+
+

डाक्टर छोरा अमेरिकामा, नेपालमा बुवाले उपचार पाउँदैनन् !

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०७८ पुष २७ गते १३:५०

कर्णाली प्रदेशको दुर्गम मुगु जिल्लाको सानो गाउँको कथा हो यो । यहाँ सद्भावना र संकल्पहरू अप्ठ्यारो मोडमा गएर टुङ्गिन्छन् । विकास अझै बादलले छोपिएको छ  । हामी सुनको थाल थापेर माग्न बसिरहेका छौं !

त्यही गाउँमा एउटा परिवार हुन्छ, यसमा दुई छोराहरू, अनपढ आमा र सरकारी स्कूलमा पढाउने बुबा रहन्छन् । वन, पहाड, लेक बेंसी गर्ने जीवनमा, हिउँदमा तुषारो र बर्खामा हिलोको आतंक छ । दुई छोराहरूमा जेठो त्यति पढ्नमा आनन्द नलिने तर खेतीपातीमा बहुत परिश्रम गर्ने हुन्छ । घरको कान्छो छोरो बुवाले पढाउने सरकारी स्कूलमा नै राम्रो अंक ल्याएर पढिरहेको हुन्छ । स्कूले जीवनको अन्तिम परीक्षामा उत्कृष्ट नतिजा ल्याएपछि घरमा कान्छो छोरोलाई पढ्न काठमाडौं पठाउने निधो हुन्छ । ताल्चा विमानस्थलमा आफ्नो जीवनको उज्ज्वल भविष्यका लागि कान्छो छोरोले पहिलो पटक उडान भर्छ । पखेटा हाल्छ ।

यता मुगुमा दयनीय जीवन काट्दा काट्दै पनि महँगो शुल्क तिरेर काठमाडौंको कलेजमा भर्ना गराउन सफल नै हुन्छन् बाबुआमा । दाइ पनि भाइको सफलतामा हौसला दिन घरायसी कार्यमा तल्लीन रहन्छन् ।

समय बित्दै जान्छ ।  गरीबीको शिकार भए पनि कान्छो छोरा काठमाडौंमा खूब मिहिनेतले पढ्छ । कोदो, तितेफापर, ढिंडोको स्वाद त्यागेर काठमाडौंको फास्टफुड संस्कारमा उसले आफूलाई विस्तारै अभ्यस्त गराउँछ । तैपनि आफ्ना पहाडका र दुःखका कथाहरूलाई हृदयङ्गम गर्दै रंगीन दुनियाँमा कान्छो छोरो आफ्नो अनुहार डुलाउँदैन ।

प्लस टु को परीक्षा पनि सकिन्छ । ऊ अब आफ्ना जिल्लावासीको दुःखको घाउमा मल्हम लगाउने हेतुले डाक्टर बन्न चाहन्छ । दुर्गम कोटा अन्तर्गत रहेर ऊ शिक्षा मन्त्रालयको छात्रवृत्तिमा छानिन्छ । त्यो क्षण उसले कहिल्यै भुल्न सक्दैन । घरमा खबर पुर्‍याउँछ । मुगु जिल्ला नै हर्षित हुन्छ । स्वास्थ्य समस्याबाट प्रताडित मुगु जिल्लाबाट एउटा ठिटो चिकित्सक बन्दै गर्दा त्यस ठाउँले धेरै आशा र भरोसा राख्दछ ।

छात्रवृत्ति भने पनि किताब, होस्टल, परीक्षा शुल्क इत्यादिमा पैसा खर्च गर्नुपर्दा परिवार दयनीय अवस्थामा पुग्छ । बुवाको पेन्सन पाक्छ । त्यसैले खेतीकिसानीकै भरमा छोरालाई घरबाट पैसा पठाइराख्छन् । दाजुले सानो इलम गर्छन् र भाइलाई नै टेवा पुगोस् भन्ने इच्छा राख्छन् ।

बिदामा छोरो घर आउँदा आफू नखाई नखाई उसैलाई मीठोमसिनो खुवाउनमा तल्लीन हुन्छन् सबैजना । स्याउको सुकुटी, मार्सी चामल पोको पारेर पठाइदिन्छन् घरको भाँडो रित्तो पारेर ।

सानोमा दुब्लो, ख्याउटे रहेको कान्छो एमबीबीएसको कोर्स सक्दासम्म खाइलाग्दो बनिभ्याउँछ । घर जाँदा ठूला ठूला कुरा गर्छ । घरका सबै एकोहोरो सुनिबस्छन् । आधुनिकताले विस्तारै कान्छोलाई छोप्छ र ऊ जीवनमा नवीनता, अध्ययन र सुधार चाहन्छ ।

