५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।
छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले अनलाइनखबरलाई जानकारी दिए ।
‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर मात्रै पनि हुँदैन । अन्य पक्षसँग पनि गर्नुपर्ने आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाको६ीले भने ।
साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । यद्यपि मन्त्रिपरिषद्को आकार र व्यक्तिबारे भने टुंगो नलागेको उनी बताउँछन् ।
छलफलमा सहभागी रहेका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार, १२ गते सांसदहरूले शपथ लिनासाथ अन्य विषय पनि अघि बढ्छन् ।
‘१२ गते सांसदहरूको शपथ छ । हामीले नयाँ सरकार गठन गर्नका लागि आवश्यक छलफल अघि बढाएका छौं,’ वाग्लेले अनलाइनखबरसँग भने ।
संघीय संसद् सचिवालयले १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिसकेको छ । सांसदहरूको शपथ लगत्तै भोलिपल्टै प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाइएको हो ।
रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार, बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्नेगरी रास्वपा अघि बढेको हो ।
रास्वपाले गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो भनेको झण्डै दुई तिहाइ मत हो ।
यही मतका आधारमा रास्वपाले एकल सरकार गठन गर्न लागेको हो ।
संघीय संसद् सचिवालयले १६ गते संघीय संसद्को अधिवेशन बोलाउनेगरी तयारी अघि बढाएको छ । यसबारे आजै दिउँसो बसेको सर्वदलीय बैठकमा पनि संसद् सचिवालयका अधिकारीहरूले ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया 4