+
+

पढाउने भन्दा पढ्ने पेशा हो शिक्षक

केही थाहा नहुनेले गर्ने भनेकै ‘हो मा हो’ रहेछ । केही थाहा हुनेले गर्ने हो- प्रश्न । गर्ने हो- विद्रोह । यसबाट सुरु हुन्छ, परिवर्तनको नयाँ अध्याय ।

आदर्शविक्रम सिंह आदर्शविक्रम सिंह
२०७८ चैत २ गते ९:५२

अनुभवमा नआएका कुरा लेख्नु, भन्नु, बोल्नु यो मूर्खतापूर्ण अभ्यास हो । तर, पनि छटपटीले कहाँ चुप लागेर बस्न दिन्छ र ? शिक्षाका विभिन्न परिभाषा मैले विद्यालयमा विद्यार्थी भएर अध्ययन गरेको आधारमा बनाएँ, लेखें । त्यसरी परिभाषित गरिदिंदा शिक्षाको एकपक्षीय धारणा मात्र तयार भयो ।

यसरी शिक्षालाई परिभाषित गर्दा भ्रामक ज्ञान, सूचना वा विचार जे पनि भन्नुस्, जाने सम्भावना बढ्यो । मैले यसरी सोच्न भ्याएपछि अध्यापन गराउने विचार गरें । जसले शिक्षक र विद्यार्थी दुवै कोणबाट मलाई सोच्न, जान्न र बुझ्न मद्दत गथ्र्याे, गर्‍यो । मैले पढाउन सुरु गरें ।

मन परेको कार्य गर्न पाउँदा आउने आनन्द कति विछट्टै हुन्छ । कक्षा कोठामा मेरो प्रवेश भयो । सरले तिमीहरूको नयाँ टिचर भनेर परिचय गराउनुभयो । मेरो परिचय यो बाहेक अरू केही थिएन । पढाउन जो गएको थिएँ ।

सबैले ‘गुड मर्निङ सर’ भने । अहा ! कस्तो राम्रो सुनिएको । ठूलो स्वरमा सम्मानका साथ धेरै जनाले ‘गुड मर्निङ’ भन्दाको अनुभूति । कसरी व्यक्त गरौं ? पहिलो दिन परिचय नगरेर कसरी अगाडि बढ्नु, एकएक गरे परिचयको क्रमलाई अगाडि बढाएँ । परिचयको क्रम सकियो । अब सुरु हुन्छ, क्लास ।

मान्छे एउटा उमेरसम्म केटाकेटी नै हुन्छ । खासै केही कुराको त्यति साह्रो प्रभाव पर्दैन । यदि प्रभाव पर्‍यो भने यो उमेरमा जति दोस्रो कुनै उमेरमा पनि पर्दैन । एकदमै संवेदनशील उमेर हो, जन्मेदेखि २० वर्षसम्मको उमेर । दश कक्षासम्मका विद्यार्थीको उमेर कति नै हुन्छ र ? न त उनीहरूसँग अनुभव हुन्छ, न त कुनै विषयको राम्ररी जानकारी । उनीहरूलाई जे भने पनि भयो । ‘हो सर, हो मिस’ भनिहाल्छन् । केही थाहा हुँदैन । केही थाहा नहुनेले गर्ने भनेकै ‘हो मा हो’ रहेछ । केही थाहा हुनेले गर्ने हो- प्रश्न । गर्ने हो- विद्रोह । यसबाट सुरु हुन्छ, परिवर्तनको नयाँ अध्याय ।