सरकारी कोटामा पढे बापत एक वर्ष ऊ मुगुमै गएर जिल्ला अस्पतालमा बस्छ तर उसलाई मुगुले मोहनी लगाउन सक्दैन । त्यहाँ निस्सासिए जस्तो अनुभव गर्छ । निरक्षर जीवन र राजनीतिक बिजोगप्रति विस्तारै वितृष्णा जाग्छ । नेपालमा रहेका चिकित्सकहरू उचित सम्मान, अवसर, पारिश्रमिक र सुरक्षाको अभावमा विदेशिने क्रम बढ्दो देख्छ ।

र, अर्को कुरा स्वास्थ्य क्षेत्रमा मौलाएको व्यापारले जहिले पनि लगानीकर्ताकै पल्ला भारी भएको देख्छ तर दुःख गर्ने, व्यहोर्ने चिकित्सकलाई जीवन बाँच्न नै धौ–धौ हुने बाध्यता बुझ्छ । जतासुकै गल्ती भए पनि स्वास्थ्यकर्मीलाई नै अचानो बनाउने सामाजिक मनोवृत्ति पनि बुझ्छ ।

महामारी हुँदा अहोरात्र खटिने चिकित्सक माथि दुर्व्यवहार भएको सम्झिन्छ । त्यसैले त मातृभूमिको सेवा गर्ने आफ्नो संकल्पप्रति नै पुनर्विचार गर्ने मोडमा पुग्छ । अझ भनूँ ऊ अलि व्यावहारिक हुन चाहन्छ । आफ्नै लागि मात्र फुल्नु, फैलिनु र फराकिलो हुने सोच जागृत हुन्छ । उसले सानो हुँदा धूलोमा लेखेका अक्षरहरू, रुखका बोक्रामा कोरेका चित्रहरू सबै यी सम्झनाहरूलाई तिलाञ्जली दिंदै आफ्नो जीवन परिष्कृत बनाउन एमडी गर्न अमेरिका जाने सोचमा पुग्छ । यसका लागि प्रवेश परीक्षा तयारीमा लाग्ने खर्च घरमा माग्ने निधो गर्छ ।

छोरो डाक्टर होला र पैसा कमाएर घर खर्च सघाउला भन्ने आशा र विश्वास हुन्छ परिवारको । तर, उल्टै ठूलो रकमको माग हुँदा घरमा असहज स्थिति पैदा हुन्छ । तैपनि पढेर आउने र नगइकन नछाड्ने जिद्दीका अगाडि बुवाआमा खेती लगाउन किनेको जमीन बेचेर पैसा दिन्छन् ।

कान्छो केही समयको तयारी पछि अमेरिका उड्छ । उतै पढाइ पूरा गर्छ र बिहे गरेर उतै बस्ने व्यवस्था मिलाउँछ । घरमा अलि अलि पैसा त पठाउँछ तर बूढा भएका बुवाआमाको हेरचाह र स्वास्थ्य उपचारमा कुनै रेखदेख गर्न सक्दैन । छोरोको उपस्थितिमा हुने काम पैसाले कसरी पूरा गर्न सक्थ्यो र !

घरको जेठो छोरो आमाबुवाको लागि सिरानी बनेर हमेशा साथ दिइरहन्छ । इलम गरेर कमाएको पैसाले दमका रोगी बुवालाई काठमाडौंका अस्पतालमा उपचार गर्न लैजाने निधो गर्छ । बुवालाई रोगले अति नै च्याप्दा समेत कान्छो अमेरिकाबाट भिडियो कल गर्छ तर भेट्न आउन सक्दैन । उपचार अभावमा घरमा नै महीनौं बिताएर काठमाडौं पुर्‍याउँदा पुर्‍याउँदै बुवाले धर्ती छोड्छन् । शायद कान्छो भएको भए राम्रो प्रबन्ध मिलाएर बुवालाई बचाउन सक्थ्यो कि भन्दै आमा बिलौना गर्छिन् । तैपनि अन्तिम चोटि अनुहार हेर्न र काजक्रिया गर्न  समेत कान्छो अमेरिकाबाट आउँदैन । पशुपति आर्यघाटमा बुवाको दाहसंस्कार गरेर जेठो छोरो आमालाई लिएर गाउँ फर्किन्छ ।

