+
+

सबै भन्सार राजस्वको भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ ११ गते १६:३८

११ माघ, काठमाडौं । भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानीको पाइलट परियोजनाको परीक्षण सफल भएको छ । यससँगै भन्सारमा नगदरहित कारोबारको बाटो खुलेको भन्सार विभागले जनाएको छ ।

पुस एक गतेदेखि परीक्षणको रुपमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट सुरु गरिएको अनलाइनमा आधारित भुक्तानी प्रणाली सफल भएको भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

सुख्खा बन्दरगाहको सफल परीक्षणसँगै देशभरका २४ थप भन्सार कार्यालयहरुबाट यो सेवा बुधबारदेखि सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको भन्सार विभागले जनाएको छ ।

‘व्यापारीले भन्सार बिन्दुमा ल्याइपुर्‍याइएको माल वस्तुको सबै प्रकारको भुक्तानी अब घरबाटै गर्न सकिने भएको छ,’ खड्काले भने छ, ‘यसले भन्सारको कार्य सम्पादनमा चुस्तता आउने छ भने सेवाग्राहीको समय बचतसँगै सुरक्षाको पनि प्रत्यभूति हुनेछ ।’

राजस्व प्रयोजनका लागि भन्सार विन्दुसम्म बोकिने नगदका कारण आईपर्ने झमेला पनि अन्त्य गर्ने उनले बताए । गत आवमा विभागले आयातबाट मात्रै ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।

यस्तो राजस्व चालु आवको  ६ महिनामा २ खर्ब ५७ करोड ६० लाख रुपैयाँ हाराहारी छ । यस्तो सबै राजस्व संकलन अब अनलाइन प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।

कसरी हुन्छ भुक्तानी ?

विभागकाअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको समन्वयमा भन्सारको आसिकुँडा प्रणालीमा भुक्तानी संयन्त्रको संयोजन गरिएको छ । विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनोट गरी त्यसमा यूजर नाम र पासवर्ड प्राप्त गर्नुपर्ने भन्सार विभागले जनाएको छ ।

जसपछि विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस, मोवाइल एप, कपोरेट पे, एनसीएचएल बैक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग आवद्व रहेका डिजिटल वालेटहरुमार्फत राजश्व दाखिला गर्न सक्नेछन् ।

प्रयोगकर्ता व्यवसायी तथा व्यक्तिहरुले उपयुक्त जुन कुनै उपकरणमार्फत आफ्नो बैंक खाताबाट भन्सारमा तिर्नुपर्ने राजस्व रकम भन्सार कोष खातामा जम्मा हुने गरी भुक्तानी गर्न सकिने छ ।

बुधबारदेखि २४ भन्सार कार्यालयमा सेवा सुरु

सुख्खाबन्दरगाहको सफल परीक्षणपछि बुधबारदेखि देशभरका थप २४ भन्सार कार्यालयमा यो सेवा सुरु हुने भन्सार विभागले जनाएको छ । अनलाइनबाट भन्सार राजस्व तिर्ने कार्य विस्तारको बुधबार अर्थमन्त्री जर्नादन शर्माले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट उद्घाटन गर्नेछन् ।

त्यसपछि विमानस्थल भन्सारसहित, विराटनगर र बिरगन्ज, भैरहवा लगायतका ठुला भन्सारसहितका एकीकृत भन्सार प्रणाली आसिकुँडा वर्ल्डसँग आवद्ध भन्सारमा यो प्रणाली लागू हुने विभागको भनाइ छ ।

निकासी पैठारी गर्ने व्यवसायीले अनलाइनबाट भुक्तानी गरेर बुधबार यो सेवा सुरु गर्ने विभागका प्रवक्ता खड्काले बताए ।

कस्तो  हुन्छ भन्सारमा विद्युतीय भुक्तानी प्रणाली ?