टिनएजमा रहेका किशोर-किशोरीले कि त उत्सुकतावश प्रश्न गर्न सक्छन् । उनीहरूको उमेरले केही कुरा सिकाउनु भन्दा अगाडि उनीहरू केही सिक्न चाहन्छन् भने त्यो माध्यम भनेकै प्रश्न सोध्नु हो । अझ धेरैभन्दा धेरै प्रश्न सोध्नु । यसले उमेरले सिकाउनु भन्दा अगाडि नै धेरै कुराहरू सिकाउँछ । प्रश्न सोधेर जुनसुकै उमेर समूहका व्यक्तिले जे पनि सिक्न सक्छन् । मेरो के मान्यता छ भने जुन दिन प्रश्न मर्छ, उक्त दिनबाट सिकाइको गला रेटिन्छ । तसर्थ, मानव जीवनका हरेक उत्तर सही प्रश्नका उपज नै हुन् ।

कक्षा कोठामा प्रवेश गरेर परिचय खण्ड सिध्याएको केही मिनेटमा मैले दार्शनिक कुरा गर्न सुरु गरें, ‘मान्छेको जीवन यत्तिकै जनावरले जसरी जिउनको लागि मात्र उपलब्ध होइन । एकदिन जनावरको पनि मृत्यु हुन्छ र मान्छेको पनि । तर, यहीं जन्म र मृत्युको बीचमा मान्छे मात्र यस्तो प्राणाी हो, जसले चाहृयो भने कुनै चामत्कारिक कार्य आउने पुस्ताको लागि गरेर जानसक्छ ।’

जति दार्शनिक कुरा गरे पनि सबै मान्छे हुन् । मान्छेको दिमाग र पैसाको सम्बन्ध धेरै निकटको हुन्छ । पैसा खाने चिज पनि होइन । यसले अनिवार्य आवश्यकता परिपूर्ति गर्ने हो । यदि शिक्षकको सेवा, सुविधालाई बढाउने हो भने कुनै व्यक्तिको लक्ष्य भविष्यमा गएर इन्जिनियर, डाक्टर जस्तै शिक्षक बन्ने पनि हुनेछ

मैले यति भनेर नसक्दै विद्यार्थीले जोडजोडसँग ताली बजाए । आत्मसम्मानको, प्रसिद्धिको, पैसाको भोक कसलाई हुँदैन । यदि कसैलाई छैन भने एकदम कम मान्छे होलान् । मैले आफूलाई सम्हालें । अब कसरी पढाउन मन लाग्थेन र ? उनीहरूको मन जितिसकेको थिएँ ।

फेरि थप्दै अरू आदर्श र दर्शनका कुराहरू गरेर पहिलो दिनका सबै कक्षा सकें । चार बजेपछि कोठामा र्फकेर आज कस्तो रहृयो दिन भनेर आफैंलाई प्रश्न गरें । उत्तर पाएँ- ‘अमेजिङ’ । फेरि सोधें पहिलो दिनमै यस्तो कसरी सम्भव भयो ? हृदयले उत्तर दियो- अध्ययन, अध्ययन, अध्ययन ।

तेरो अध्ययन कहाँ काम लाग्छ भनेर सोध्नेहरूलाई यहाँ काम लाग्यो भन्न मन थियो । कसलाई भन्नु, भनिनँ । मैले यति कुरा त थाहा पाएँ । सबैभन्दा पढ्ने पेशा कुनै हो भने त्यो शिक्षकको पेशा हो । शिक्षकको पेशा धेरै पढाउने, घोकाउने होइन रहेछ । शिक्षकको पेशा भनेको त धेरै आफूल्ो पढ्ने, कम पढाउने र सिर्जनशील तरिकाबाट बुझाउने पेशा रहेछ ।

मैले कोर्सबुक भन्दा बाहिरको संसार देखाउने भरसक प्रयास गरें । पढाएँ पनि तर कम पढाएँ र सँगै भनें, ‘तिमीलाई यो पुस्तक पढाउनको लागि म होइन, कुनै पनि शिक्षक आवश्यकता नपरोस् भनेर यो अभ्यास गरिरहेको छु । शिक्षामा नयाँ प्रयोग गरिरहेको छु ।’

टिनएजका किशोर-किशोरीको उत्सुकता साँच्चिकै हेर्नलायक हुन्छ । उनीहरू मेरा कुरा ध्यान दिएर सुन्न्ा थाले । म हरेक दिन उनीहरूलाई केही नयाँ सिकाउनुपर्छ भनेर नयाँ नयाँ कुराहरू खोजेर पढाउँदै गर्दा बीचमा भन्थें । केही दिन पछि विद्यार्थी आफैं सोध्न थाले- ‘सर आज नयाँ के छ ?’

