+
+

फास्ट ट्याकमा सेनाले माग्यो थप ९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते २२:१५
Photo Credit : चन्द्रबहादुर आले/अनलाइनखबर

२० पुस, काठमाडौं । काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले चालू आर्थिक वर्षमा थप ९ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ ।

चालू आर्थिक वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टिएकोमा कामलाई तीब्रता दिन भन्दै सेनाले थप बजेट माग गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले खर्च पुनरावलोकन गरेर थप माग गर्दै रक्षा मन्त्रालयमा पत्र पठाइएको अनलाइनखबरलाई बताए ।

रक्षामार्फत सेनाको प्रस्ताव अर्थ मन्त्रालयमा जानेछ । त्यसो त सेनाले यसअघि थप २३ अर्ब रुपैयाँ माग गरेको थियो । सैनिक स्रोतका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीका कारण ठेक्का प्रक्रियामा समय लाग्ने भएपछि सबै खर्च गर्न सम्भव नहुने निष्कर्षसहित रकम घटाएर नयाँ प्रस्ताव पठाइएको हो ।

सैनिक प्रवक्ता पौड्यालका अनुसार हालसम्म द्रुतमार्गमा १६.१० प्रतिशत प्रगति भएको छ । ‘यो आर्थिक वर्षको अन्त्यमा २१.२० प्रतिशत पुर्याउने लक्ष्य छ’ उनले अनलाइनखबरसँग भने, ‘अहिले सुरुङ मार्गको डिजाइनको काम सकिएको छ र निर्णय हुने प्रक्रियामा छ ।’

फास्ट ट्याकमा महादेवटार, धेद्रे र लेन डाँडामा गरी ६.४ किलोमिटर सुरुङमार्ग बन्नेछ । द्रूतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी ८७ वटा पुल पनि निर्माण हुनेछन् । प्यासेन्जर अन्डर पास १२, ओभरपास एउटा, सवारी अन्डरपास ५ र ओभरपास ४ वटा पनि रहनेछन् ।

सरकारले चार वर्षभित्र निर्माण सक्ने गरी २७ साउन २०७४ मा फास्ट ट्रयाक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर समयमा काम नसकिने भएपछि सेनाले ११ वटा प्याकेज बनाएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?