+
+
समाज :

युद्धकालमा साम्यवादी अभ्यास : ‘कम्युन घर’सँगै भत्किएको सपना

उनलाई व्यक्तिगत पारिवारिक जीवनभन्दा सामूहिक बस्न रमाइलो लाग्यो । कम्युन घर सधैं यस्तै होस् भन्ने उनी चाहन्थिन् । उनलाई लागेको थियो, कम्युन घर कसैगरी भत्किंदैन होला, परिवारमा कहिल्यै फुट आउने छैन ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन २५ गते ९:००

२० फागुन, दाङ । २०५८ सालमा रोल्पा थबाङको ठूलो गाउँमा नेपाली सेनाले आगो लगाउँदा राममाया रोकाको घर जल्यो । घर जलेपछि गाउँमा बस्न सुरक्षित भएन । उनका श्रीमान् ताराबहादुर रोकाले बाँकी बचेको घरसम्पत्ति पार्टीलाई दान गरेर ‘कम्युन घर’मा बस्न थाले ।

साम्यवादी कम्युनिष्ट नीति अँगाल्दै सशस्त्र द्वन्द्वकै क्रममा रोल्पा, रुकुम र जाजरकोटमा तत्कालीन विद्रोही नेकपा माओवादीले सामूहिक परिवार बस्ने ‘कम्युन घर’को अभ्यास सुरु गरेको थियो ।

कम्युनिष्ट अभ्यासअनुसार व्यक्तिगत सम्पत्ति छाडेर सामूहिक रुपमा खेतीपाती गरेर बस्ने बासस्थानलाई कम्युन घर भनिन्छ । सबै नागरिक बराबर हुने, निजी सम्पत्ति केही नहुने, सामूहिक परिवार एउटै घरमा बस्ने, सामूहिक कार्य गर्ने र जे आउँछ बाँडीचुँडी खाने भन्दै साम्यवादी अभ्यास गर्दै राममाया र उनको परिवार कम्युन घरमा बस्न थाले ।

उनको परिवारसहित गाउँका थुप्रैले व्यक्तिगत सम्पत्ति पार्टीलाई दान गरेर संयुक्त परिवारका रुपमा कम्युन घरमा बस्न आइपुगे । २०६० सालमा लामो घर बनाएर ६ जना परिवारबाट गठन भएको थवाङको ‘अजम्बरी जनकम्युन’ ३३ जना परिवारसम्म पुग्यो । १४५ जना कम्युन घरमा बस्थे । उनीहरुलाई कम्युन घरका सदस्य भनिथ्यो ।

‘कम्युनमा आफूसँग भएका सबै सम्पत्ति बुझाएर, मेरो निजी केही हुने छैन भनेर बस्न आउनुपर्थ्याे । तेरो, मेरो भन्ने केही हुँदैनथ्यो’ राममाया भन्छिन्, ‘कम्युनमा जे हुन्थ्यो सबैको साझा हुन्थ्यो ।’

कम्युन घरमा केटाकेटी हुर्काउनेदेखि खेतीपाती गर्ने, खाना बनाउने सबै काम सामूहिक हुन्थ्यो । ‘३३ परिवार एउटै घरमा बस्ने, एउटै भान्सामा खाना बनाएर सँगै खाने र सबै काम सँगै गर्थ्यौं,’ उनी थप्छिन् । कम्युन घरमा बस्दा राममाया खुसी थिइन् । उनलाई लागेको थियो, साँच्चै साम्यवाद यसरी नै सम्भव छ । तर उनको खुसी धेरै वर्ष टिकेन । साम्यवादको सपना देखाउने नेताहरु सत्तामा पुगेपछि सबैथोक बिर्सिए ।

२०६० सालदेखि सुरु भएको थबाङको कम्युन घर शान्ति सम्झौता पछिका केही वर्ष पनि चल्यो । नेताहरु सत्तामा पुगेपछि जब माओवादी पार्टीभित्र ध्रुवीकरण सुरु भयो । त्यसको असर कम्युन घरमा पनि पर्‍यो । ३३ परिवार पुगेकामध्ये कम्युन घरका छाडेर आ–आफ्नो व्यक्तिगत घर व्यवहारमा फर्के ।

