+
+

पूर्वएसपी दीपक खरेल : जसले अवकाशको ८ वर्षसम्म जागिर खाए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १९:५४

१० फागुन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेलले अवकाश भएको ८ वर्षसम्म पनि जागिर खाएको पाइएको छ ।

निजामती प्रहरी किताबखानाको रेकर्ड अनुसार खरेलले १२ चैत २०६९ मै अवकाश पाउनुपर्ने हो । तर उनले थप ८ वर्षसम्म पनि जागिर खाएको पाइएको हो ।

अवकाश पाउनुपर्ने व्यक्तिले प्रहरी उपरीक्षक (एसपी) को फुली लगाएपछि यो विषय बाहिर आएको थियो । निजामती किताबखानाले उनले २०६९ सालमै अवकाश पाउनुपर्ने भन्दै ६ वर्षपछि २०७५ सालमा अवकाशको पत्र पठाएको थियो । प्रहरी किताबखानाले त्यसबेला प्रहरी संगठनबाट लिएको अतिरिक्त तलब, सुविधा पनि फिर्ता गर्नुपर्ने बताएको थियो ।

तर खरेलले किताबखानाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्चले तत्काल किताबखानाको आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले सपी खरेलको रिट खारेज गरिदिएको छ । योसँगै खरेलले १२ चैत २०६९ पछि १४ पुस २०७७ सम्म जागिर खानु कानुन विपरीत देखिएको छ । अदालतको फैसलाको पूर्णपाठ चाहिँ आइसकेको छैन ।

खरेल १३ चैत २०३९ सालमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका थिए । पछि उनी प्रहरीमा गयल भए र २ वैशाख २०५४ सालमा जागिरबाट हटाइए । त्यसबेला उनले उपदानको रकम समेत बुझिसकेका थिए ।

तर अच्यूतकृष्ण खरेल प्रहरी महानिरीक्षक बनेपछि १ साउन २०५५ मा उनी सेवामा पुनर्वहाली भएका थिए । त्यतिबेला प्रहरी निरीक्षकमा भर्ना हुन २५ वर्ष ननाघेको हुनुपथ्र्यो । दीपक खरेल त्यतिबेला ३३ वर्ष पुगिसकेका थिए, त्यसैले पूर्वआईजीपी खरेलले उनलाई सेवा प्रवेश गराएर आन्तरिकतर्फ निरीक्षकमा प्रतिस्पर्धा गर्न योग्य हुने गरी बाटो खोलिदिएका थिए ।

खरेलले आफू १८ मंसिर २०५५ सालमा प्रहरीमा भर्ना भएको दाबी गर्दै आफ्नो जागिर नसकिएको जिकिर गरेका थिए । अदालतमा पेश भएको विवरण अनुसार उनी पुनर्वहालीपछि १८ मंसिर २०५५ मा हवल्दारबाट राजीनामा दिएर १८ मंसिर २०५५ मा प्राविधिक जवानमा भर्ना भएका थिए ।

दोहोरो नागरिकतामा छानबिन

पूर्वएसपी खरेलको नागरिकतासमेत दुई वटा रहेको भेटिएको छ । उनले २०३९ सालमा जागिर खाँदा २०२२ सालमा जन्म भएको विवरणसहितको नागरिकता पेश गरेका थिए । तर पछि निरीक्षक हुँदा उनले २०२५ साल उमर भएको विवरण बुझाएका थिए ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । ‘उजुरीमाथि छानविन भएर मुद्दा चले उनको पेन्सन पनि रोकिनसक्थ्यो’ एक अधिकारीले भने, ‘त्यसैले उनी आफ्नो जन्म मिति २०२२ नै भएको जिकिर गर्दै २०७७ पुसमा अवकाश लिएका थिए ।’

यदि उनले २०२५ सालकै जन्ममिति दाबी गरेको भए थप केही समय जागिरमा रहने थिए । तर २०२२ मा जन्म भएको नागरिकताका आधारमा एसपीको ५५ वर्षे उमेर हदका कारण २०७७ सालमा अवकाश लिएका थिए । उनले त्यही आधारमा अहिले पेन्सन समेत लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?