
१७ माघ, काठमाडौं। युक्रेनको सीमानामा रुसी सेनाको बढ्दो उपस्थितिलाई लिएर चर्केको भू-राजनीतिक संकटबारे छलफल गर्न आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ ।
संयुक्त राज्य अमेरिकाको अनुरोधमा युक्रेनी सिमानामा रुसी सेनाको उपस्थितिबारे छलफल गर्न भन्दै पहिलो पटक राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । सोमबार बस्न लागेको बैठकमा युक्रेनमाथि रुसले गर्न सक्ने हमलाको संभावनाबारे छलफल हुने अलजजिराले जनाएको छ ।
पश्चिमा मुलुकले युक्रेनमाथि रुसले कुनै पनि बेला हमला गर्न सक्ने भन्दै बारम्बार चेतावनी दिइरहेका बेला सुरक्षा परिषद्को बैठक बस्न लागेको हो।
रुसले हमला गर्ने कुनै योजना नभएको भन्दै पश्चिमी मुलुकको आरोप खण्डन गर्दै आएको छ । शुक्रबार मात्रै रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका थिए ।
त्यस्तै, युक्रेनले समेत पश्चिमी मुलुकलाई युद्धको त्रास नदेखाउन भनिसकेको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरूलाई युद्धको आतंक सिर्जना नगर्न आग्रह गरिसकेका छन् । कूटनीतिमार्फत् जारी संकट कम गर्ने प्रयास भइरहेका बेला जेलेन्स्कीको अभिव्यक्ति आएको हो ।
तर युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव कम हुने कुनै संकेत भने देखिएको छैन । अमेरिका र युरोपेली युनियनले युक्रेनमा हमला गरे रुसमाथि कडा प्रतिबन्ध लगाउने बताइरहेका छन् ।
प्रतिक्रिया 4