राममायाले भने कम्युन घर छाड्न सकिनन् । श्रीमान् ताराबहादुर रोका उनलाई कम्युन घरमा छाडेर समाज बदल्न भन्दै बन्दुक बोकेर युद्धमा होमिएका थिए । तर युद्धको मैदानबाट उनी बाँचेर फर्केनन् । उनका श्रीमान्ले संयुक्त परिवार बस्ने सपना देखाएर सबै घरसम्पत्ति पार्टीलाई दिएर त्यहाँ ल्याएका थिए ।

श्रीमानको मृत्युपछि राममायाको जीवनको खुसी खोसिए पनि कम्युन घरको सपना भने बाँकी थियो । तर अहिले कम्युन घर फुटेपछि उनको सपना पनि भत्कियो । ‘नेताले देखाएको आदर्शको पछि लागेर घरवार सबै छोडेर आयौं,’ उनी भन्छिन्, ‘अहिले त्यो सबै भत्कियो । नेताहरुले सपना मात्र देखाए । सत्तामा पुगेपछि कम्युन घर बिर्सिए ।’

रोल्पाका रामपुरी रोका अहिले पनि अजम्बरी कम्युन घरमै छिन् । पार्टीले सुरु गरेको साम्यवादी अभ्यासको पछि लागेर उनको परिवारले व्यक्तिगत सम्पत्ति सबै बुझाएर कम्युन घरमा बस्न आइपुगेका थिए ।

शान्ति प्रक्रियापछि रोल्पाको दुईवटा कम्युन घरसहित रुकुम र जाजरकोटको कम्युन घर विघटन भइसकेका छन् । पार्टीलाई सम्पत्ति दान गरेर कम्युन घरमा बस्न आएका परिवार विचल्लीमा छन्

‘कम्युनमा सम्पत्ति, गाईवस्तु सबै साझा थियो । हरेक काम गर्नुपरे कम्युन परिवारमा सल्लाह गरेर गरिन्थ्यो,’ उनी सुनाउँछिन्, ‘कम्युन घरका रहेक सदस्य आफ्नै परिवारझैं थिए । सबै परिवार एउटै घरमा मिलेर बस्ने र सामूहिक काम गर्ने गर्थ्यौं ।’

कम्युन घरमा अन्नबाली मात्र हैन आम्दानी समेत सामूहिक रुपमा बाँडिन्थ्यो । ‘अन्नबाली उब्जाएर आएको पैसा कम्युन कोषमा जम्मा गरिन्थ्यो,’ राममाया भन्छिन्, ‘कसैले व्यापार र पेसा गरेर कमाएको पैसा पनि व्यक्तिले राख्दैन थिए । हरेक आर्थिक हिसाब कम्युन घरलाई बुझाएर त्यहींबाटै घरको खर्च चलाइन्थ्यो ।’ सामूहिक रुपमा बस्दा पनि कम्युन घरमा कहिले झैझगडा र मनमुटाव नभएको उनी सुनाउँछिन् ।

कम्युन घरमा विभाग छुट्टाएर काम हुन्थ्यो । घर, भान्सादेखि सरसफाइ सम्हाल्ने जिम्मेवारी महिलाहरुकै हुन्थ्यो भने पुरुषहरु बाहिरी काम खेतीपाती, गाईवस्तु र पसल चलाउने गर्दथे । राममाया भन्छिन्, ‘हरेक काम गर्दा परिवार सल्लाह गरेर गर्थ्यौं । खाना पनि खान्थ्यौं । खेतीपातीबाट आएको अन्नबाली सामूहिक उब्जाएर बाँड्थ्यौं ।’

कम्युन घरमा बस्न आउँदा राममायाको परिवार पनि दंग थियो । ‘कम्युनमा आएपछि कोही धनी, गरिब, ठूलो सानो भन्ने थिएन,’ उनी भन्छिन्, ‘सबै समान हौं, मिलेर बस्नुपर्छ भन्ने भावना हुन्थ्यो । दुःखमा एकअर्कालाई सघाउँथ्यौं, सहयोग गर्थ्यौं ।’

सत्तामा पुगेपछि नेताले बिर्सिए कम्युन घर

उनलाई व्यक्तिगत पारिवारिक जीवनभन्दा सामूहिक बस्न रमाइलो लाग्यो । कम्युन घर सधैं यस्तै होस् भन्ने उनी चाहन्थिन् । उनलाई लागेको थियो, कम्युन घर कसैगरी भत्किंदैन होला, परिवारमा कहिल्यै फुट आउने छैन । नेताहरु पनि सत्तामा पुगेपछि देशभर यस्तै कम्युन घर बनाउने कुरा गर्थे ।

