+
+

सबैभन्दा धेरै जनसंख्या काठमाडौं र कम मनाङमा

रासस रासस
२०७८ माघ १२ गते १४:०४

१२ माघ, काठमाडौं । देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा (३.३२ प्रतिशत) र सबैभन्दा कम रामेछाममा (माइनस १.६५ प्रतिशत) रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ । ग्रामीण-शहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा शहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ ।

स्थानीय तहअनुसारको जनसङ्ख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएका काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसङ्ख्या रहेको छ । २० हजारभन्दा कम जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या ३९ छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसङ्ख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसङ्ख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ रहेको छ । दश हजारभन्दा कम जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या १५ रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?