उनीहरूको साथीहरूझैं घुलमिल भएँ । केही समस्या हुने बित्तिकै उनीहरू मसँग आएर सेयर गर्थे । मेरो बुद्धिमत्ताले भेट्याएसम्म म भन्थें । जानेको सिकाउँथें । अन्य सर आउनुभयो भने ‘सर हामी नास्ता खान जान्छौं । कक्षा कोठामा जान्छौं’ भनेर केही न केही बहाना बनाएर उम्कन्थे । कारण ‘सर रिसाउनुहुन्छ’ भन्थे । मैले आफैं पनि सोचें, ‘यस्तो कुन सर छ, जो रिसाउँदैन ।’

दुई हप्ता नबित्दै छोडिदिन्छु जस्तो महसुस भयो । दिनभरि उभिएर पढाउनुपर्ने । एकपटक पनि राम्ररी फुर्सद नहुने । बोलिरहनुपर्ने, बुझाइरहनुपर्ने । मलाई वर्षौंदेखि अध्यापन गर्दै आउनुभएको मेरो बाबाको याद आउँथ्यो । कसरी सक्नुभयो भनेर ? सोधिनँ । घरमा भनिनँ । उत्तर फेरि आफैंलाई दिन्थें । सायद वषर्ाैं अध्यापन गराएर बानी परिसक्नुभयो होला ।

चार महिना लगातार पढाएपछि मेरो बानी बस्यो । अब साथीहरूसँग भेट भएको समयमा अलि बढी बोल्नुपर्ने, केही न केही मुद्दा उठाएर आवाज निस्किरहन थाल्यो । बानी हो, अब यसलाई राम्रो भन्ने कि नराम्रो ? छोड्दिनुस्, यसलाई बानी मात्र भनौं । हुन त मेरो स्वभाव कम बोल्ने भने छैन । छँदैछैन । पढाउन सुरु गरेपछि भने अलि बढी नै भएको हो ।

पढेका, पढाएका कुराहरू निस्कन थाले । जे भित्र छ, त्यही बाहिर आउने त हो नि ! रोक्छु भन्छु, निस्किहाल्ने । फेरि अध्ययन गर्ने मान्छेहरू केही नयाँ कुरा पढे या थाहा पाए भने दोस्रो मान्छेलाई भन्न, सुनाउन एकदमै उत्साहित हुन्छन् । कोही अध्ययनशील हुन्छन् । उनीहरू भित्र ज्ञान, सूचना हुन्छ । तर, सही वाक्कलाको अभावमा स्वयम् व्यक्तिमै मात्र सीमित रहन्छ । पढाउँदा पढाउँदै भलै बढी बोल्न सिकियो ।

सँगसँगै मैले मेरो स्पिकिङमा सुधार हुँदै गएको पाएँ । यसको मतलब पढाउनेहरूसँग राम्रो बोल्ने कला हुन्छ । तर, पढाउनेहरू सबै शिक्षक नहुन सक्छन् । मैले पढाउन छोडें ।

शिक्षकको सम्बन्धमा तलब चाहिं कम भएकै हो । र, पनि कुनै शिक्षकले भ्रष्टाचार गर्‍यो भनेर मैले अहिलेसम्म सुनेको छैन । शिक्षकलाई अझै प्रोत्साहन गर्ने हो । सिकाइलाई अझै प्रभावकारी बनाउने हो भने शिक्षकका सेवा र सुविधामा राज्यले वा निजी संस्थाहरूले कुनै कन्जुस्याईं गर्नुहुँदैन ।

