+
+

रुस, अमेरिका, बेलायत र चीन : कसले थिच्छ परमाणु हमलाको बटन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १३:१६

२४ फेब्रुअरी २०२२, रुसमा बिहानीको समय । राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको पूर्वी इलाकामा विशेष सैन्य अभियानको घोषणा गरेसँगै पहिलेदेखि नै सीमा क्षेत्रमा तैनाथ रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो ।

क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो भने युक्रेन ४५औं । युक्रेन नेटोको सदस्य नबनोस् र पूर्वका मुलुकहरूमा नेटोका सेना तैनाथ नहुन् भन्ने रुस चाहन्छ । तर नेटोको सदस्य बन्नका लागि युक्रेन उसको साथ सहयोग बढाउन चाहन्छ ।

संयुक्त राष्ट्रसंघ र पश्चिमा मुलुकहरुले कडा शब्दमा रुसी आक्रमणको निन्दा गरेका छन् र रुसमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा गरिएको छ । नेटोले रुसका आसपासमा रहेका आफ्ना सदस्य मुलुकहरुमा सैन्य उपस्थिति बढाएको छ र युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण हक रहेको जनाएको छ ।

त्योसँगै फेब्रुअरी २७ मा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना परमाणु हतियारलाई विशेष सतकर्तामा राख्न आदेश दिए ।
संसारमा परमाणु हतियारको सबैभन्दा ठूलो भण्डार रुससँगै रहेको छ । यस्तोमा रुसको त्यस्तो कदमले एक विश्वव्यापी संकट पैदा हुनसक्दछ । यद्यपि रुस बाहेक अमेरिका, बेलायत, चीनलगायतका देशहरूसँग पनि परमाणु हतियार छन् ।

परमाणु हतियारलाई विध्वंसको हतियार भनिन्छ । यस्तोमा रुसी घोषणाले तनाव बढ्नु स्वभाविक हो ।

तथापि अहम प्रश्न यो छ कि परमाणु हतियारको प्रयोगका विषयमा प्रोटोकल के छ ? आम विनाशकारी यी हतियारको भण्डारको चाबी कोसँग हुन्छ ? रुस, अमेरिका, चीन तथा बेलायतमा परमाणु हतियारको बटन कसले थिच्न सक्दछ ?

अमेरिका : न्युक्लियर फुटबल

ब्रुस ब्ला अमेरिकाकाका मिसाइल प्रक्षेपण अधिकारी थिए । उनको मृत्यु भैसकेको छ । सत्तरीको दशकमा उनले अमेरिकाको खुफिया परमाणु केन्द्रहरुमा काम गरे ।

उनले भनेका थिए- हामीलाई मिनेटम्यान भनिन्थ्यो । किनकी आदेश प्राप्त भएको एक मिनेटभित्रै परमाणु मिसाइल प्रहार गर्न सकिन्थ्यो ।

ब्रुस र उनका सहकर्मीहरूले त्यो कम्प्युटर मनिटरको हरक्षण निगरानी गर्दथे जसमा जुनसुकै बेला पनि मिसाइल प्रक्षेपण गर्ने आदेश आउन सक्दथ्यो । उनका अनुसार अमेरिकामा परमाणु हतियारको प्रयोग गर्ने आदेश दिने अधिकार केवल एकमात्र व्यक्तिमा निहित छ, त्यो हो अमेरिकी राष्ट्रपति ।

त्यसैले अमेरिकी राष्ट्रपतिसँग सदैव केही विशेष मानिसहरू हुन्छन् । उनीहरुसँग एक ब्रिफकेस हुन्छ, जसलाई न्युक्लियर फुटबल भनिन्छ ।

