+
+

फेरि स्थगित भयो शाखा अधिकृतको परीक्षा, अब चुनावपछि हुनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते २०:२१

१३ चैत, काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । यो परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘धेरै उम्मेदवारहरु भएकाले र दिपायलदेखि जुम्लासम्म पनि परीक्षा हुने भएकाले परीक्षा व्यवस्थापन गर्नै नसक्ने अवस्था आयो ।’

शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो । त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो ।

पूर्वनिर्धारित तालिका अनुसार भएको भए यो परीक्षा माघ महिनामै सकिन्थ्यो । परीक्षाको टुंगो नहुँदा करिब १५ हजार परीक्षार्थीहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यकाभित्र मात्रै १० हजार १५० परीक्षार्थीहरु छन् ।

यही बीचमा फेरि थारु कल्‍याणकारिणी सभाका महामन्त्री  प्रेमीलाल चौधरी र अधिवक्ता श्रवण कुमार चौधरीले थारु आरक्षणबिना विज्ञापन प्रकाशित गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट हेर्न नभ्याउनेमा परेपछि फैसला हुन सकेन । यो मुद्दामा अब कहिले सुनुवाइ हुन्छ भन्ने एकीन छैन ।

अर्को हप्ता सर्वोच्चले परीक्षा लिने बाटो खोलिदिए पनि परीक्षा व्यवस्थापन गर्न नसकिने लोक सेवा आयोगले जनाएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अनलाइनखबरसँग भने, ‘शाखा अधिकृतको यो परीक्षामा धेरै परीक्षार्थीहरु छन् । परीक्षा लिन जनशक्ति पनि धेरै परिचालन गर्नुपर्छ, तयारी त्यसै अनुसारको गर्नुपर्ने भएकाले थोरै समयमा परीक्षा लिन सकिंदैन ।’

अब परीक्षा कहिले हुन्छ ?

लोक सेवा आयोगको पूर्वनिर्धारित तालिका अनुसार भएको भए यो परीक्षा माघ महिनामै सकिन्थ्यो । तर विभिन्न कारणले परीक्षा स्थगित हुँदै आएको छ । परीक्षाको टुंगो नहुँदा करिब १५ हजार परीक्षार्थीहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यकाभित्र मात्रै १० हजार १५० परीक्षार्थीहरु छन् ।

स्थानीय तहको चुनाव नजिकिइसकेकाले सम्भवत यो परीक्षा चुनाव पछि हुन सक्ने आयोगका अधिकारीहरु बताउँछन् । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । चैत सकिएलगत्तै चुनावको चहल पहल बढ्छ र निर्वाचन आचारसंहिता पनि लाग्छ । चुनावमा कर्मचारीहरु पनि खटिनु पर्ने र परीक्षा केन्द्रहरु मतदान केन्द्रको रुपमा परिणत हुने हुँदा चुनावले शाखा अधिकृतको परीक्षा प्रभावित हुन सक्ने आयोगका एक सदस्यले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आयोगले कर्मचारी भर्ना गर्न अनुमति पाइहाले पनि १०/१५ दिनको म्याद दिएर अर्को परीक्षा मिति तोक्नुपर्छ । यी सबै अवस्था हेर्दा अब शाखा अधिकृतको परीक्षा चुनावभन्दा पछि जान सक्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?