वैदेशिक व्यापारको नियमन गर्ने र देशको कुल राजस्वको झण्डै ४५ प्रतिशत वाषिर्क रुपमा राजस्व संकलन गर्ने भन्सार विभाग तथा अन्तर्गत कार्यालयहरुले दिने सेवाहरुलाई वेवमा आधारित बनाउँदै लगिएको र भन्सारमा बुझाउने राजस्वको समेत व्यवसायीहरुले विद्युतीय माध्यमबाटै तिर्न सम्भव हुने देखिएकोले राजस्व भुक्तानीमा यसको उपयोग गर्नु पर्ने आवश्यकता महसुस भैसकेको थियो ।

सोही अनुसार चालु वर्षको बजेट बक्तव्यमार्फत यसलाई कार्यान्वयनमा ल्याउने गरी घोषणा भएकोले विद्युतीय प्रणालीको शुरुवात गर्ने तयारी गरिएको छ । यसको कार्यान्वयनको लागि कार्यदल बनाई अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तिय संस्थाहरुसंगको राय परामर्श र सहयोगमा भन्सारमा बुझाउनु पर्ने राजस्वको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सिफारिसका आधारमा १ पुस  २०७८ देखि सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्जबाट परीक्षणको रुपमा शुरु गरी त्यसमा सफलता देखिएपछि अगाडि बढाउने निर्णय भएको हो ।

भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको संचालक निकाय नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग समन्वय गरी भन्सारको आसिकुँडा प्रणालीमा भुक्तानी संयन्त्रको संयोजन गरिएको छ । यस प्रणालीको प्रयोग गरी यसका प्रयोगकर्ता व्यवसायी तथा अन्य ब्यक्तिहरुले उपयुक्त कुनै उपकरणहरुमा आवद्व भई आफ्नो बैंक खाताबाट भन्सारमा तिर्नुपर्ने राजस्व रकम भन्सार कोष खातामा जम्मा हुने गरी भुक्तानी गर्न सकिने व्यवस्था नै विद्युतीय भुक्तानी प्रणाली हो ।

यसरी विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आई. पि. एस., मोवाईल एप, कपेर्ट पे, एनसीएचएल बैक सेन्टर तथा नेपाल क्लियरिङ्ग हाउससँग आवद्व रहेका डिजिटल वालेटहरु प्रयोग पनि गर्न सक्नेछन् ।

विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनौट गरी त्यसमा यूजर नाम र पासवर्ड प्राप्त गर्नुपर्छ । त्यसमा आफ्नो बैंक खाता लिंक गरी बैंक शाखाबाट सो प्रमाणित गराउनुपर्छ । भन्सारमा मालबस्तुको घोषणा तथा जाँचपासको कार्य सम्पन्न भएपश्चात प्रज्ञापनपत्रको साधारण विवरणहरु प्रविष्ट गरी भुक्तानी हुनुपर्ने रकम समेत यकिन गरी आफूले प्रयोग गरेको बैंकिङ्ग माध्यमबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भुक्तानीकर्ताले पैठारीकर्ताको नाम तथा भुक्तानी हुने राजस्व यकिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने र भुक्तानी सफल भएको जानकारी आएमा भन्सारमा रहेको बैंक शाखाबाट राजस्व भुक्तानीको रसिद समेत प्राप्त हुनेछ ।

यसको प्रयोगबाट व्यवसायीहरुले भन्सार राजस्व तिर्न बुझाउन नगद बोक्नुपर्ने वा गुड फोर पेमेन्टको चेकमार्फत भुक्तानी गर्न बैंकमा पुग्नु पर्ने समस्याबाट मुक्त भै इन्टरनेट सेवा भएका स्थानहरुबाट राजस्व भुक्तानी गर्ने सुविधा प्राप्त हुनेछ ।

विद्युतीय भुक्तानीको प्रयोगले भन्सार कार्यालयहरुमा जम्मा भएको राजस्वको वास्तविक तथ्यांक समेत तत्कालै प्राप्त गर्न सकिने छ ।

-पुण्यविक्रम खड्का, निर्देशक, भन्सार विभाग

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?