कालो रङको यो छालाको ब्रिफकेस देख्नमा निकै सामान्य हुन्छ । तर यसभित्र विशेष खालको उपकरण राखिएको हुन्छ जसबाट राष्ट्रपतिले आफ्ना वरिष्ठ सल्लाहाकर तथा अन्य अत्यावश्यक व्यक्तिसँग कुनै पनि बेला कुरा गर्न सक्दछन् । उक्त ब्रिफकेसमा कार्टूनको किटाबजस्तै एक पेज पनि हुन्छ जसमा ग्राफिक्सका माध्यमबाट युद्ध योजना, परमाणु मिसाइल तथा त्यसको लक्ष्यको विवरण हुन्छ । साथै परमाणु हतियार आक्रमण हुँदा कतिजना मानिसको मृत्यु हुने अनुमान छ भन्ने कुरा पनि उल्लेख गरिएको हुन्छ । राष्ट्रपतिले यी कुराहरू क्षणभरमै बुझ्नुपर्ने हुन्छ ।

अमेरिकी वैज्ञानिक महासंघको एक रिपोर्ट अनुसार सन् २०२२ को सुरुआतसम्ममा विश्वका ९ वटा देशमा गरी कुल १२ हजार ७ सय परमाणु मिसाइल छन् । त्यसमा सबैभन्दा धेरै रुसँग छन् भने दोस्रोमा अमेरिका छ । अमेरिकासँग पाँच हजारभन्दा धेरै यस्ता परमाणु हतियार छन् । रिपोर्ट अनुसार रुससँग पाँच हजार ९७७, अमेरिकासँग पाँच हजार ४२८, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १६० र इजरायलसँग ९० र उत्तर कोरियासँग २० वटा परमाणु मिसाइल छन् ।

अमेरिकामा परमाणु मिसाइल प्रहार गर्ने प्रक्रियाको सुरुआत पेन्टागनस्थित वार रुमबाट हुन्छ र यसका लागि वार रुमलाई राष्ट्रपतिले आदेश दिनुपर्दछ । तर राष्ट्रपतिको आदेश पनि तब मात्र कार्यान्वयनमा जान्छ जब उनले मिसाइल प्रक्षेपण अफिसरलाई आफ्नो एक विशेष पहिचान बताउँछन् जुन एउटा प्लास्टिक कार्डमा हुन्छ । राष्ट्रपतिले यो कार्ड सधैं आफूसँग राख्दछन् । यो त्यही कार्ड हो जसका कारण अमेरिकी राष्ट्रपतिलाई संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । राष्ट्रपतिबाट मन्जुरी प्राप्त हुनासाथ केही मिनेटभित्रै परमाणु मिसाइल प्रहार गरिन्छ ।

ब्रुस ब्ला भन्छन्- राष्ट्रपतिको आदेश प्राप्त हुनासाथ मिनेटम्यान अर्थात् जमिनमा तैनाथ आणविक मिसाइल प्रहार गर्ने व्यक्ति वा पनडुब्बीमा तैनाथ मिसाइलहरूलाई प्रक्षेपण कोडबाट खोलिन्छ र आक्रमणका लागि तयार राखिन्छ । कुनै पनि बेला आणविक मिसाइल प्रहार गर्नका लागि दुईजना व्यक्तिको आवश्यकता पर्दछ जसले आ आफ्नो कोड बताउँछन् । एक प्रकारले यी दुई मानिसहरु आणविक बम प्रहारका चाबी हुन् ।

उनी भन्छन्- मेरो आफ्नो करिअरमा एकपटक यस्तो घटना भयो कि मलाई लाग्यो परमाणु युद्ध अब हुन लाग्यो । त्यसबेला मेरो उमेर सानो थियो र संसारमा के भैरहेको छ मलाई थाहा थिएन । त्यसबेला हामीलाई परमाणु युद्धका लागि तयार हुनका लागि डेफकोन थ्री अलर्ट प्राप्त भयो ।

