
१७ चैत, विराटनगर । सुशीला मुर्मु मोरङको रंगेली नगरपालिका-२ की वडा सदस्य हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा महिला सदस्य निर्वाचित उनलाई सुरुमा बोल्नै डर लाग्थ्यो । नयाँ अभ्यास भएका कारण स्थानीय तहका बारेमा बुझेकी पनि थिइनन् । मुर्मुलाई सिक्न र बुझ्न पाँच वर्ष लाग्यो । ‘सुरुमा जानिएन, यो पाँच वर्षमा सिकियोे,’ उनी भन्छिन्, ‘फेरि अवसर पाए वडाको विकास गर्नेछु ।’
२०७४ सालको चुनावअघि स्थानीय तहमा नयाँ संरचना बनेको थियो । यो नयाँ अभ्यास थियो । त्यसैले वडाको बारेमा र आफ्नो काम र जिम्मेवारीका बारेमा बुझ्नलाई लामो समय लागेको बताउँदै उनले भनिन् ‘नयाँ मान्छे आउँदा सिक्दा सिक्दै समय धेरै जान्छ ।’ उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।
बेलबारी नगरपालिका-५ की दलित महिला सदस्य रामकुमारी नेपालीले पनि पाँच वर्षमा अनुभव बटुलिन् । वडामा काम गर्न सिकेका कारण अब बढुवा हुने उनको योजना छ ।
‘हिजो हामी माइक समातेर बोल्न सक्दैनथ्यौं, विस्तारै नगर र वडा चलाउन सक्ने भएका छौं,’ कांग्रेसबाट वडा सदस्य बनेकी उनले भनिन्, ‘वडामा काम गरेको अनुभव छ, पार्टीमा उपमेयरको टिकट माग्दैछु ।’
ग्रामथान गाउँपालिका-२ की वडा सदस्य नानीमैया बिकलाई जनताको सेवा गर्ने रहर पुगेकै छैन । उनलाई फेरि चुनाव जितेर जनताको काम गर्ने मन छ । ‘दुई वर्ष कोरोनाले खायो, भर्खर काम गर्न जागरुक भएका छौं,’ उनले भनिन्, ‘तर पार्टीका नेता तपाईंको पालो सकियो भन्दैछन्, पाँच वर्षसम्म सिकें, अझै काम गर्न मन छ ।’
कटहरी गाउँपालिका-१ की वडा सदस्य महावती माझीको पनि उस्तै चाहना छ । पाँच वर्षमा अनुभव र सीप सिकेको बताउने उनी फेरि जनप्रतिनिधि बनेर काम गर्न चाहन्छिन् ।
लेटाङ नगरपालिका-३ की वडा सदस्य ईश्वरी बुढाथोकी अनुभव हासिल गरेका जनप्रतिनिधिलाई नै फेरि अवसर दिए काम गर्न सक्ने बताउँछिन् । ‘यो पाँच वर्षमा धेरै कुरा सिकेका छौं, अब पाँच वर्ष वडाको काम गर्ने रहर छ,’ उनले भनिन्, ‘हामी महिलाले फेरि अवसर पाउनुपर्छ ।’
२०७४ को स्थानीय तह चुनावमा ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा दलित महिलासहित १३ हजार ४ सय ८६ जना महिला चुनिएका थिए ।
निर्वाचनमार्फत वडाको नेतृत्वमा आएका महिलालाई दलहरुले फेरि अवसर दिनुपर्ने प्रतिनिधिसभा सांसद पार्वती बिसङ्खे बताउँछिन् ।
महिला सदस्यहरुको क्षमता विकासमा काम गरिरहेको बताउने उनी पाँच वर्ष काम गर्न सिकेका महिलालाई दलले पुनः अवसर दिए नेतृत्वमा स्थापित हुने बताउँछिन् ।
‘महिलाको नेतृत्व विकास गर्न हिजो वडामा सिक्ने अवसर पाएका महिलाहरुलाई पुनः अवसर दिए गाउँको विकासमा टेवा पुग्छ,’ उनले भनिन्, ‘नयाँ महिला सदस्य आउँदा सिक्न समय लाग्छ ।’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4