+
+

गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको तयारी

कृष्ण ज्ञवाली गौरव पोखरेल कृष्ण ज्ञवाली, गौरव पोखरेल
२०७८ पुष २५ गते २३:२८

२५ पुस, काठमाडौं । गायक योगेश्वर अमात्यको १२ विगाहा जमिन किर्ते कागजातका भरमा अर्कैका नाममा दर्ता हुने खेलबाट अन्तिम चरणमा जोगिएको छ । उनको जग्गाका नाममा फर्जी कागजात तयार गरी अर्कै समूहले १९ करोड रुपैंया ऋण लिएको हो । त्यो घटना सार्वजनिक हुनासाथ जग्गा अर्काको नाममा दर्ता हुने जोखिम रोकियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले किर्तेको मुद्दा चलायो ।

तर अनुसन्धान गरेर बैंकिङ कसुरको आरोपमा मुद्दा चलाउन खोज्दा महान्यायाधिवक्ता कार्यालयको ठाडो हस्तक्षेपले त्यो घटना ‘मुद्दा नचल्ने’ भनी सामसुम पार्न खोजिएको छ ।

***

गायक अमात्य बिल्वा भूमि वन प्रा.ली.का सञ्चालक समेत हुन् । उनको कम्पनी बिल्वाको नाममा बारा विश्वम्भरपुर मा १२ विगाहा १ कट्ठा जग्गा थियो । त्यही कम्पनीको नाममा जग्गा किनेको भनी नक्कली कागजातका आधारमा ऋण निकालिएको हो ।

बैकुण्ठ आचार्य भन्ने व्यक्तिको नाममा डेनियल ट्रेडिङ प्रा.ली.नामको कम्पनी थियो । मुक्तिनाथ गौतम र यसकुमार महर्जन भन्ने व्यक्तिले ११ असार २०७८ मा त्यो कम्पनी किने । चार दिनपछि १४ असारमा सञ्चालक समितिको बैठक बस्यो, अनि व्यापारिक प्रयोजनका लागि विल्वा भुमि वन प्रा.लि.को नाममा रहेको जग्गा खरिद गर्ने निर्णय ग¥यो । त्यसका आधारमा कुमारी बैंकको न्यूरोड शाखामा कर्जा माग गरेको थियो ।

त्यसपछि डेनियल ट्रेडिङ कम्पनीले कुनै जग्गा किनेन । तर उसका नाममा १० साउन २०७८ मा गायक अमात्यको स्वामित्वमा रहेको कम्पनीको जग्गाधनी प्रमाणपत्र जारी भयो । त्यसपछि कुशन प्राधानले यससम्बन्धी सबै कागजात कुमारी बैंक लिमिटेडको न्यूरोड शाखामा पठाए । जग्गा मूल्यांकनकर्ता राजेश कुमार चौरसियाले विल्वा भुमि वन प्रा.लि.को नाममा रहेको जग्गाको मूल्यांकन गरी बैंकमा पेश गरे । त्यो जग्गा योगेश्वरकै विल्वा प्रा.ली.कै थियो, तर डेनियल कम्पनीका सञ्चालकहरुले नक्कली राजिनामा पत्र र लालपूर्जा समेत बनाएका थिए । किर्ते लालपूर्जा तयार गरी त्यसमा मालपोत कार्यालय बारा कलैयाको किर्ते छाप तयार भएको थियो ।

मुक्तिनाथ गौतम र यसकुमार महर्जनको समूहले कलैया उपमहानगरपालिकाको किर्ते छाप बनाएको र त्यसका आधारमा धितो बन्धक लिखत तयार गरेको प्रहरीको आरोप छ । उनीहरुले बैंकका कर्मचारीलाई साथमा लिएर मालपोत कार्यालय बारबा कलैयाको किर्ते छाप बनाएर जग्गा रोक्काको विवरण तयार गरे ।

ऋणको लागि निवेदन परेपछि कुमारी बैंकले आफ्ना वीरगञ्ज शाखाका कर्मचारी राजेश्वरप्रसाद साहलाई स्थलगत निरिक्षणका लागि पठायो । उनले साइट भिजिट गरेको प्रतिवेदन दिएका थिए । अनि कुमार बैंकका न्यूरोड शाखाका कम्पनी व्यवस्थापन गोपाल जोशीले ऋणकर्जा तथा बैंकिङ सुविधा स्विकृती पत्र तयार भएको बताए र कम्पनीका सञ्चालक मुक्तिनाथलाई बोलाएर सहीछाप गराए ।

