+
+
ब्लग :

विकासको कुरुप मोडेल : अग्ला डाँडामाथिको कंक्रिट भ्यूटावर

भ्यूटावर बन्नै हुँदैन भन्ने पनि होइन, बन्नुपर्छ । त्यो भूगोल, त्यहाँको बस्ती, पर्यटकीय सम्भावना, लगानी र त्यसले दिने प्रतिफल, त्यहाँको ऐतिहासिक पक्ष र व्यावसायिकता लगायत सामाजिक, भौगोलिक पक्षहरूको गहन अध्ययन हुनु जरूरी छ ।

राजु पौडेल राजु पौडेल
२०७८ चैत १६ गते १२:४१
रुपन्देही र रोल्पामा बनाइएका भ्यूटावर

प्रकृतिले दिएका हरिया अग्ला डाँडामा सिमेन्ट र कंक्रिटको सहायताले थप केही मिटर प्लस गरेर हामी कस्तो विकासको मोडेल दिन खोजिरहेका छौं ? आज आम जनचासोको विषय बनिरहेको छ, यो सवाल । स्कुले विद्यार्थीदेखि प्रौढ श्रमिकसम्म, केही टाठाबाठा हौं भन्नेदेखि सर्वसाधारणसम्मले यस विषयमा आफ्नो मत प्रकट गरिरहेका छन् ।

हो, यतिबेला सामाजिक सञ्जाल तातेको छ । यी र यस्तै विषयका आक्रोशले छताछुल्ल भएको छ । अधिकांश मानिस सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया जनाइरहेका छन् । भ्यूटावरका तस्वीरहरूप्रति व्यक्त गरेका रोष देख्दा लाग्छ, मानिसहरू आफ्नो नेतृत्वको अक्षमता, अदूरदर्शिताप्रति रुष्ट छन् र विकासको यो भद्दा मोडेलप्रति वितृष्णा ओकलिरहेका छन् ।

पछिल्लो समय नेकपा माओवादीको उद्गमस्थल भनेर चिनिने रोल्पामा ठडिएको भ्यूटावरको विधिवत् उद्घाटनपछि तमाम भ्यूटावरप्रतिका सामूहिक असन्तुष्टि छताछुल्ल भएका हुन् । सरकारी कोषबाट झण्डै ६ करोड लगानी गरिएको यो टावर फागुन १४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन गरिएपछि देशभरका भ्यूटावरहरूका विषयमा थप चर्चा–परिचर्चा चुलिन पुगेको हो ।

हुन त रोल्पामा मात्र टावर ठडिएका पनि हैनन् । प्रचण्डले मात्र टावर उद्घाटन गर्दै हिंडेका पनि होइनन् । फागुन १५ गते मात्र एमाले अध्यक्ष केपी ओलीले तिलोत्तमा–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा ११ तले बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

पछिल्लो समय ७७ जिल्ला र प्रायः सबै पालिकामै यो संस्कार हावी भएको देख्न र महसुस गर्न सकिन्छ । सुरुका दिनमा सबैको प्रिय यो ‘टावर विकास’ पछिल्ला दिनमा सोचनीय विषय बन्ने गरेको छ ।

विकासको यो मोडेल पूर्वदेखि पश्चिमसम्म, ठूला दलदेखि साना दलसम्म ७७ जिल्लामै व्याप्त छ । तर कुन भूगोलमा भ्यूटावर बनाइयो ? कतिसम्म उद्देश्य नजिक रहन सकियो ? कतिसम्म प्रतिफलमुखी बनियो ? अर्थात् जनताका तमाम समस्या समाधानको प्राथमिकीकरणमा कति चुकियो ? यो महत्वपूर्ण र प्रधान विषय हो ।

‘भ्यूटावर’ आफैंमा गलत पक्कै होइन । तर यो शब्दप्रति नै वितृष्णा जगाउने गरी किन काम भइरहेको छ मुलुकमा ? यो सोचनीय विषय पक्कै बनेको छ ।

देश भोकले आक्रान्त छ, शोकले भयग्रस्त छ । आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको तथ्यसँग सबै सहमत छौं । आर्थिक तरलताको खाडल गहिरिंदै र फराकिलो हुँदै गइरहेका समाचार शीर्षकहरू पढिरहेका छौं । यो बीचमा हाम्रा आवश्यकताका हिसाबले हामी टावर केन्द्रित नहुनुपर्ने हो कि भन्ने जनभावना मुखरित भएको सहजै आकलन गर्न सकिन्छ ।