ब्रुस र उनका सहकर्मी टिमोथी मिसाइलको लञ्च कोड अर्थात् चाँबी लिएर कुर्सीमा बसे । उनीहरुलाई मिसाइल प्रहारको अन्तिम आदेशको प्रतीक्षा थियो, तर त्यस्तो आदेश कहिल्यै पनि प्राप्त भएन ।

यो सन् १९७३ को घटना हो, जब अरब र इजरायल युद्धको मैदानमा आमनेसामने थिए । खुसीको कुरा त्यसबेला परमाणु हतियारको प्रयोग गर्नुपर्ने अवस्था आएन । त्यसअिघ सन् १९६० को दशकमा क्युबामा मिसाइल संकटका क्रममा अमेरिका र सोभियत संघ परमाणु युद्धको निकै नजिक पुगेका थिए ।

तर के अमेरिकी राष्ट्रपति कुनै खतरा विना वा कसैले उक्साएको भरमा आफ्नो तर्फबाट परमाणु मिसाइल प्रहार गर्ने आदेश दिन सक्दछन् ?

ब्रुस ब्लाका अनुसार यस्तो अवस्थामा ज्वाइन्ट चिफ अफ स्टाफ कमिटीका प्रमुखले राष्ट्रपतिको त्यस्तो लहडपूर्ण आदेश अस्वीकार गर्न सक्दछन्। तर त्यस्तो हुने सम्भावना कम हुन्छ, किनकि राष्ट्रपतिको मातहतमा काम गर्ने सेनालगायतका कर्मचारीलाई राष्ट्रपतिको आदेश मान्नै पर्ने तालिम दिइएको हुन्छ । त्यसैले यदि कुनै राष्ट्रपतिले आफ्नो तर्फबाट परमाणु मिसाइल प्रहार गर्ने आदेश दियो भने त्यसलाई रोक्न मुस्किल हुन्छ ।

रुस : परमाणु ब्रिफकेस

रुसी नागरिक इगोर सजेगेन हतियार विज्ञ हुन् । उनी कुनैबेला रुसी सरकारमा काम गर्दथे । सन् १९९९ मा उनीमाथि लण्डनमा एक कम्पनीलाई सेनासँग सम्बन्धित खुफिया जानकारीहरू दिएको आरोप लाग्यो । उनले आफू निर्दोष रहेको दाबी गरे पनि उनलाई ११ वर्षको जेल सजाय भयो । सन् २०१० मा जेलमुक्त भएसँगै उनी लण्डनमा बस्ने निर्णय गरे । अहिले उनी ब्रिटिन थिंक ट्यांकमा सिनियर फेलो हुन् ।

उनी भन्छन् -अमेरिकामा न्युक्लियर फुटबल जस्तै रुसका राष्ट्रपतिसँग पनि परमाणु हतियारको कोड भएको न्युक्लियर बि्रफकेस हुन्छ । उक्त ब्रिफकेस सदैव राष्ट्रपतिसँगै रहन्छ । आफू सुतेको बेलामा पनि उक्त ब्रिफकेस राष्ट्रपतिको १०/२० मिटर आसपासमै राख्नुपर्दछ । रुसमाथि कुनै आक्रमणको संकट आएको बेला ब्रिफकेसको अलर्ट अलार्म बज्दछ र यसमा रहेको फ्लासलाइट बल्दछ । त्यसपछि राष्ट्रपतिले सिधै ब्रिफकेसको नजिक पुगर प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग सम्पर्क गर्दछन् ।

यस्तै ब्रिफकेस रुसी प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग पनि हुन्छ । तथापि परमाणु आक्रमणको आदेश केवल राष्ट्रपतिले मात्र दिन सक्दछन् । इगोरका अनुसार राष्ट्रपति नै सुप्रिम कमाण्डर हुने भएकाले ब्रिफकेस उनको जिम्मेवारी हुन्छ । आपतकालीन स्थितिमा उनले त्यही ब्रिफकेसको माध्यमबाट सेनाका कमाण्डर तथा प्रधानमन्त्री र रक्षामन्त्रीसँग कुराकानी गर्न सक्दछन्, उनलाई टेलिफोनको आवश्यकता पर्दैन ।

