+
+

घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

नुनुता राई नुनुता राई
२०७८ माघ २१ गते १९:०९

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ ।

लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् । ‘धेरै वर्ष अगाडिदेखि पुस्तकालय प्रविधिमैत्री बनाउने भनेको थियौं, तर भइरहेको थिएन,’ उनले भने, ‘कोभिडका कारण भौतिक रुपमा पुस्तकालय पुगेर अध्ययन गर्न सम्भव नभएपछि डिजिटल लाइब्रेरी बनाउन सुरु गर्‍यौ ।’

हाललसम्म ६ हजार ४५० शोधपत्र, अनुसन्धान पत्र तथा जर्नल डिजिटलाइज्ड भइसकेका छन् । अहिले पनि पाँच जना कर्मचारी शोधपत्र डिजिटलाइज्ड गर्न निरन्तर काम गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सामग्रीसम्म पहुँच

ई-पुस्तकालयमार्फत भारतको नेसनल डिजिटल लाइब्रेरीमा भएका सामग्रीहरु पनि पढ्ने सुविधा दिइएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र भारतको नेसनल डिजिटल लाइब्रेरीबीच सुरुमा १५ हजार आधिकारिक विद्यार्थीलाई पहुँच दिने सहमति भएको थियो । अहिले १० हजारको सीमा हटाइएको छ ।

नेसनल डिजिटल लाइब्रेरीमा भएका पुस्तक, शोधहरु अध्ययन गर्न चाहेमा केन्द्रीय पुस्तकालयमार्फत युजर आईडी र पासवर्ड उपलब्ध हुनेछ, जसमार्फत नेसनल डिजिटल लाइब्रेरीमा भएका पुस्तक, शोधहरु सहजै अध्ययन गर्न पाइनेछ ।

ई-लाइब्रेरी प्रो क्वेस्टमा पनि सहज पहुँच हुनेछ । यहाँ भएका स्रोत सामग्री प्रयोग गर्न सब्सक्राइब गर्नुपर्छ । तर त्रिविको ई–पुस्तकालयमार्फत प्रो क्वेस्टमा भएका चार लाख ५० हजारभन्दा बढी ई–बुक्स, पाँच लाखभन्दा बढी थेसिस र ६ लाखभन्दा बढी अनुसन्धानमुलक लेख, जर्नल, अडियो–भिडियो सामाग्री र लेखहरु पनि पढ्न सकिनेछ ।

यस्तै एसियाली विकास बैंक (एडिबी)का तीन लाखभन्दा बढी प्रकाशनहरु पनि ई–लाइब्रेरीमा पढ्न सकिने भएको छ ।

ई–लाइब्रेरीमा कसरी पहुँच राख्ने ?

ई–लाइब्रेरीमा भएका स्रोत सामग्री अध्ययन गर्न त्रिविको आधिकारिक विद्यार्थी, कर्मचारी अथवा प्राध्यापक हुन जरुरी छैन । केन्द्रीय पुस्तकालयको वेबपेज लगइन गर्नुस् । प्रो क्वेष्ट डाटाबेस, इन्डियन नेसनल डिजिटल लाइब्रेरीमा भएका स्रोत सामग्री पढ्न भने केन्द्रीय पुस्तकालयले उपलब्ध गराएको आधिकारिक इमेलबाट लगइन गरेर मात्रै अध्ययन गर्न सकिन्छ ।

‘पहिला कसरी लाइब्रेरीसम्म पाठक ल्याउने भन्ने हुन्थ्यो अब कसरी पाठकको घरसम्म लाइब्रेरी पुर्‍याउने भन्ने समय आएको छ । हामी समय अनुसार प्रयास गरिरहेका छौं,’ प्रमुख श्रेष्ठले भने ।

पुस्तकहरु डिजिटलाइज्ड गर्न बाँकी

केन्द्रीय पुस्तकालयमा चार लाख २५ हजार भन्दा बढी पुस्तक छन् । तर त्यसलाई  भने डिजिटलाइज्ड गरिएको छैन । स्पष्ट कानून नभएको र प्रतिलिपि अधिकार लिनुपर्ने भएकाले पुस्तकहरु डिजिलटलाइज्ड नगरिएको पुस्तकालय अधिकृत विजय शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘हामीले पुस्तकालयमा भएका कस्ता पुस्तकलाई डिजिटलाइज्ड गर्ने, कस्तालाई नगर्ने भन्ने कानुन छैन । लेखकहरुको कपिराइट लिने÷नलिने स्पष्ट नभई राख्दैनौं ।’

यद्यपि विश्व बैंकको सहयोगमा डिजिटल कार्ड प्रयोगमा ल्याइएको छ । अब पुस्तक निकाल्न वा बुझाउन लाइब्रेरी कार्डमा हस्ताक्षर गर्नुपर्ने, छाप लगाउनुपर्ने झन्झट हटेको छ ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?