+
+

मधेश प्रदेश : ६ महिनामा १८ करोडको अवैध समान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:२५

९ माघ, वीरगञ्ज। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा १८ करोड मूल्‍य बराबरको अवैध समान बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँको अवैध समान बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कार्यालय र ८ वटै जिल्ला प्रहरी कार्यालयले ६ महिनामा १ करोड ३५ लाख १४ हजार ५ सय ५५ रुपैयाँको किराना सामाग्री, ४१ लाख ८४ हजार १ सय २८ रुपैयाँ बराबरको विद्युतिय सामाग्री ८ करोड ३५ लाख ३९ हजार ९० रुपैयाँको सवारी साधन र पाटपुर्जा, ७ करोड ९६ लाख १२ हजार ८ सय ८३ रुपैयाँको लत्ता कपडा बरामद गरेको छ ।

यस्तै फेन्सी तथा अन्य समान, ९ लाख ८१ हजार १४ रुपैयाँको १ सय ९ ग्राम ७९४ मिलिग्राम सुन, र ७० लाख ६८ हजार ७ सय ८३ रुपैयाँको ८२ किलो १० ग्राम २७० मिलिग्राम चाँदी बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

अवैध कारोबारमा संलग्न १ सय ४ जना मानिस पनि प्रहरीले पक्रेर समान सहित आवश्यक कारबाहीका लागि नजिकका भन्सार कार्यालयमा बुझाएको छ ।

लागू औषध कारोबारमा संलग्न ६०५ पक्राउ

प्रहरीले अवैध रुपमा लागू औषध ओसार प्रसार गरेको आरोपमा ८ जिल्लाबाट ६ महिनामा ६ सय ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ११ जना महिला पनि छन् ।

६ महिनामा प्रहरीले लागू औषध गाजा १ हजार ७ सय १७ किलो, ब्राउन सुगर १ सय ३४ ग्राम, चरेश ४६ किलो, हिरोईन ८३ ग्राम, डाइलेक्स डिसी ९० लिटर, विभिन्न ट्याबलेट ४० हजार ७ सय २८ वटा र इन्जेक्सन २२ हजार ४ सय ४६ थान बरामद भएको प्रदेश प्रहरीले जनाएको छ ।

९ सय ५२ फरार प्रतिवादी पक्राउ

मधेस प्रदेशबाट प्रहरीले ६ महिनामा ९ सय ५२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ३ सय ६५ दिन २ महिना ३ दिन कैद र ३ करोड ७१ लाख ६६ हजार ७ सय १४ रुपैयाँ जरिवाना सम्बन्धित जिल्ला तथा उच्च अदालतले अशुल गरेको छ ।

नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी बिक्रि गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । १ सय ७८ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट प्रहरीले ११ लाख २६ हजार ८० रुपैयाँ राजश्व संकलन गरेको छ ।

अवैध रुपमा वन फडानी गरी ल्याउँदै गर्दा २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख ९७ हजार ५ सय ७० रुपैयाँ मूल्‍य बराबरको १ हजार १ सय ९२ क्युफिट काठ बरामद गरेको र काठ ओसार प्रसारमा संलग्न २२ जना मानिस पक्राउ गरी आवश्यक कारबाहीका लागि वनलाई बुझाईएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा २ सय ९२ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा परी २ सय ९२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ सय ५२ जना पुरुष र ४७ जना महिला छन् ।

प्रदेशमा ६ महिनामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ८ सय ८० जना महिला सहित ४ हजार २ सय ३८ जना घाइते भएको प्रहरीको तथ्यांक छ । ट्राफिक तर्फ २ सय ६८ वटा मुद्धा दर्ता भएको छ ।

ट्राफिक नियम उलंघन गर्ने १ लाख ३६ हजार ४ वटा विभिन्न सवारीका धनीलाई कारबाही गरेर प्रहरीले ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

भारतको बिहार राज्यसँग खुल्ला सीमा जोडिएका कारण मधेस प्रदेशमा विभिन्न अपराधिक गतिविधि पनि हुने गरेको छ । हात हतियार सहित मानिस पक्राउ पर्ने गरेका छन् । हात हतियारका २४ वटा मुद्धा चल्दा ३४ जना पक्राउ परेका छन् । लामो १२ र छोटो १५ थान हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको नेपाली ८० लाख ७३ हजार ६ सय २० र भारतीय ११ लाख १९ हजार ९ सय रुपियाँ बरामद भएको छ । स्रोत नखुलेको रकम बोकि हिँड्ने २० जना मानिस पक्राउ परेका छन् ।

विपदका घटनामा २ सय ५३ जनाको ज्यान गयो

मधेस प्रदेशमा ६ महिनामा ७ सय ६१ वटा विपदको घटना भएका छन् । जसमा ५८ जना महिला सहित २ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

१ सय ९० जना घाईते भएको प्रहरीले जनाएको छ । ८ जना वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?