सरकारी कोटामा पढेबापत एक वर्ष मुगुमै गएर जिल्ला अस्पतालमा बस्छ, तर उसलाई मुगुले मोहनी लगाउन सक्दैन त्यहाँ निस्सासिएजस्तो अनुभव गर्छ निरक्षर जीवन राजनीतिक बिजोगप्रति विस्तारै वितृष्णा जाग्छ । 

धेरैपछि दाजुले मुगुको ताल्चा विमानस्थलमा बसेर अमेरिकामा रमाइरहेको भाइलाई  पत्र लेख्छन् ।

प्रिय भाइ,

आत्मसमर्पणको विशाल प्रेम र भक्तिमा बाँचेका छन् यहाँका मनुष्य जातिहरू । शायद सच्चाइको आनन्द नेपालले यहींबाट सिकेको छ । अतिथि देवो भव: मा मोहनीतवरले हाँस्ने, नाँच्ने, गाउने यी अंग प्रत्यंगहरू । गुलाफी रङमा फुलेका गालाहरू । मैलाको वास्तै नगरी खेतीपातीमा व्यस्त शैलीहरू । सनातन रीतिस्थितिमा अडिएका विश्वास, श्रद्धा र भक्तिभावहरू । ढिकी, जाँतो, बिस्कुन र भकारोहरू । खरका छानाहरू, रातो माटोले पोतिएका भुईंहरू, हरेक घरमुनि गोठहरू, भिराला खेतहरू, जंगलहरू । मुगुले आफ्नो परिवेशको मायाजाल त्यहाँ पुग्ने हरेकलाई बिछ्याउँछ । तर के तिमी, यही माटोमा जन्मिएर हुर्किएर पनि यो भूमिलाई चटक्कै भुलिदिन सक्छौं र ! यो माटोको लागि केही गर्ने संकल्प जाग्दैन र ! यहाँका अप्ठ्यारा र कमजोरीलाई देखाएर एउटा दक्षता बोकेको मानिस कसरी कुहिरोमा हराएको काग जस्तै विदेशी भूमिमा हराउन मिल्छ !

तिमीले त आफ्नो क्षमताहरूलाई यही प्रवाहहरूमा पगाल्न सिक्नुपर्छ । मनका भावहरूलाई देश प्रेमले ओजिलो बनाउन सक्नुपर्छ ।

प्रिय भाइ चाँडै आऊ, तिम्रो स्पर्शद्वारा नै अभिप्रायशील हुन पर्खिरहेछन्- दुःखका सारङ्गीहरू, ओत लाग्ने छहारीहरू, थकाइ मार्ने चौतारीहरू, लुकामारी खेल्ने मझेरीहरू ।

प्रिय भाइ ! धेरै भयो बुवा बितेपछि तिम्रो याद आएको छ ! व्यथाले थलिएकी आमा कान्छो आउँछ भन्दै हरेक साल एउटा सिंगै बोटको स्याउ कसैलाई टिप्न नदिइकन राख्ने गर्छिन् । हरेक साँझ कटौरामा तर लागेको दूध कान्छोले मीठो मान्छ भन्दै छुट्याएर राख्छिन् । ताल्चामा विमान आउँदा कान्छो आयो होला भन्दै मक्ख पर्छिन् ।

प्रिय भाइ ! म त ज्यामी मजदूरी गर्ने मान्छे । पढ्न लेख्न खासै जानिनँ तर पनि एउटै कामना छ भाइ, नेपाल फर्किएर पूर्वजन्मका संस्कारद्वारा श्रद्धाका साथ तिम्रा हातहरूले सेवा र सत्कार गर्न सकून्, सर्वसुलभ उपचार गर्न सकून् नेपाली जनतालाई !

एउटा सन्देश लिएर आऊ, मेरो भाइ मानौं, एउटा एप्रोन लाउने ठिटो फर्किएको छ आफ्नै दुर्गम गाउँ विशेषज्ञता हासिल गरेर यो स्वर्गीय भूमिका मानवरुपी भगवानहरूको स्वास्थ्य उपचार गर्न ।

हो भाइ ! तिमी त त्यस्तो हुनुपर्छ जो सुन्दरताको उपासना गर्छ र सत्यको झिल्का दिने सम्झौता गरिरहन्छ । बरु पुँजीवादी समाज अनेक टुना राख्न खोजिरहोस् तर पनि तिमीले सेवाको भावलाई नमस्कार गर्नुपर्छ अनि पेशालाई उज्यालो रसिलो बनाउनुपर्छ ।