जति दार्शनिक कुरा गरे पनि सबै मान्छे हुन् । मान्छेको दिमाग र पैसाको सम्बन्ध धेरै निकटको हुन्छ । पैसा खाने चिज पनि होइन । यसले अनिवार्य आवश्यकता परिपूर्ति गर्ने हो । यदि शिक्षकको सेवा, सुविधालाई बढाउने हो भने कुनै व्यक्तिको लक्ष्य भविष्यमा गएर इन्जिनियर, डाक्टर जस्तै शिक्षक बन्ने पनि हुनेछ ।

शिक्षकको सम्बन्धमा मनमा लागेका कुरा

१. तपाईं जुनसुकै विषय पढाउनुस् तर, विद्यार्थीको रोल मोडल बन्नुस् ।

२. हरेक वर्ष सयौं विद्यार्थी पास भएर स्कुल छोडेर जान्छन् । र, उनीहरू नै भोलिको देशको भविष्य हुन् भन्ने कुरा नबिर्सनुस् ।

३. तपाईंले दिएको सानो गलत वा सही ज्ञान, सूचनाले उनीहरूको जीवनमा ठूलो सकारात्मक/नकारात्मक असर पार्दछ । त्यही भएर बोल्दा शिष्ट भाषाको प्रयोग गरेर बोल्नुस् ।

४. जीवन कक्षा कोठाको उचाइ भन्दा कैयौं गुणा बढी उचाइसम्म फैलिएको छ । त्यसैले त्यो उचाइलाई चुम्नको लागि यो तयारी हो भन्नुस् ।

५. बढीभन्दा बढी घुम्ने सल्लाह दिनुस् । किताबी दुनियाँमा घुमेर मूर्ख नबन्न अनुरोध गर्नुस् ।

विद्यार्थीको सम्बन्धमा मनमा लागेका कुरा

१. विद्यालयको किताब सबैथोक होइन भन्ने कुरालाई स्वीकार्नुस् । हामी समाजमा बस्छौं । भोलि समाजले तोकेको मापदण्ड पूरा नगरे कुनै अवसरबाट वञ्चित नहुनको लागि आज पढिरहेको छु भन्ने थाहा पाउनुस् ।

२. शिक्षकसँग प्रश्न गर्न कहिल्यै नहिच्किचाउनुस् । आज शिक्षकसँग प्रश्न नसोधे भोलि मैले त्यतिबेला प्रश्न सोध्नुपर्ने थियो भनेर जिन्दगीसँग गुनासो रहनेछ ।

३. कहिल्यै कुनै पनि विद्यार्थी साथीसँग आफूलाई तुलना नगर्नुस् । तपाईं जन्मेर यो पृथ्वीमा आइसक्नुभयो । जेमा उत्कृष्ट बन्न सक्छु ज्ास्त्ाो लाग्छ त्यसमा आफ्नो शतप्रतिशत ध्यान दिएर कार्य गर्नुस् ।

४. कक्षा कोठामा फेल हुनेहरू जिन्दगीमा उत्कृष्ट र कक्षा कोठामा उत्कृष्ट हुनेहरू जिन्दगीमा फेल पनि हुन सक्छन् । त्यसैले कक्षाकोठा वा सर्टिफिकेटले तपाईंको जिन्दगीलाई मापन गर्दैन भन्ने कुरामा विश्वस्त हुनुस् ।

५. जिन्दगी कस्तो बनाउने सिर्फ आफ्नो हातमा हुन्छ । कहिल्यै कसैलाई दोषारोपण नगरी आफ्नै पाखुरा, बुद्धि, विवेकमा भर परेर अगाडि बढ्नुस् । कहिल्यै नभुल्नुस्, अभ्यास र साधनाको माध्यमबाट जिन्दगीलाई जुनै आकार पनि दिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?