यस्तो अवस्था केवल एकचोटि आयो जब रुसी राष्ट्रपतिले त्यो ब्रिफकेस खोलेर सक्रिय राख्नुपर्‍यो ।

इगोरका अनुसार सन् १९९५ को जनवरी २५ मा त्यो ब्रिफकेसको अलार्म बज्यो । त्यसमा रहेको बत्ती चम्किन थाल्यो । अर्को चेतावनीयुक्त प्रकाश राष्ट्रपतिको डेस्कमा पनि बलेको थियो । त्यसबेला बोरिन यल्तसिन राष्ट्रपति थिए ।

रुसी राडारहरुले सीमाक्षेत्र नजिकै बेरेन्ट सी माथि एक मिसाइल पत्ता लगाए जुन तीव्र गतिमा रुसतर्फ अगाडि बढिरहेको थियो । समय निकै कम थियो । बोरिस यल्तसिनले आफ्नो ब्रिफकेस खोलेर सक्रिय बनाए । उनी प्रधानमन्त्री र रक्षामन्त्रीसँग अब के गर्ने भनेर कुराकानी गरिरहेका थिए । उनीसँग केवल ५ देखि ९ मिनेटसम्मको समय थियो ।

रुसी पनडुब्बीहरुलाई पनि युद्धका लागि तयार रहन आदेश दिइयो ।

तर पछि उक्त चेतावनीयुक्त अलार्म गलत अलार्म रहेको प्रमाणित भयो । वास्तवमा त्यो नर्वेको एक रकेट थियो जसलाई एक वैज्ञानिक मिसनमा छाडिएको थियो । त्यही रकेटलाई रुसतर्फ आइरहेको मिसाइल भन्ठानेर चेतावनीयुक्त अलार्म बजेको रहेछ ।
यदि बोरिस यल्तसिनले त्यसबेला हठात् परमाणु मिसाइल लञ्च गर्ने आदेश दिएका भए विश्वको युद्ध इतिहासमा अरु कैयन् पानाहरु थ्पिने थियो ।

इगोरका अनुसार रुसमा मिसाइल लञ्चको तयारी कति ससक्त छ भन्ने जान्नका लागि प्रायः ड्रिल तथा अभ्यास गरिन्छ । कहिलेकाही मिसाइलको निगरानी गर्नेलाई गलत लञ्च कोड दिएर आक्रमणको तयारी गर्न आदेश दिइन्छ । यस्तो आदेश यसकारण दिइन्छ कि वास्तविक युद्धमा आणविक मिसाइल आक्रमण गर्नका लागि उनीहरू नहिच्किचाउन् । रुसमा पनि अमेरिकामा जस्तै राष्ट्रपतिले चाहेमा परमाणु युद्ध रोक्न कठिन हुन्छ ।

बेलायत : लास्ट रिजोर्ट लेटर

द साइलेन्ट डीप नामक पुस्तकका लेखक समेत रहेका प्राध्यापक पिटर हेनेसीका अनुसार बेलायती सेनासँग ट्राइडेन्ट परमाणु मिसाइलयुक्त चारवटा अत्याधुनिक पनडुब्बी छन् । त्यसमध्ये एउटा एटलान्टिक महासागरको उत्तरी भागमा सधै तैनाथ रहन्छ । एउटा सानो आदेश प्राप्त हुनासाथ यसले परमाणु आक्रमण गर्न सक्दछ ।

उनी भन्छन्- उत्तरी आन्ध्र महासागरको गहिराइमा सदैव कुनै न कुनै पनडुब्बी रहेकै हुन्छन् तर ती पनडुब्बीकेा बारेमा कसैलाई थाहा हुँदैन। कसैले त्यसबारेमा पत्ता लगान पनि सक्दैन।

