+
+

युक्रेनको राजधानी किभको सडकमा भिडन्त सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १८:१८
तस्वीर : किभमा रुसी सेनाको आक्रमणबाट क्षति पुगेको अपार्टमेन्ट । तस्वीर : एएफपी

१४ फागुन, काठमाडौं । युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु भएको छ । हमलाको तेस्रो दिन किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् । यसअघि उनले देश छाड्न अमेरिकाले गरेको आग्रह अस्वीकार गरेका थिए ।

‘हामीले आत्मसमर्पण गर्ने छैनौं, हामीले देशको रक्षा गर्नेछौं’, जेलेन्स्कीलाई उदृत गर्दै अलजजिराले लेखेको छ, ‘हाम्रो हतियार भनेको हाम्रो सत्य हो र सत्य भनेको यो भूमि, यो मुलुक हाम्रो हो र बालबालिका हाम्रा हुन् । र हामीले यी सबैलाई बचाउनेछौं ।‘

रुसी हमलामा परी हालसम्म १९८ जना युक्रेनीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये ३ जना बालबालिकासमेत छन् । त्यस्तै, एक हजार ११५ जना घाइते भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियास्कोले जानकारी गराएका छन् ।

रुसी सेनातर्फ समेत ठूलो हताहती भएको युक्रेनले बताएको छ । त्यहाँका अधिकारीहरूले ३५ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । युक्रेनको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै रुसका १४ वटा विमान, ८ हेलिकप्टर, १०२ वटा ट्याङ्क, ५३६ सशस्त्र बहान र १५ वटा तोप ध्वस्त पारेको जनाएको छ ।

यता रुसको रक्षा मन्त्रालयले युक्रेनका आठ सयभन्दा बढी सैन्य संरचना र अखडा ध्वस्त पारेको बताएको छ । मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभका अनुसार रुसी आक्रमणमा १४ हवाइ अखडा, १९ वटा कमाण्ड पोष्ट र जल सेनाका आठ वटा डुङ्गा ध्वस्त भएका छन् । त्यस्तै, २४ वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र ४८ वटा रडार प्रणाली नष्ट गरेको पनि कोनासेन्कोभको भनाइ छ ।

यसैबीच, रुसी सेनासँग लडिरहेको युक्रेनमा फ्रान्सले हतियार एवं उपकरण पठाउँदै छ । शनिबार बिहान जेलेन्स्की फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रोबीच कुरा भएको थियो ।

उक्त कुराकानी लगत्तै जेलेन्स्कीले ‘कुटनीतिक मोर्चाको नयाँ दिन सुरु भएको भन्दै ट्विट गरेका छन् । ‘युद्धविरोधी गठबन्धनले काम गरिरहेको छ’, उनको ट्विटरमा उल्लेख छ । शनिबार नै म्याँक्रोले एक भिडियो पोष्ट गर्दै ‘युद्ध लामो समय चल्ने छ र हामीले यसको तयारी गर्नुपर्छ’ भनेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत युक्रेनलाई तत्काल सैन्य सहायता दिने एक आदेशमा हस्ताक्षर गरेका छन् । उनले ६० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने सो आदेशमा हस्ताक्षर गरेका हुन् ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?