+
+

एनआरएनएमा समानान्तर अधिवेशन, घलेले घोषणा गरे बेग्लै समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १३:०१

२६ फागुन, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको बिबादले संस्था बिभाजनतिर धकेलिएको छ । मतदाता र सदस्य चयनमा बिबाद भएपछि बिगत ६ महिनायता तदर्थ स्वरुपमा चलिरहेको एनआरएनमा दुवै पक्षले समानान्तर महाधिवेशन र निर्वाचनको तयारी थालेका छन् ।

संस्थापन पक्षले घोषणा गरेको चुनावमा भाग नलिने बताउँदै आएको बिद्रोही पक्षले समानान्तर अधिवेशन र निर्वाचनको धोषणा गरेको छ । संघका प्रमुख संरक्षकसमेत रहेका पूर्व अध्यक्ष शेष घलेले महाधिवेशन मूल आयोजक समिति र निर्वाचन समिति समेत छुट्टै गठन गरेका छन ।

कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षणक घलेले यस्तो निर्णय गरेका हुन् । वर्तमान कार्यसमितिले मार्च २४ र २५ गते महाधिवेशन गराउने तयारी गरिरहेको छ । यसका लागि आज शुक्रबारसम्म मनोनयनको मिति राखिएको छ ।

उम्मेदवारी मनोनयको अन्तिम मिति शुक्रबार भए पनि अध्यक्षका प्रत्यासी कुल आचार्यले उम्मेदवारी मनोयन गराएनन् । यो विधान विपरित भएको भन्दै आफूले विधान अनुरुप हुने मनोनयनमा मात्रै सहभागिता जनाउने बताएका छन् ।

उता पन्त पक्षधरले तोकेको निर्वाचन मितिलाई नै नजिक हुने गरी घलेले मार्च २२ देखि २५ तारिख गर्ने घोषणा गरेका छन् । घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् । दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ ।

संघको  विधान २००३ -२०२१ संशोधन सहित) को धारा  १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति गठन गरेको घलेले बताएका छन् । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

घले पक्षधरले छुट्टै निर्वाचन समिति समेत बनाएको छ । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्ऽा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौा महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उच्चस्तरीय समितिले झन्डै २,६०० मतदाताहरु रहेको सूची तयार गरेको छ ।  सोही  सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ । तर यसलाई पन्त पक्षधरले भने स्वीकार नगर्ने बताएको छ । आफूहरुले नै निर्वाचन गराउने र तोकिएको समयमा नै निर्वाचन हुने पन्त पक्षधरको दावी छ ।

दुई पक्षले छुट्टाछुट्टै निर्वाचन समिति बनाएर निर्वाचन मिति घोषणा गरेपछि आधिकारिक पक्ष कुन हो भन्ने विवाद चुलिएको छ । दुवै पक्षले आधिकारिकता दावी गरे पनि त्यसको निरुपण भने नियामक निकायका रुपमा रहेको परराष्ट्र मन्त्रालयले गर्ने छ ।

शुरुमा संस्थामा भोट हाल्ने प्रतिनिधि (डेलिगेट्स) छनोटको विषयबाट विवाद सुरु भएको थियो । दुई पक्षबीच प्रतिनिधि छनोटमा देखिएको विवादले एनआरएनलाई विभाजनको संघारमा ल्याएको हो । अहिले संस्थाका पूर्व अध्यक्षहरु नै विभाजित छन् ।

पूर्व अध्यक्ष शेष घले र देवमान हिराचन एक पक्षमा देखिएका छन् भने पूर्व अध्यक्षहरु जीवा लामिछाने र भवन भट्ट भने पन्त पक्षमा रहेका छन् । विभाजनले औपचारिकता लिएपछि पूर्व अध्यक्षहरु दुई खेमामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?