+
+

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा

जनक विष्ट जनक विष्ट
२०७८ पुष २० गते १९:१९

२० पसा, धनगढी । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका तीन सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदवारी दिदा नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यको खुलामा नेपाली काँग्रेस नारायणदत्त मिश्र, महिलामा एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ र दलिततर्फ नेकपा माओवादी केन्द्रका जगत पार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको तर्फबाट खुलामा डिल्लीराज भट्ट, महिलामा सन्तोषकुमारी शर्मा थापा र दलितमा नरेश बिश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहेको राष्ट्रियसभा सदस्यको यो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार जित्नेमा ढुक्क देखिएका छन् भने एमालेका उम्मेदवार अस्तित्व जोगाउन केन्द्रित भएका छन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै गठबन्धनका उम्मेदवार गरिमा शाहले विजयी भएको घोषणा गर्न मात्र बाँकी भएकाले निर्वाचन प्रक्रिया एउटा भएको बताइन् । ‘लोकतन्त्रलाई संस्थागत गर्न बनाइएको गठबन्धनको विजयी घोषणा गर्न मात्र बाँकी छ । हामी सफल छौँ र हुन्छौँ,’ शाहले भनिन् ।

गठबन्धनको प्रदेशसभा र स्थानीय तहमा बलियो उपस्थिति नै जितको मुख्य आधार भएको बताउँदै शाहले अंकगणित सबैलाई थाहा भएको उल्लेख गरिन् । अर्का उम्मेदवार नारायण मिश्रले पनि ‘प्रतिगमनविरुद्धको गठबन्धन’ राष्ट्रियसभा सदस्यका तीन वटै सिटमा विजयी हुने बताएका छन् ।

गठबन्धनले उत्साहित हुँदै चुनाव जित्नेमा ढुक्क देखिदा एक्लै प्रतिस्पर्धामा होमिएको नेकपा एमालेका उम्मेदवार भने केही निराश देखिएका थिए ।

पार्टीको समृद्ध नेपालको नारालाई साकार पार्न उम्मेदवारी दिइएको बताएका खुलातर्फका उम्मेदवार डिल्लीराज भट्टले जित्नुहुन्छ ? भन्दै सञ्चारकर्मीले राखेको जिज्ञाशामा किन जित्दैन ? भनेर प्रतिप्रश्न गरे । उनी त्यतिकै खित्का छोडेर हाँसे तर आधार भने प्रस्तुत गरेनन् । एमालेका अन्य दुई जना उम्मेदवार पनि रक्षात्मक देखिए ।

उनीहरुले लामो समयसम्म गरेको कामका आधारमा पार्टीले मूल्याङ्कन गरेर राष्ट्रियसभाको उम्मेदवार बनाएकाले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई साकार पार्न उम्मेदवारी दिएको बताएका छन् ।

यस्तो छ अंकगणित

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका एक सय ७५ र प्रदेशसभाका ५२ जना गरेर दुई सय २७ मतदाता छन् । एमालेबाट निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भइसकेको छ भने माओवादी केन्द्रले कारवाही गरेपछि एक जना प्रदेशसभा सदस्यको पद रिक्त छ ।

स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सत्तागठबन्धनमा आवद्ध नेपाली काँग्रेससँग स्थानीय तहमा सबैभन्दा बढी ७४ मतदाता छन् भने नेकपा एमालेसँग ७१ मतदाता छन् । गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रसँग १७ र एकीकृत समाजवादीसँग १३ मतदाता छन् ।

यो संख्यालाई आधार मान्दा स्थानीय तहमा कांग्रेसको मतभार १३३२, नेकपा एमालेको मतभार १२७८, नेकपा माओवादी केन्द्रको मतभार ३०६ र एकीकृत समाजवादी पार्टीको मतभार २३४ हुन आउँछ । तर स्थानीय तहमा विगतमा एकीकृत समाजवादीमा सनाखत नगरेका केही प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष हाल उक्त पार्टीतिर लागेकाले चुनावमा भने एमालेको मतभार अहिलेकै आधारमा प्राप्त नहुने अनुमान गरिएको छ ।

प्रदेशसभातर्फ कुल ५२ जना प्रदेशसभा सदस्य छन् । जसमा एकीकृत समाजवादी पार्टीका सबैभन्दा बढि १४ जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना, नेकपा एमाले सभामुखसहित ११ जना, जसपा र लोसपाका १⁄१ जना छन् ।

यसका आधारमा एकीकृत समाजवादीको मतभार ६७२, माओवादी केन्द्रको मतभार ६२४, नेपाली काँग्रेसको मतभार ५७६, नेकपा एमालेको मतभा ५२८, तथा जसपा र लोसपाको मतभार ४८-४८ हुने देखिन्छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?