जनताका दैनिक समस्या ज्यूँकात्यूँ थाती राखेर दीर्घकालीन सोच विना गरिएका विकासे कामले तत्काल त जुँगाको लडाईं जितिएको महसुस हुन सक्ला तर अन्ततः त्यो भूगोलले हार्नेछ, देशले हार्नेछ । पछिल्लो समय सामाजिक संजालमा व्यक्त धारणालाई विश्लेषण गर्ने हो भने पानीको अभाव खेपिरहेका, स्वास्थ्यको समस्या झेलिरहेका र खुला आकाशमुनि रात काटिरहेकाहरूलाई यी डाँडामा उभिएका कंक्रिट टावरहरूले गिज्याइरहेका छन् ।

तपाईं हामीले महसुस गर्ने गरेको यो तथ्य, यो सत्य मुलुकमा क्रियाशील प्रायः सबै दल र तिनका नेताहरूले कहिले महसुस गर्ने ? किन रकम विनियोजन गर्ने हातहरूको पहिलो प्राथमिकतामा विना अर्थका भ्यू टावर परे ? यो छुट्टै विश्लेषणको पाटो बन्ला । तर विकासका नाममा अर्थहीन ठाउँहरूमा राज्यको ठूलो धनराशि खर्च गर्ने विषयमा भने सबै सचेत हुनैपर्छ, सबैले सजग गराउनैपर्छ ।

हामीले परिवर्तनका लागि थुप्रै हण्डर खायौं, दुःख भोग्यौं । नेताका सपनाहरूप्रति लालायित भयौं । पूर्वदेखि पश्चिमसम्म, सानादेखि ठूला नेतासम्मले भ्यूटावरका सपना बाँडेकै हुन् । हामी त्यसकाप्रति मक्ख परेकै हो । हामीले पनि घर अगाडि भ्यू टावरको सपना देखेकै हो । तर हाम्रा विगतका बुझाइ अपरिपक्व भए, अब परिपक्व बनाउन सक्नुपर्छ । कमी–कमजोरी भए सच्याएर अघि बढ्न ढिला गर्नुहुँदैन । अग्ला डाँडामा भ्यू टावर बनाउने विकासको यो मोडेल हाम्रा लागि सान्दर्भिक हुन सक्दैन ।

‘भ्यूटावर’ आफैंमा गलत पक्कै होइन । तर यो शब्दप्रति नै वितृष्णा जगाउने गरी किन काम भइरहेको छ मुलुकमा ? यो सोचनीय विषय पक्कै बनेको छ । कम्तीमा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वा अन्य थुप्रै समान उद्देश्य परिपूर्ति हुने हेतुले समथर भू–बनोट भएको घना बस्तीमा यो आवश्यक पक्कै हुन सक्छ । मानिसहरूको अटेसमटेसबाट एकैछिन भए पनि मानिस खुला आकाश हेर्न पक्कै लालायित हुने गर्दछ । यो तथ्यलाई कसैले नकार्न मिल्दैन । काठमाडौंकै माझमुटुमा निर्माण भएको धरहरा एउटा भ्यूटावर पनि हो । त्यो निर्माण कसरी गलत भन्न सकिन्छ र ? त्यहाँ ऐतिहासिकता छ, आफ्नै मौलिकता छ ।

राजु पौडेल

काठमाडौंजस्तो घना बस्ती भएको समथर भूगोलमा पर्यटकहरू केही अग्लो ठाउँमा बसेर सर्वत्र नियाल्न सक्ने गरी निर्माण गरिएको छ । यसको ऐतिहासिकता, सान्दर्भिकता र बहुउपयोगिताका हिसाबले यो अत्यन्त महत्वपूर्ण र अर्थपूर्ण मानिन्छ ।

काठमाडौं जस्तै घना बस्ती भएको, समथर एरियामा पर्यटक लक्षित गरेर निर्माण गरिने यस्ता टावरमा सायद जनताको छेडखानी पक्कै हुने थिएन होला । यी र यस्तै प्रकृतिका भ्यूटावरहरू निर्माण भएको भए जनताको टावरप्रतिको रोष यति विघ्न आक्रामक पक्कै हुने थिएन होला । र कुन ठाउँमा अर्थात् कुन भूगोलमा टावर जरूरी छ ? कुन भूगोलमा कस्ता प्रकृतिका टावर निर्माण गर्ने ? अहिलेको पहिलो आवश्यकता टावर हो कि अन्य विकास ? यी यावत् विषयमा जनप्रतिनिधि र बजेट कार्यान्वयन गर्ने निकायले ध्यान दिन नसक्दा गलत ठाउँमा कंक्रिटका टावरहरू निर्माण भइरहेका छन् । जसका कारण सरकारको ठूलो धनराशि अनुत्पादक क्षेत्रमा फस्न पुगेको छ ।

