
२० फागुन, काठमाडौं । अमेरिकी र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन सेवा सुरु भएको छ । युक्रेनमा रुसी हमला जारी रहेका बेला ‘गलत कदम, सैन्य घटना एवं तनाव’ रोक्न भन्दै दुवै मुलुकले हटलाइन सेवा सुरु गरेका हुन् ।
बिहीबार एक अमेरिकी अधिकारीले रोइटर्स समाचार माध्यमसँग कुरा गर्दै पेन्टागन र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन स्थापना भएको बताएका छन् । युक्रेनमा युद्ध जारी रहेका बेला पूर्वीयुरोपमा हुन सक्ने सैन्य टकराव, तनाव एवं गलत कदमलाई रोक्न हटलाइन सेवा सुरु गरिएको उनको भनाइ थियो ।
‘रक्षा मन्त्रालयले मार्च १ मा गलत कदम, सैन्य घटना एवं तनाव रोक्ने उद्देश्यसहित रुसको रक्षा मन्त्रालयसँग डिकन्फ्लिक्शन जोन स्थापना गरेको छ’, नाम उल्लेख नगर्ने शर्तमा अमेरिकाका एक वरिष्ठ सैनिक अधिकारीले भने ।
अमेरिकाले यसअघि सिरियासहित अन्य मुलुकमा भएका युद्धका बेला पनि रुससँग हटलाइन सुरु गरेको थियो ।
अमेरिकाले युक्रेनमा आफ्ना कुनै सैनिक नभएको बताइसकेको छ । तर, नेटो गठबन्धनले युरोपेली मुलुकमा दोस्रो विश्व युद्धपछि कै ठूलो हमला भएपछि अन्यत्रसमेत युद्ध फैलिन सक्ने भन्दै चिन्ता जनाइरहेको छ ।
यद्यपि, अमेरिका र उसका सहयोगी मुलुकले रुसी सेनासँग लडिरहेको युक्रेनी सेनालाई करोडौं डलर बराबरका हतियार पठाइरहेका छन् । रुसले भने कसैबाट हस्तक्षेप भए गम्भीर परिणाम निम्तिने चेतावनी दिइसकेको छ ।
प्रतिक्रिया 4