मेरो प्यारो भाइ,

शून्यप्राय: छन् तिमी विना तिम्ले आफू हार खाँदा रुमल्लिने गल्लीहरू । तिमीविना तिमीले बाटो बिराउँदा अलमलिने कुहिराहरू, तिमीविना तिमीले सानो हुँदा कालोपाटीमा डाक्टर बन्न बुनेका अक्षरहरू, शून्य प्रायः छन् । तिमी विना तिमीले चिकित्सा पढ्न सरकारले लगानी गरेको छात्रवृत्तिहरू, तिमी विना तिमीले मुगुको जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको ओठमा आविष्कार गरेका मुस्कानहरू, तिमी विना तिमीले डोल्पाको हैजा प्रकोपमा एक्लो प्रयासले गरेका चमत्कारहरू, सबै शून्य शून्य छन् प्रिय भाइ, तिमी विना तिम्रो बाबाको आशा, आमाको न्यानो काख, साथीसंगीको हाँसो अनि देशको चिकित्सा जगत ।

अझै पनि तिमी लाखौं लाख कमाउने सोच र लोभमा परी उतै बसिराख्न सक्छौ र ? के, तिमी आउने पिंढीका लागि गोविन्द केसी बन्ने आँट गर्नुपर्दैन ? के तिमीप्रतिको सरकारको लगानी बालुवामा पानी नै हो त ? प्रिय भाइ, पखेटा उम्रिएको भानहरूमा विश्व परिक्रमा गरेर विदेशमा नै गुड बनाउने सोचहरू त्यागिदेऊ र केही माया देशका लागि पनि साँची देऊ ! फर्किएर चाँडै आउ प्रिय भाइ ! तिमी र तिमीहरू आएर कर्णालीले रोगबाट मुक्त पाउने बाटो खोजिरहेको छ ।

कठै ! ती आफ्ना सन्तान हुर्काउन पगालेका आमाका छातीहरू रोएका दिलहरू, टिल्पिलाएका आँखाहरू, आशाका मलिन धर्काहरू, टेक्ने अनेक पाइलामा सन्तानकै छाप देख्ने आमाका धर्तीहरू, हेर्ने अनेक ताराहरूमा सन्तानकै तस्वीर देख्ने आमाका आकाशहरू !

तिमीलाई आमाको माया लाग्दैन र भाइ ? खै तिमी कसरी पो अन्जान शहरमा पोखिन सक्छौ र ?

ती सागरहरू विना जसले तिमी यति विधि भरिन बूँद बूँद खर्च गरेका छन्, त्यसैले प्रिय भाइ स्वदेश फर्किएर आऊ, सर्वे सन्तु निरामयाको भावको जागृति ल्याऊ ।

अनेकौं संघर्षले चिथोरेका चेहराहरूमा आङ नछोपिने इस्टकोटहरूमा उधारोको निसानी टोपी सिउरिएर स्वर्गीय बा तिम्रो नजिक आउँदैनन् र सपनीमा ? तिमी के भनेर सम्झाउँछौ बालाई, जब आफ्नै छोरो डाक्टर हुँदा पनि हाम्रा बा राम्रो उपचार नपाएर भौंतारिरहे र अकालमा बिते ।

प्रिय भाइ ! तिमी त यो देशको खम्बा हौ, तिमीहरू विना स्वास्थ्य नीति धर्मराउँछ तर पनि खै त्यो विदेशी भूमिमा कसरी तिम्रो आदर्शयुक्त हृदयले आनन्दको भक्ति भाव पाउँछ ? हाम्रा जस्तै गरीब बा आमालाई नेपालमा निःशुल्क उपचार गर्ने प्रबन्ध खै कसले मिलाउँछ ? सारा रोग निको पारी डोर्‍याएर घर कसले लैजान्छ ? साँझ बिहान औषधि कसले पिलाउँछ ? जन्मदिने माटो र बाआमा प्रतिको सेवाभन्दा ठूलो स्वर्गीय अनुभूति अरु के हुन सक्छ र मेरो भाइ ?

साँच्चै ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ !’

प्रिय भाइ, देवकोटालाई आफूभित्र जगाऊ र स्वदेश फर्किएर आऊ ।

उही तिम्रो प्यारो दाइ !

(चिकित्सकप्रति सरकारी उदासीनता र सामाजिक असहिष्णु व्यवहारका कारण वर्षेनि चिकित्सकहरूको विदेशिने क्रम बढ्दो छ । कोरोना महामारीविरुद्ध समेत डटेर लागेका सम्पूर्ण चिकित्सकहरूलाई स्वदेशमा नै राख्न सबैजना हौसला प्रदान गर्न लागि परौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?