+
+

नवौं राष्ट्रिय खेलकुद जेठमा !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १६:०१

२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् ।

गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती झमेलाका कारण यो समयमा खेलकुद हुन सकेन ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आगामी जेठमा प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘फागुनमा सकिएन । चैतको अन्तिम वा बैशाखको सुरुसम्ममा गर्नका लागि विद्यालयको परीक्षा समय परेको हुनाले व्यवहारिक रहेन ।’

मन्त्री गहतराजले थपे, ‘बैशाखमा स्थानीय निर्वाचन पनि भएकाले आचारसंहिता लागू भएपछि प्रतियोगिता सन्चालन गर्न सम्भव हुँदैन । त्यसकारण जेठको १५ गते वजेट आउनुअघि नै नवौं खेलकुद सम्पन्न गर्ने गरी सल्लाह भइरहेको छ ।’ मन्त्रालयले आठौं राष्ट्रिय खेलकुदमा समावेश भएको ३५ खेलको संख्य नघट्ने गरी यसवर्ष खेल संख्या निर्धारण गर्ने बताएको छ ।

जेठदेखि मनसुन सुरु हुने समय पर्छ । पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने समय भएका कारण पनि प्रतियोगिताको आयोजनामा शंका सुरु भएको छ । ‘हामीले स्थानीय आयोजकदेखि खेल अधिकारीहरुसँग पनि छलफल गरेका छौं । जलवायु परिवर्तनका कारण पछिल्लो तीन वर्षदेखि पोखराको मौेसम पनि धकेलिएको पाएका छौं । उहाँहरुले नै समस्या हुँदैन भन्नुभएको छ,’ मन्त्री गहतराजले भने ।

मन्त्रीसहित मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राखेपका निमित्त सदस्यसचिव कुलबहादुर थापासहितको टोलीले विहीबार पोखरास्थित नवौं खेलकुदका लागि पूर्वाधारको स्थलगत निरीक्षण गरेको थियो ।

‘तयारी राम्रो छ । पूर्वाधारको हिसावमा पोखरामा ८० प्रतिशत काम भइसकेको छ । पोखरा रंगशाला परिषरभित्र २४ वटा खेलको प्रतिस्पर्धा हुने रिपोर्ट पाएका छौं । गण्डकीका अन्य जिल्लाहरुमा पनि केहि खेलका प्रतियोगिता हुनेछन्,’ मन्त्रीले भने ।

नवौं खेलकुदका लागि प्रशासनिक, व्यवस्थापकीय र खेलाडी छनोटको महत्वपूर्ण प्रक्रिया भने अहिलेसम्म सुरु भएको छैन । जेठ पहिलो सातादेखि आयोजनाको तयारी भए पनि यी कामहरु अहिले सुरु भइसक्नुपर्ने थियो ।

प्रतियोगिताको व्यवस्थापकीय कामहरुका लागि सार्वजनिक खरिद ऐनअनुसार गर्दा ढिला हुने भएकाले मन्त्रिपरिषदबाट निर्णय गरी सोझै खरीद (फाष्ट ट्र्याक विधि) गर्ने तयारी गरिएको पनि मन्त्री गहतराजले बताए ।

खेलाडी छनोट प्रक्रियाबारे मन्त्री गहतराजले भनेका छन्, ‘देशभरि प्रदेशस्तरमा खेलकुद संरचनाहरु स्थापना भइसकेको हुनाले खेलाडी छनोटका लागि धेरै तयारी र समस्या हुँदैन । प्रदेशस्तरमा खेलाडीहरु तयार छन् । निश्चित समय र वजेट दिएर प्रदेशले नै खेलाडी छनोट गर्ने कार्यविधि बन्नेछ ।’

नवौंपछि राष्ट्रिय टिम छनोट

नवौं राष्ट्रिय खेलकुदको नतिजाका आधारमा आगामी सेप्टेम्बरमा चीनको ह्वाङझोउमा हुने एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने राखेपले जानकारी दिएको छ ।

‘नवौंकै तयारीका लागि पनि खेलाडीहरु प्रशिक्षणमै हुनेछन्,’ राखेपका निमित्त सदस्यसचिव थापाले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय खेलकुदलाई पनि एसियाली खेलकुदकै तयारीका रुपमा निरन्तरता दिएर त्यसपछि विशेष बन्द प्रशिक्षण सुरु गर्नेछौं ।’

राखेपले नै गठन गरेको हाइ पफर्मेस कमिटीले अघिल्लो साता एसियाली खेलकुदमा १४ खेल सहभागी गराउन सुझावसहितको प्रतिवेदन पेश गरेको थियो । राखेपले अर्को साता सम्बन्धित पक्षसँग छलफल गरी सहभागी खेल संख्या निर्धारण गर्ने भएको छ । सन् २०१८ मा इण्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा २७ खेल समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?