+
+

कति स्तरीय छन् अहिले चलिरहेका एम्बुलेन्स ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १२:०७
फाइल तस्वीर

११ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै संक्रमितहरुको संख्या निरन्तर बढ्दो छ । संक्रमितको संख्या बढेपनि अघिल्ला दुई लहरमा जस्तो अस्पतालमा भर्ना हुने बिरामीको संख्या भने अहिले बढेको छैन । बिरामीको चाप केही कम हुँदा अघिल्ला लहरमा जस्तो एम्बुलेन्सको अभाव यसपटक त्यति देखिएको छैन ।

महामारीको समयमा मात्रै होइन, अन्य समयमा पनि मानिस बिरामी हुँदा अस्पतालसम्म जाने एम्बुलेन्स कति सुविधासम्पन्न र सहुलियतपूर्ण छन् त ? एम्बुलेन्सको सवालमा सधैंभरि एउटा गुनासो आउने गर्छ- कुनै बिरामीको अवस्था अनुसार एम्बुलेन्सबाट नै लुट शुरु हुन्छ ।

काठमाडौं उपत्यकाभित्रै पनि एउटा कुनाबाट अस्पतालसम्म पुर्‍याउँदा एम्बुलेन्सले ४ देखि ६ हजार रुपैयाँसम्म असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर अर्काेतर्फ सुविधाको हिसाबले भने नाम मात्रका एम्बुलेन्सहरु छन् ।

गत भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन सम्बन्धी नयाँ निर्देशिका ल्यायो । प्रधानमन्त्रीले भदौ १७ मा स्वीकृत गरेको सो निर्देशिका अनुसार अब स्वास्थ्य संस्थाले नै एम्बुलेन्स सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसलाई एम्बुलेन्स चालक संघले विरोध पनि गरिरहेको छ । संघले निजी तथा सामुदायिक एम्बुलेन्स चालकहरुको रोजगारीको ग्यारेन्टी नभएसम्म नयाँ निर्देशिका लागू हुन नसक्ने बताउँदै आएको छ ।

नयाँ निर्देशिकाले पनि अघिल्लो निर्देशिकामा जस्तै तीन वर्गको एम्बुलेन्सको अवधारणा ल्याएको छ । त्यसअनुसार तीनवटै वर्गका एम्बुलेन्समा हुनुपर्ने सेवा सुविधाको बारेमा निर्देशिकाले स्पष्ट व्यवस्था गरेको छ ।

‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा नर्स र चालक हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै ‘ग’ वर्गका लागि अहेब वा अनमीको अनिवार्य व्यवस्था गरिनुपर्ने भनिएको छ । यसबाहेक क वर्गको एम्बुलेन्समा हुनुपर्ने उपकरण र औषधिको विवरण यस्तो छ ।

१. स्टेथोस्कोप

२. रक्तचाप परीक्षण

३. टर्च

४. टङ डिप्रेसर

५. आईभी ड्रिप्स

६. क्यानुला एण्ड सिरिन्ज

७. ईसीजी मोनिटर तथा अक्सिजन मोनिटर

यसबाहेक नेबुलाइजर सेट लगायतका २४ थरी सुविधा आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, ‘ख’ वर्गको एम्बुलेन्समा यस्ता सुविधा हुनुपर्ने व्यवस्था गरिएको छ ।

१. स्टेथोस्कोप

२. रक्तचाप परीक्षण

३. टर्च

४. टङ डिप्रेसर

५. आईभी ड्रिप्स

६. इन्ट्युबेसन सेट

यसबाहेक विभिन्न इन्ट्युवेसन ट्युब र लारेन्जल ट्युबहरु लगायत २२ सामग्री हुनुपर्ने बताइएको छ ।

