
१७ माघ, काठमाडौं । उत्तर कोरियाले पाँच वर्षयताकै शक्तिशाली मिसाइलले अन्तरिक्षबाट खिचेका तस्बिर सार्वजनिक गरेको छ । उडिरहेको मिसाइलले अन्तरिक्षबाट खिचेका तस्बिरमा कोरियाली प्रायद्धीप र वरपरको क्षेत्र देखिएको छ ।
आइतबार उत्तर कोरियाले सन् २०१७ यताकै शक्तिशाली मिसाइल परीक्षण गरेको थियो । सोमबार उत्तर कोरियाले समेत ह्वासङ-१२ नामक मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ ।
हजारौं माइलसम्म जान सक्ने ह्वासङ-१२ मिसाइलले अमेरिकाको गुवामलगायत अमेरिकी क्षेत्रलाई निशाना बनाउन सक्छ । सोही मिसाइलमा जडित क्यामराले अन्तरिक्षबाट खिचेका तस्बिर आज सार्वजनिक गरिएको हो । जापान सागरमा झर्नुअघि उक्त मिसाइल दुई हजार किलोमिटर माथिसम्म पुगेको थियो ।
सार्वजनिक गरिएको एक तस्बिरमा मिसाइल प्रक्षेपण गर्दाको क्षण र माथिबाट खिचिएको अर्को तस्बिरमा बीच बाटोमै उड्दै गरेको मिसाइल देख्न सकिन्छ । उत्तर कोरियाले गत महिनामा सबैभन्दा धेरै अर्थात् सात पटक मिसाइल परीक्षण गरिसकेको छ । पछिल्लो परीक्षणसँगै अन्तर्राष्ट्रिय समुदाय पुन: सतर्क बनेको छ ।
प्रतिक्रिया 4