैन । कामले निर्धारण गर्छ ।

रातिको खाना कति बजे खानुहुन्छ ?

घरमा हुँदा सातदेखि आठ बजेभित्र खाइसक्छु । बाहिर जाँदा भने निश्चित हुँदैन ।

रातिको खानामा के रुचाउनुहुन्छ ?

बिहानकै जस्तो दाल, भात र तरकारी ।

कति बजे सुत्नुहुन्छ ?

११ बजेतिर सुत्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?