तर सोचे जस्तो हुन सकेन । शान्ति प्रक्रियापछि जब पार्टी सत्तामा पुग्यो, नेताहरुले कम्युन घरलाई बिर्सिए । ‘युद्ध चलुञ्जेल नेताहरु कम्युन घरको सपना देखाउँथे, समाजवादमा जाने भाषण गर्थे,’ उनले भनिन्, ‘सत्तामा पुगेपछि त्यो सबै बिर्र्सिए । कम्युन परिवारलाई भुले ।’

अहिले उनी त्यही कम्युन घरमा बसेपनि एक्लै व्यवहार चलाइरहेकी छन् । कम्युन घरको सपना भत्किएपछि उनको मन पनि फाटेको छ ।

कम्युनका भौतिक घर छन्परिवार छैनन्

अहिले कम्युन घर छैनन् । भौतिक घर भएपनि त्यहाँ परिवार छैनन् । माओवादीले द्वन्द्वकालमा रोल्पाको थबाङमा अजम्बरी जनकम्युन, जेलबाङमा जलजला, रुकुममा बलिदान जनकम्युन र जाजरकोटमा जुनी जनकम्युन सञ्चालन गरेको थियो । रोल्पाबाट सुरु गर्ने र सत्तामा पुगेर देशभर यस्तै कम्युन अभ्यास गर्ने माओवादीको सपना थियो ।

थबाङकै जयप्रकाश रोका कम्युन घरका संयोजक थिए । जीवनभरसँगै बस्ने वाचा गरिएको कम्युन घर शान्ति प्रक्रियापछि फुट होला भन्ने सोचेकासम्म थिएनन् उनले ।

तर साम्यवादको सपना देखाएर नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिए । उनीहरु कम्युन घरमा फर्केर आएनन् ।

‘सत्तामा पुगेपछि नेताहरुबीच मतभेद सुरु भयो’ उनी भन्छन्, ‘पार्टी ध्रुवीकरणपछि कम्युन घरमा पनि विचार फरक–फरक आउन थाले ।’ युद्धकालसँगै रहेका कम्युन परिवारमा केहीले प्रचण्ड पक्ष, केही विप्लव र केही वैद्य समर्थनमा पुगे । यसको असर कम्युन घरमा पर्याे ।’

नेताहरु पार्टी विभाजनको बाटोमा लागेपनि कम्युन घर जोगाइराख्न कम्युन परिवारले कोशिश गरे । २०७० सालसम्म कम्युन घरमा १२ भन्दा बढी परिवार थिए । तर क्रमशः पार्टीमा परेको विभाजनको असरले कम्युन घर खाली हुँदै गयो । ३३ परिवार पुगेको थबाङको कम्युन घरमा तीन परिवार मात्रै छन् । उनीहरु एउटै घरमा भएपनि आ–आफ्नै घरगृहस्थी गरिरहेका छन् ।

‘पार्टी नै विभाजित भएपछि  सबै कम्युन घर पनि विघटनको सँघारमा पुगे,’ रोका भन्छन्, ‘कम्युन घरका सदस्यहरु विस्तारै घर छाड्दै व्यक्तिगत जीवनमा फर्किए ।’

शान्ति प्रक्रियापछि रोल्पाको दुईवटा कम्युन घरसहित रुकुम र जाजरकोटको कम्युन घर विघटन भइसकेका छन् । पार्टीलाई सम्पत्ति दान गरेर कम्युन घरमा बस्न आएका परिवार विचल्लीमा छन् । उनीहरुले कम्युन घरमा बुझाएको सम्पत्ति फर्कंदा फिर्ता पाएनन् ।

थबाङ कम्युन घरका संयोजक रोकाले कम्युन घर आदर्श र सिद्धान्तमा मात्र सीमित भएको  बताउँछन् । ‘हिजो कम्युनको जुन अभ्यास गरियो, अहिले हेर्दा त्यो एउटा आदर्श मात्र रहेछ भन्ने लाग्छ’ उनी भन्छन्, ‘त्यो बेला हामीलाई आदर्श देखाइयो तर व्यवहारमा त्यो सम्भव रहेनछ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?