+
+

कुन जीवन बीमा कम्पनीले कति बढाउनुपर्छ चुक्ता पूँजी ?

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत ११ गते १०:३६

१० चैत, काठमाडौं । बीमा समितिले बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिको नयाँ निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नुपर्नेछ ।

अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई वलियो बनाउनका लागि पुँजी वृद्धिको निर्णय गरिएको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलकाअनुसार बीमा समितिले चुक्ता पूँजी वृद्धिको कार्ययोजना पेश गर्न समितले तत्कालै निर्देशन दिनेछ । निर्देशन दिएको मितिले ३० दिनभित्र बीमा कम्पनीहरुले पूँजी वृद्धिको कार्ययोजना पेश गर्नुपर्नेछ । पूँजी वृद्धिका लागि समितिले एक वर्षको समय कम्पनीहरुलाई दिनेछ ।

पूँजी वृद्धिका लागि मर्जरलाई प्राथमिकतामा राख्न समितिले भनेको छ । अहिले अहिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले भने पूँजी बढाउनु पर्दैन । नेपाल लाइफ इन्स्यारेन्सको गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा नै ७ अर्ब १९ करोड ९९ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजी पुगिसकेको छ ।

सञ्चालनमा रहेका अन्य जीवन बीमा कम्पनीहरुले भने पूँजी बढाउनुको विकल्प छैन । महालक्ष्मी लाइफ इन्स्योन्स लगायत केही कम्पनीहरुले भने सर्वसाधारणका लागि साधारण सेयर समेत जारी गरेका छैनन् । संस्थापकहरुको १ अर्ब ४० करोड रुपैयाँमात्रै पुँजी रहेको यी कम्पनीहरुले अब आईपीओसमेत दोब्बर भन्दा धेरै बढाएर जारी गर्नुपर्नेछ ।

उता निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी पनि बढाएर २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । अधिकांश कम्पनीहरुको चुक्ता पुँजी दोब्बर भन्दा धेरै बढाउनु पर्नेछ । निर्जीवन बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बीमा समितिको निर्णय स्वागत योग्य भएको बताए । कसरी हुन्छ यसको कार्यान्वयनमा आफूहरु जाने उनको भनाइ छ ।

‘बीमा समितिको निर्णय औपचारिक रुपमा जानकारी नपाए पनि सञ्चारमाध्यमबाट पाएँ, यो सकारात्मक निर्णय हो,’ अनलाइनखबरसँग पाण्डेले भने, ‘हामी तोकिएको पूँजी पुर्‍याउछौं, तनाब लिनु पर्ने कुरा छैन ।’

अर्थशास्त्री डा. रमेशकुमार भण्डारी भने बीमा समितिको निर्णय सही भए पनि समय अनुपयुक्त भएको बताउँछन् । कोरोना महामारीका कारण अवस्था अझै सहज भइनसकेकाले गलत समयमा निर्णय आएको उनले बताए । उनले भने, ‘देश आर्थिक संकटतर्फ गइरेहेको र तरलताको अभाव भएको अवस्थामा बीमा कम्पनीहरुको पूँजी वृद्धिको निर्णय गर्ने समय अनुपयुक्त हो ।’

हेर्नुस् कुन कम्पनीको पूँजी कति छ ?

सि.नं. जीवन बीमा कम्पनीको नाम चुक्ता पुँजी (रु लाखमा) थप्नुपर्ने पुँजी (रु लाखमा)
नेपाल लाइफ ७१९९९९.७१ पर्याप्त
नेशनल लाइफ ३३९०८.८९ १६०९१.११
एलआईसी नेपाल लाइफ २२११० २७८९०
एशियन लाइफ २०१०७.६१ २९८९२.३९
सूर्या लाइफ लाइफ २०१०७.६१ २९८९२.३९
गुराँस लाइफ २०३३१.२९ २९६६८.७१
प्राइम लाइफ २४१७०.५७ २५८२९.४३
आइएमई लाइफ १४००० ३६०००
युनियन लाइफ २१५०० २८५००
१० सन नेपाल लाइफ १४००० ३६०००
११ न्योति लाइफ २२००० २८०००
१२ रिलायवल लाइफ १४००० ३६०००
१३ रिलायन्स लाइफ २१००० २९०००
१४ सिटिजन लाइफ १७५०० ३२५००
१५ सानिमा लाइफ १४००० ३६०००
१६ प्रभु लाइफ २०००० ३००००
१७ महालक्ष्मी लाइफ १४००० ३६०००
१८ राष्ट्रिय बीमा संस्थान १८१०ं२० ४८१८९.८
१९ मेट लाइफ

(गत असार मसान्तसम्मको तथ्यांकमा आधारित)

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?