‘ग’ वर्गको एम्बुलेन्समा अक्सिजन सिलिण्डर, फ्लो मिटर, अन्य जरुरी सामग्रीहरु, आईभी इन्जेक्सन, स्ट्रेचर, स्टेथोस्कोप, बीपी सेट, टर्च लाइट, एम्बु र मास्क लगायत अनिवार्य भनिएको छ । यस्ता एम्बुलेन्सहरु दीर्घरोगी, डायलाइसिस गर्ने बिरामी, ड्रेसिङ गर्नको लागि घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म लैजाने बिरामी र विपद्को बेलामा स्वास्थ्य सामग्री पुर्‍याउनको लागि मात्रै प्रयोग गर्नुपर्ने भनिएको छ ।

एम्बुलेन्सको स्तर कस्तो छ ?

सरकारले क, ख र ग वर्गको एम्बुलेन्स तोकिरहँदा हामीले प्रयोग गर्ने एम्बुलेन्स कस्तो खालको छ त ? एम्बुलेन्स चालकहरु आफैं हामीले प्रयोग गर्ने एम्बुलेन्सहरु ‘ग’ श्रेणीमा पनि राख्न नमिल्ने खालको रहेको बताउँछन् ।

संयुक्त एम्बुलेन्स चालक संघका महासचिव मुक्ति काफ्ले संघको तथ्यांकअनुसार नेपालमा विभिन्न निकायको गरी  ६ हजार २०० वटा एम्बुलेन्स दर्ता भएको बताउँछन् । चालक संघका अनुसार यसमध्ये ४ हजार ६०० हाराहारी एम्बुलेन्स मात्रै नियमित सञ्चालनमा छन् । ती एम्बुलेन्समध्ये ५ प्रतिशत एम्बुलेन्समा पनि ‘क’ वर्गको लागि चाहिने सुविधा नभएको काफ्ले बताउँछन् । उनका अनुसार बाँकी सबै एम्बुलेन्सहरु ‘ग’ श्रेणीमा राख्न पनि नमिल्ने खालका छन् । यी मान्छे बोक्ने गाडी मात्रै रहेकाले एम्बुलेन्स भन्न नमिल्ने खालको रहेको उनी बताउँछन् ।

त्यसो त विभिन्न समयमा बनेका एम्बुलेन्सको सहयोग सम्बन्धी कार्यविधिले विभिन्न मुलुकले दिने एम्बुलेन्स ‘क’ श्रेणीको मात्रै लिनुपर्ने उल्लेख छ । तर छिमेकीसहित कतिपय देशले दिने अधिकांश एम्बुलेन्स ‘ग’ श्रेणीका छन् । सञ्चालितमध्ये धेरै एम्बुलेन्स भारतले ‘रिजेक्ट’ गरेका गाडी ल्याएर सञ्चालन गर्न थालिएको काफ्ले बताउँछन् । उनी सरकारले ल्याएको नयाँ निर्देशिका अनुसार एम्बुलेन्स सञ्चालन गर्ने हो भने नेपालमा चल्नलायक एम्बुलेन्स १०० वटा पनि नभेटिने बताउँछन् ।

पटकपटकको एम्बुलेन्स सञ्चालन सम्बन्धी निर्देशिकाले एम्बुलेन्स आयात र सञ्चालनमा सहुलियत तथा सुविधा दिँदै आएको छ । २०६० सालमा आएको एम्बुलेन्स बाहन निर्देशिकाले तीनै श्रेणीका एम्बुलेन्सहरुलाई भन्सारमा ७५ प्रतिशत छुट र भ्याट पूर्ण छुट दिने निर्णय गरेको छ ।

एम्बुलेन्स ल्याउँदा तोकिए बमोजिम औषधि उपकरणको व्यवस्था र यस नीतिअनुसार सञ्चालन गर्नुपर्ने भनिएको छ । तर नेपाल ल्याएपछि एम्बुलेन्स सुविधाहीन तरिकाले चलाउने गरिएको छ । यही समस्या समाधानका लागि स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स सञ्चालन गर्ने कार्यविधि ल्याइएको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?