मालपोत कार्यालयमा जग्गा रोक्का गर्नुपर्ने र त्यसका आधारमा मालपोतको पत्र कुमारी बैंकमा पठाउनुपर्ने थियो । अर्को व्यक्ति (योगेश्वर अमात्य)को नाममा भएको जग्गा मालपोत कार्यालयले रोक्का राख्न र ऋणका लागि अनुमति दिन सम्भवै थिएन । तर मालपोत कार्यालयबाटै बैंकका कर्मचारी सोनु ठाकुरको उपस्थितिमा धितो बन्धक लिखत पास गरी कागजात पठाइयो । कर्जा प्रशासन विभागका कर्मचारी अतिज तराईले सबै कागजात हेरेर कर्जा सञ्चालन विभागमा सिफारिस गरे ।

फर्जी कागजात तयार पार्ने खेल यत्तिमा रोकिएन । बिल्बा भूमि वन प्रा.ली.को सक्कली प्रवन्धपत्र र नियमावलीको कागजात फोटोकपी गरेर दुरुपयोग भयो । रमेशकुमार सिलवाल भन्ने व्यक्ति खडा भए, उनले आफ्नो एकल दस्तखत चल्ने गरी सिद्धार्थ बैंक लिमिटेडमा विल्वा भूमि वन प्रा.ली. नामको बैंक खाता खोलेर राखे ।

अब कुमारी बैंकबाट ऋण स्विकृत भयो । कुमारी बैंकले डेनियल ट्रेडिङ कम्पनीको नाममा १९ करोड रुपैंया कर्जा प्रवाह गर्यो‍ । त्यो रकम रेशमबहादुर सिलवालले एकल दस्तखतमा सञ्चालन हुने भनी खडा गरेको सिद्धार्थ बैंकमा खोलिएको खातामा ट्रान्सफर भयो । रकम पठाउनुअघि मुक्तिनाथ गौतम र यसकुमार महर्जनले हस्ताक्षर गरेर ट्रान्सफरको बन्दोबस्त मिलाइसकेका थिए ।

त्यो रकम रेशम बहादुर थापाको विल्वाको नाममा खुलेको फर्जी खाताबाट सिद्धार्थ बैंकमै रहेको उविन्द्र राज शाक्यको एकल दस्तखतमा सञ्चालन हुने मर्लियोन इन्टरप्राइजेजको नाममा जम्मा भयो । अनि मर्लियोनको खाताबाट मुक्तिनाथ गौतमले इस्टर्न कोसी ट्रेडिङ प्रालीको नाममा एक करोड ५० लाख जम्मा गरे । अनि यसकुमार महर्जनले ६२ लाख रुपैंया आफ्नो खातामा सारे । कुसन प्रधानले मर्लियोनबाट ५६ लाख ७७ हजार ५ सय रुपैंया आफ्नै एनआईसी एसिया बैंकको सानेपा शाखामा रहेको खातामा जम्मा गरे । र त्यहाँबाट शोभा शाक्य र उनका पति विजय कुमार शाक्य लगायतले रकम लिए । सफल भनिने ईश्वर पोखरेलका नाममा पनि रकम गयो ।

घटना थाह पाएपछि अनुसन्धान गरेको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले किर्तेमा उनीहरुमाथि मुद्दा चलाइसकेको छ । बैंकिङ कसुर समेत गरेको भेटिएकाले उनीहरुमाथि बैंकिङ कसुरको आरोपमा समेत कारवाही हुनुपर्ने भनी व्यूरोले प्रतिवेदन तयार गरेको थियो । फर्जी कागजातका आधारमा ऋण लिएको र गलत रुपमा बैंकिङ कारोवार गरेको आरोपमा प्रहरीले मुक्तीनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशन प्रधानलाई मुद्दा चलाउने राय दियो । गलत मूल्यांकन गरेको आरोपमा राजेश कुमार चौरसिया पनि त्यसमा मुछिए ।

गलत रुपमा ऋण प्रवाह गरेको आरोपमा सोनु ठाकुर, गोपाल जोशी, अजित राई र राजेश्वरप्रसाद साहमाथि पनि मुद्दा चलाउन सिफारिस भयो । बैंकबाट लिएको नक्कली ऋणको रकम बाड्नेहरुमाथि पनि मुद्दा चलाउने सिफारिस भयो । किर्ते कागजात तयार गर्नुका साथै बैंकिङ कसुर समेत गरेकाले उनीहरुमाथि बैंकिङ कसुरमा पनि कारवाहीको योजना बनेको थियो । तर महान्यायाधिवक्ता कार्यालयमा भने मुद्दा नचलाउने गरी तयारी भएको स्रोतको दाबी छ । ‘विशेष सरकारी वकिलको कार्यालयमा पेश भएको त्यो फाइल जबर्जस्ती रुपमा महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘ऋण असुली भइसकेको भन्दै मुद्दा नचलाउने निर्णय गर्ने तयारी छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?