बेलायतमा परमाणु मिसाइल प्रहार गर्ने आदेश केवल प्रधानमन्त्रीले मात्र दिन सक्दछन् । उनको आदेशमा रोयल नेभीले पनडुब्बीबाट परमाणु हमला गर्न सक्दछ ।

त्यसका लागि बेलायती प्रधानमन्त्रीले नौसेनाका दुईजना अधिकारीलाई मिसाइल प्रहारको आफ्नो एक विशेष कोड बताँछन् । ती दुई अधिकारीसँग पनि विशेष कोड हुन्छन् । उनीहरूले पनि आ आफ्नो कोड बताँछन् । कोड बताउने यो प्रक्रिया लण्डन बाहिर एक बंकरमा पूरा गरिन्छ । त्यहीँबाट महासागरमा तैनाथ पनडुब्बीलाई परमाणु मिसाइल प्रहार गर्ने आदेश दिइन्छ ।

चीन : गहिरो सुरुङ

बेइजिङस्थित कार्नेगी चिन्हुआ सेन्टर फर ग्लोबल पोलिसीका फेलो टोंग जाओका अनुसार इतिहासमा धेरैपटक यस्ता क्षणहरू  आए जब विश्व परमाणु युद्धको निकै नजिक आयो र पूरै मानव जातिमाथि खतरा मडारिन थाल्यो ।

चीन पनि विश्वका आणविक हतियार सम्पन्न मुलुकमध्ये एक हो । तर चीनको नीतिचाहिँ पहिले आणविक हमला नगर्ने भन्ने छ ।
टोंगा जाओका अनुसार यसका पछाडिको एउटा प्रमुख कारणचाहिँ चीनसँग आफूमाथि हुने सम्भावित परमाणु हमलाका बारेमा पहिले नै थाहा पाउने प्राविधिक क्षमता कम छ।

उनी भन्छन्- चीनले पर्खिनेछ र पहिले पुष्टि गर्नेछ कि के वास्तवमै परमाणु हमला भको हो । पुष्टि भपछि उसले यथार्थ अवस्थाको बारेमा जानकारी लिन्छ र आक्रमण कस्तो खालको हो र कति क्षति भयो भन्ने जान्ने प्रयास गर्दछ । त्यसपछि मात्र उसले जवाफी कारबाहीको विकल्प के हुनसक्छ भन्ने बारेमा निर्णय गर्दछ ।

तर कुनै आक्रमणमा चीनका सबै ठूला नेता तथा सैन्य कमाण्डरको मृत्यु हुनुका साथै चीनको परमाणु मिसाइलसमेत ध्वस्त भए भने चीनसँग के विकल्प होला ?

टोंगका अनुसार आक्रमणबाट आफ्ना नेता तथा परमाणु मिसाइललाई नष्ट हुनबाट बचानका लागि चीनले पहिलेदेखि नै निकै तयारी गरिरहेको छ । चीनले यसका लागि गहिरो सुरुङको सञ्जाल बनाको छ । कतिपय सुरुङहरू त पहाडी इलाकामा जमिनमुनि सयौं मिटरसम्मको गहिराइमा बनेका छन्।

जमिनमा जब युद्धको धुवाँ उठिरहेको हुन्छ तब जमिनमुनिको गहिरो सुरुङहरूमा रहेका नेताहरूले महत्वपूर्ण निर्णय लिनेछन् । तथापि चीनमा परमाणु हमलाको अन्तिम फैसला कसको हातमा हुन्छ त ?

टोंगका अनुसार यो सबै गोप्य रहेको छ । तर चीनमा सेनाले के गर्ने भन्ने कुराको निर्णय त्यहाँको कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गर्दछ । अन्तिम फैसलाचाहिं स्थायी समितिको हुन्छ वा राष्ट्रपतिको त्योचाहिं गोप्य नै छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?