+
+

सुदूरपश्चिममा पनि एमालेले पायो सत्ता गठबन्धनका सांसदको मत

जनक विष्ट जनक विष्ट
२०७८ माघ १२ गते २०:२६

१२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाका तीन वटा रिक्त सिटमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेस कैलालीका नारायणदत्त मिश्र प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ गरेर ३७४४ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ ६२४ र स्थानीय तहतर्फ १२४२ गरेर १८६६ मतभार प्राप्त गरे ।

दलितमा सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्रका जगत पार्की विजयी भए । प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १८९० गरर ३७६२ मतभारसहित विजयी हुँदा प्रतिद्धन्द्धी नरेश बिकले प्रदेशसभातर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ गरेर १७८२ मतभार ल्याए ।

महिलातर्फ सत्तारुढ गठबन्धनकी उम्मेदवार गरिमा शाह विजयी भएकी छन् । शाहले प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ गरेर ३८३४ मतभार ल्याउँदा प्रतिद्धन्द्धी नेकपा एमालेकी सन्तोषकुमारी थापा शर्माले प्रदेशसभातर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ गरेर १७२८ मतभार ल्याइन् ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको थियो । तर लोसपासँग प्रदेशसभाका एक जना मतदाता बाहेक स्थानीय तहका मतदाता थिएनन् । सत्तारुढ गठबन्धनले विजयी उत्सव मनाइरहेका बेला नेकपा एमाले भने पराजयमा पनि खुसी देखिएको छ ।

‘प्रदेशसभा र स्थानीय तह दुवैतर्फ हामीले हाम्रो पार्टीको भन्दा पनि थप मत प्राप्त गरेका छौँ,’ एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले अनलाइनखबरसँग भने, ‘हाम्रा उम्मेदवारलाई विश्वास गरेर पार्टी बाहिरका मतदाताले पनि मतदान गर्नुुभएकोमा धन्यवाद दिन चाहन्छौँ ।’

नेकपा एमालेविरुद्ध अपवित्र गठबन्धन बनाएर सत्तारुढ दलहरुले घेराबन्दी गरिरहेको अवस्थामा राष्ट्रियसभा निर्वाचनको नतिजा स्वभाविक भएको उल्लेख गर्दै पाठकले पार्टी बाहिरका मतदाताको साथ पाउनुु एमालेका लागि उपलब्धी भएको जनाए ।

प्रदेशसभाको १ मत एमालेले तान्यो

सुदूरपश्चिम प्रदेशसभामा ५२ जना मतदाता रहेकोमा एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक पार्टीका १/१ जना मतदाता छन् । यो अनुसार सत्तारुढ गठबन्धनसँग ४० मतदाता, नेकपा एमालेसँग ११ जना र लोकतान्त्रिक समाजवादीका १ जना मतदाता छन् ।

नेकपा एमालेसँग प्रदेशसभामा ११ मत भएपनि लोसपाको साथ पाउँदा उसका उम्मेदवारले १२ मत पाउनुु स्वभाविक थियो तर दलित र महिलातर्फका उम्मेदवारले १२ मत पाउँदा अन्यतर्फका डिल्लीराज भट्टले भने प्रदेशसभातर्फ १३ मत प्राप्त गरे । भट्टले स्थानीय तहतर्फ पनि एमालेसँग भएको बाहेक थप एक मत प्राप्त गरे ।

स्थानीय तहमा कुल १७५ मतदाता रहेकोमा एमालेसँग ७१ मतदाता रहेकोमा डडेल्धुराका एक जना र बझाङका दुुई जना एकीकृत समाजवादीतिर देखिएपछि उससँग ६८ मतदाता मात्र थिए । जबकी भट्टले स्थानीय तहतर्फ ६९ मत प्राप्त गरेका छन् ।

‘मेरो पक्षमा पार्टीको मात्र नभएर गठबन्धनमा रहेका दलका मतदाताले पनि मतदान गर्नुुभएको छ । यसका लागि उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छु,’ मत परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिदै भट्टले भने ।

नेकपा एमालेले पराजयकाबीच पनि गठबन्धनको मत तानेर अस्तित्वको लडाइँमा सफल भएको अनुुभूूति गरिरहेका बेला सत्तारुढ गठबन्धनभित्र भने यसले असन्तुष्टि उत्पन्न गरिदिएको देखिन्छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरुले मतदानमा प्रदेशसभा सदस्यले नै ‘फलोर क्रस’ गर्नुु गम्भीर विषय भएको भन्दै छानविनको विषय बन्नुुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धनमा आवद्ध एक जना प्रदेशसभा सदस्यले अर्को पार्टीको उम्मेदवारलाई मत दिनुुलाई गम्भीर रुपमा लिएको बताउँदै पार्टीले छानबिन गर्ने बताए ।

‘यसलाई हामीले निकै गम्भीर रुपमा लिएका छौँ । हाम्रो पार्टी नेपाली काँग्रेस र गठबन्धनभित्र यो विषयमा छलफल गरेर छानविन गर्नुुपर्छ हामी गछौँ,’ बलायरले भने ।

एकीकृत समाजवादी पार्टीकी प्रमुख सचेतक दुुर्गाकुमारी बिक र माओवादी केन्द्रका सचेतक अक्कलबहादुर रावलले पनि मत बाहिर गएको विषयमा छानबीन गर्नुुपर्ने बताएका छन् ।

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले प्रदेशसभा सदस्यले आफ्नो पार्टीका उम्मेदवारका पक्षमा मतदान गर्नुु सत्तारुढ दलको गठबन्धन अपवित्र भएको पुुष्टि गरिदिएको प्रतिक्रिया दिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?