नेपाल जस्तो पहाडै–पहाडले भरिएको मुलुक आफैंमा एउटा भ्यू टावर हो । त्यसैमाथि अग्लो डाँडामा लगेर पुनः कंक्रिटको थुप्रो उठाउनु कस्तो विकासको मोडेल हो ? हजारौं मिटर अग्लो टाकुरोमा थप १०/२० मिटर कंक्रिट थुपारेर हामीले कस्तो विकासको मोडेल दिन खोजेका हौं ? अर्थात् औषधि नपाएर छट्पटाइरहेको मुलुकमा डाँडामाथिको कंक्रिट टावरमा चढेर कसको मजाक उडाउन खोजिरहेका हौं ? यो आम सर्वसाधारणको प्रतिनिधि प्रश्न हो ।

दिनभर काम गरेर पेटभर खान नपाएकाहरूको पेट भर्नु पहिलो प्राथमिकता हो कि टावर निर्माण गर्नु ? सिटामोल नपाएर छट्पटाइरहेकाहरूको समस्या ठूलो कि आफ्ना कार्यकर्ता पोस्ने टावर निर्माण कार्य ठूलो ? दूरदराजमा औषधि छैन, औषधि भएको ठाउँमा अक्सिजन छैन, हस्पिटलको छानो छैन, छानो भएको ठाउँमा डाक्टर छैन, विद्यालयको अवस्था उस्तै कन्तबिजोग छ, रोजगारी छैन, पालिका र वडा कार्यालय जाने सडकको हविगत लाजमर्दो छ । यस्तो परिवेशलाई आँखा चिम्लेर अग्ला डाँडामा भ्यूटावर उभ्याउनु हाम्रो अदूरदर्शिता हो । अपरिपक्वता हो ।

भ्यूटावर बन्नै हुँदैन भन्ने पनि होइन, बन्नुपर्छ । त्यो भूगोल, त्यहाँको बस्ती, पर्यटकीय सम्भावना, लगानी र त्यसले दिने प्रतिफल, त्यहाँको ऐतिहासिक पक्ष र व्यावसायिकता लगायत सामाजिक, भौगोलिक पक्षहरूको गहन अध्ययन हुनु जरूरी छ । यदि त्यसतर्फ बेलैमा सचेत नहुने हो भने जसरी भ्यूटावरप्रति जनता रुष्ट छन् त्यसैगरी राजनीतिक दल र तिनका नेताप्रति जनता अझ रुष्ट हुनेछन् । अहिले देखिएको टावरप्रतिको रोष टावरप्रति मात्र होइन । पहाडका टाकुरामा लगेर राज्यको रकम दुरुपयोग गर्ने विकासको मोडेलप्रति पनि हो ।

टावरको विषयमा कुरा गर्दा दुबईको बुर्ज खलिफा टावर, जापानको टोकियो टावर, फ्रान्सको आइफिल टावर चर्चित टावरहरू हुन् । पहाड र डाँडाकाँडा देख्नै नपाइने देशहरूमा टावरहरूको विशेष महत्व पनि छ । उनीहरूका लागि अग्लो ठाउँमा उभिएर हेर्नु पनि छुट्टै आनन्दको विषय बन्न सक्छ । तर हामी आफैं टावरमाथि बसिरहेका छौं । हजारौं मिटर अग्ला पहाडमा उभिएका हामीले केही मिटर उचाइबाट थप के हेर्न खोजिरहेका छौं त ? भन्ने प्रश्न आज अनुत्तरित बन्दै गइरहेको छ ।

अब कंक्रिट टावर निर्माणको विकास मोडेलप्रति आम राजनीतिक दल, नेता र कार्यकर्ता सबै सजग हुनैपर्छ । जति भए, तिनको पनि समीक्षा जरुर हुनुपर्छ । सही ठाउँमा राज्यको लगानी भयो वा भएन ? राज्यले त्यसको पनि समयोचित समीक्षा गर्ने नै छ । तथापि अब भूगोलको अध्ययन नगरी, लागत अनुसारको प्रतिफलको लेखाजोखा नगरी कार्यकर्ता पोस्ने नाममा वा अग्ला पहाडमा पुनः कंक्रिटको थुप्रो ठडिनु हुँदैन ।

राजनैतिक उद्देश्य प्राप्त भएपछि नेताहरूको पहिलो प्राथमिकता जनताको आर्थिक जीवनस्तर उकास्नु हो । यसतर्फ ध्यान नदिई आफ्ना कार्यकर्ता मात्र पोस्ने ध्येय राखेर हरेक विकासका मोडेलहरू कोरिनु दुर्भाग्यपूर्ण हुनेछ । गरिबीको जर्जरताबाट हायलकायल यो मुलुकलाई समृद्धिको राग अलापेर शून्य प्रतिफलमुखी विकासे मोडेलहरूबाट टाढा राखौं । सुन्दर र हजारौं मिटर अग्ला हरिया डाँडामा केही मिटर कंक्रिट थुपारेर विकासको कुरुप मोडेल प्रस्तुत नगरौं !

लेखकको बारेमा
राजु पौडेल

पौडेल पर्वतमा क्रियाशील सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?